फिफा वर्ष-खेलाडीका लागि तीन खेलाडीको सिफारिस

फिफा वर्ष-खेलाडीका लागि तीन खेलाडीको सिफारिस



विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले ‘द बेस्ट फिफा पुरुष वर्ष खेलाडी’ अवार्डका लागि तीन खेलाडीको नाम सार्वजनिक गरेको छ । फिफाले सार्वजनिक गरेको तीन खेलाडीमा अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीसहित बायर्न म्युनिखका पोलिस खेलाडी रोबर्ट लेवान्डोस्की र लिभरपुलका मोहम्मद सलाह रहेका छन् ।

त्यस्तै, महिलातर्फ साम केर, जेनिफर हेर्मोसो र एलेक्सिया पुटेलास परेका छन् । वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डिओला, रोबर्टो मान्सिनी र थोमस टुचेल रहेका छन् । महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, एम्मा हाएस र सरिना विग्मान रहेका छन् । वर्ष गोलरक्षक अवार्डका लागि जर्मन क्लब बायर्न म्युनिखका म्यानुएल नुएर, चेल्सीका इडुवार्ड मेन्डी र पिएसजीका जियानलुगी डोनररुम्मा परेका छन् भने वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि एरिक लामेला, प्याट्रिक सिक र मेहदी तारेमी शीर्ष तीनमा छन् ।

मेसीले यसबाहेक ६ पटक यो पुरस्कार जितिसकेका छन् भने लेवान्डोस्की फिफा २०२० को पुरुषतर्फको उत्कृष्ट खेलाडी बनेका थिए । यसपटकका विजेताको घोषणा जनवरी १७ मा गरिने फिफाले जनाएको छ । मेसीले यसपटक अर्जेन्टिनालाई कोपा अमेरिका कप दिलाएका थिए । उनले एक महिनाअघि मात्र बलोन डी ओर ट्रफी जितेका थिए । लिभरपुलका सलाह सन् २०१८ यता दुई पटक यो सूचिमा परिसकेका छन् ।

लेवान्डोस्कीले सन् २०२०–२१ मा म्युनिखका लागि ४१ गोल गरेका थिए । त्यस्तै उनले २०२१ मा मात्रै ४३ गोल गर्दै दुई बुन्डेसलिगा रेकर्ड आफ्नो नाममा पारेका थिए ।