एकसाथ सात गीत ल्याउने तयारीमा खनाल

एकसाथ सात गीत ल्याउने तयारीमा खनाल


यस्तो छ रामप्रसाद खनालको नयाँ गीतको तयारी

वरिष्ठ लोकगायक रामप्रसाद खनाल एकसाथ सात गीत गीत-सङ्गीतप्रेमीमाझ ल्याउने तयारीमा छन् । पछिल्लो समय अमेरिका रहँदै आएका खनाल पारिवारिक कामले केही समयअगाडि नेपाल आएका थिए । हरेक पटक नेपाल आउँदा नयाँ गीत-सङ्गीत र पुस्तक सार्वजनिक गर्ने खनालले एक पुस्तक ‘माटोको दुःखाइ’ नामक कविता सङ्ग्रह समेत सार्वजनिक गरेका छन् ।

खनालले सार्वजनिक गर्ने तयारी गरेका सात गीतमा लोकगीत, लोक-दोहोरी, भजन, आधुनिक, लोक-आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक-फरक विधाका छन् । ती सबै गीतको रेकर्डिङ कार्य सकिएको छ । जसमध्ये चार गीतको म्युजिक भिडियो छायाङ्कन समेत भएको र तीन गीतको भिडियो निर्माण बाँकी रहेको खनालले जानकारी दिए । कोरोना महामारीको तेस्रो लहरका कारण बाँकी गीतको म्युजिक भिडियो छायाङ्कन सम्भव हुन नसकेको खनालको भनाइ छ ।

‘सबै गीतको भिडियो छिट्टै सक्ने योजना थियो, तर बढ्दो कोरोना सङ्क्रमणले अलमल्ल पाऱ्यो’ भन्दै बाँकी तीन गीतको भिडियो अहिले गर्ने कि पछि गर्ने भन्ने निर्णय गर्न नसकेको पनि उनले सुनाए ।

खनालले ल्याउन लागेका ७ गीतमध्ये पहिलो ‘हे कृष्ण हे राम’ बोलको भजन रहेको छ । शब्द, संगीत र स्वर उनकै रहेको गीतमा कोरस गायनसमेत समेटिएको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोसमेत निर्माण भएको छ । भिडियोमा गायक खनाल, शिवहरि पौडेललगायतको अभिनय समेटिएको छ । प्रकाश भट्टसँगको सहकार्यमा उनी आफैंले निर्देशन गरेको भजन अहिले सार्वजनिक गरिएको छ । भजनले समाजमा धार्मिक आस्था बाँड्ने, भौतिक र अनुशासित हुन सहयोग पुग्ने खनालले बताए ।

खनालका अन्य गीतहरुमध्ये दोस्रो ‘तिम्री आमा मेरी आमा’ बोलको छ । लोक आधुनिक शैलीको यो गीतले श्रीमान्-श्रीमतीलाई घर र माइतमा समान व्यवहार गर्न प्रेरित गर्ने उनको विश्वास छ । खनालको शब्द तथा स्वर रहेको गीतमा संगीत सुरेश अधिकारीले दिएका छन् ।

तेस्रो गीत गायिका सुनिता बुढाक्षेत्रीसँगको सहकार्यमा ‘एउटा ढुकुर उडी गयो’ बोलको दोहोरीगीत छ । भिडियोसमेत बनेको उक्त गीतमा थानेश्वर गौतमले संगीत र कमल सरगमले संगीत संयोजन गरेका छन् । यस्तै खनालले चौथो गीतको रूपमा ‘बग्ने पानीले, मेरो दिल चोरिन् च्यान्टी नानीले’ बोलको लोकगीत बनाएका छन् । उनकै शब्द, संगीत र स्वर रहेको यो गीतको पनि भिडियो छायाङ्कन भएको छ । यो गीतको भिडियोमा अभिनेत्री रजनी केसीको साथमा खनाल आफैंले पनि अभिनय गरेका छन् । यस गीत सुनेर सबैलाई नाचौँ-नाचौँ लाग्ने दाबी उनले गरे ।

भिडियो गर्न बाँकी रहेका तीन गीत ‘यस्तै छ यहाँको चलन’ शीर्षकको गजल, ‘बाँकी छ हेर’ शीर्षकको ख्याली गीत र ‘फूल फुलेझैँ’ बोलको दोहोरी गीत छ । जसमध्ये ‘यस्तै छ यहाँको चलन’ थानेश्वर गौतमको संगीत, विनोद बाजुरालीको संगीत संयोजन रहेको गजल हो । यसमा पनि शब्द तथा स्वर उनकै छ । ‘फूल फुलेझैँ’ दोहोरी गीत भने उनले ल्याउन लागेको अन्तिम गीत हो ।

यो लोकदोहोरी गीत अलि पृथक रहेको उनको भनाइ रहेको छ । उनकै शब्द रहेको यो गीत गायनमा उनलाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । कमल सरगमको संगीत रहेको गीतले गाउँघरको पानी पँधेरोदेखि विकसित ठाउँको भोगाइ समेत व्यक्त गरेको छ । म्युजिक भिडियो छायाङ्कन भएका गीतहरू भने २ देखि ४ हप्ताको अन्तरमा सबै सार्वजनिक गर्ने खनालले जानकारी दिए ।

एक समय नेपाल टेलिभिजनमा ‘लोकदोहोरी’ कार्यक्रम सञ्चालन गरेर लोकदोहोरीलाई स्थापित गराउने काम गरेका खनाल गुल्मी धरम्पानी मैनडाँडामा जन्मिएका हुन् । पछिल्लो समय वासिङ्टन डिसी अमेरिका बस्दै आएका उनले हालसम्म १२ सयभन्दा बढी गीतमा स्वर दिएका छन् ।

लोकगीत, दोहोरी गीत, तीजगीत र भजन गरेर ५२ एल्बम बजारमा ल्याएका उनको ‘माटोको दुःखाइ’ कविता सङ्ग्रह पुस्तकमा अठारौँ कृति हो । १५ सयभन्दा बढी कविता, मुक्तक, गजल लेखन गरेका खनाल विगत ३० वर्षदेखि गीत-संगीत, लोक संस्कृति र साहित्य क्षेत्रमा क्रियाशील छन् ।

रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा काम गरेका उनी थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित छन् । उनी अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको संस्थापक तथा अध्यक्ष पनि हुन् ।