महामारीको सन्त्रासमा पऱ्यो नेपालको खेलकुद

महामारीको सन्त्रासमा पऱ्यो नेपालको खेलकुद



कोभिड-१९ को महामारी पुनः चर्किएर जाने सम्भावना प्रवल देखिएको छ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले महामारीको तेस्रो लहर आरम्भ गराइसकेको छ भने सङ्क्रमण जोखिमका कारण मुलुकका अरु विधाजस्तै खेलकुद क्षेत्रको विकास र विस्तार पनि प्रभावित हुने सङ्केत देखिएको छ । खेलकुद क्षेत्रको विकासका लागि खेलाडी उत्पादन, तालिम वा अभ्यास, पूर्वाधार निर्माण र प्रतियोगिता अनिवार्य शर्त रहेकामा कोरोना सङ्कङ्क्रमणका कारण ती सबै क्रियाकलाप सुस्त र प्रभावित हुन पुगेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रमा धेरै कार्यक्रम रहे पनि कोरोना सङ्क्रमणका कारण कतिपय सुरुआत गर्न, केहीलाई अघि बढाउन र सम्पन्न गर्न चुनौती खडा भइरहेको खुलासा गरेको छ । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले भनेका छन्- ‘खेल क्षेत्रको विकासका लागि पूर्वाधार महत्वपूर्ण विषय हो । कोरोनाबाट उत्पन्न परिस्थितिले आयोजना अधुरै रहने, छुट्याएका बजेट फ्रिज हुने, समयमा सम्पन्न हुन नसक्दा लागत बढ्ने अवस्था छ । यस यथार्थलाई इन्कार गर्न सकिँदैन ।’

सम्बन्धित सबैलाई जानकारी भएकै हुरा हो कि पूर्वाधार निर्माण नै समयमा पूरा भएन भने खेल क्षेत्रको विकासमा अवरोध खडा हुन्छ । खेलाडी उत्पादनसँगै अभ्यास गर्ने स्थल आवश्यक पर्छ । पूर्वाधार भएन भने खेलाडीको क्षमता अभिवृद्धि हुँदैन । मुलुकको खेल क्षेत्रको विकासका लागि रु. एक अर्ब ५२ करोड पूर्वाधार कार्यक्रमका लागि बजेट विनियोजन हुँदै आएको छ । अघिल्लो वर्षदेखि सरकारले ‘एक पालिका, एक खेलमैदान’ अवधारणा अघि सार्दै कार्यान्वयन अघि बढाएको छ । उक्त कार्यक्रम मुलुकमा १४४ पालिकामा विस्तार भइसकेको छ । यस वर्षभित्र उक्त कार्यक्रम कम्तीमा १६८ स्थानीय तहमा पुऱ्याउने मन्त्रालयले अठोट गरेको छ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८/७९ मा रु २५ करोड बजेट विनियोजन गरिएको छ ।

स्थानीय, प्रदेश तथा राष्ट्रियस्तरमा सुविधासम्पन्न खेलकुद पूर्वाधारको निर्माण तथा स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । समुदायदेखि नै खेलकुदको विकास र विस्तार गरी शारीरिक र मानसिकरूपमा स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गर्दै अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको सम्मान अभिवृद्धि गर्न खेलकुद पूर्वाधार विकास, खेलकुद प्रतियोगिता र प्रशिक्षण सञ्चालन तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने विषय बजेटमार्फत घोषणा नगरिएको पनि होइन । तर, यी यावत योजना वा कार्यक्रमलाई महामारीको चपेटले धराशयी पार्ने खतरा बढाएको छ ।

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालले करिब २५ देखि ३० खेल विधामा पदक प्राप्त गर्ने सम्भावना राख्दै आएको बताइन्छ । मुलुकमा खेलकुद क्षेत्रका विकास र विस्तारमा करिब २०० को सङ्ख्यामा विषयगत खेल सङ्घहरू क्रियाशील छन् । त्यस्ता सङ्घले बेलाबखतमा देशभित्र खेलकुद प्रतियोगिता आयोजना गरी खेलाडीको क्षमता अभिवृद्धिका लागि वातावरण तयार गरी प्रोत्साहनसमेत गर्दै आएका छन् । तर, देशमा कोभिड-१९ संक्रमण जोखिमले आगामी केही समय देशभित्रै पनि प्रतियोगिता कम हुन सक्ने देखिएको छ । यसरी प्रतियोगिताको कमी हुनासाथ खेलाडीमा प्रतिस्पर्धा गर्ने क्षमतामा स्खलन आउन सक्छ ।

यतिबेला नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजनाका लागि तयारी भइरहेको अवस्था छ । सम्बन्धित खेल–प्रशासनमा यसै त अन्योलता देखिएको परिवेशमा कोरोना त्रासका बीच अहिले मिति घोषणा गर्न सक्ने स्थिति झन् कमजोर हुन पुगेको छ । उक्त प्रतियोगिता गर्न सकिएन भने अर्काे वर्ष सेप्टेम्बरमा एशियन खेलकुद प्रतियोगितमा नेपालको प्रस्तुति आशा गरेअनुरुप नहुने कुरा जतिसुकै तिक्त लागे पनि स्वीकार गर्नैपर्ने हुन्छ । उक्त प्रतियोगिताअघि नै राष्ट्रिय, प्रदेश र जिल्लास्तरमा खेलकुद आयोजना गरिसक्नुपर्नेछ तर कोरोनाको अहिलेको अवस्थाले प्रतियोगिताका लागि अप्ठ्यारो पार्ने सङ्केत देखाएको छ ।

कोभिड-१९ कै कारण खेलाडी उत्पादनको प्रारम्भिक थलो विद्यालयहरू बन्दको अवस्थामा छन् । शैक्षिक संस्थासँग समन्वय गरेर खेलाडी पहिचान, प्रोत्साहन र उत्पादन गर्नुपर्नेमा कोरोनाले त्यस कार्यमा ठूलो धक्का दिएको छ । राष्ट्रिय एकता प्रवद्र्धन गर्ने बलियो माध्यमका रूपमा रहेको खेलकुदले युवालाई अनुशासित, जिम्मेवार, समयको पालना र समूहमा रही परिणाम दिन ज्ञान दिन्छ । यसमा अवरोध पुग्ने माहोल हुर्किरहेको छ, जो घोर विडम्बनाको विषय हो ।

खेलाडी उत्पादन, अभ्यास, प्रतिस्पर्धाको क्षेत्र विकास नभएसम्म खेलकुद क्षेत्रको विकास हुन सक्दैन भन्ने तथ्य खेलकुद मन्त्रालयले राम्रैसँग बुझेको छ । सरोकारवाला अधिकारीहरूका अभिव्यक्तिले यस्तै महसूस गराउँछ । तर खेलाडी उत्पादनसँगै अभ्यासस्थल र प्रतियोगिता आवश्यक पर्छ, अबको दायित्व भनेको प्रतिस्पर्धा बढाउने नै हो र, सरकारले राष्ट्रिय क्षमताअनुसार पूर्वाधार निर्माणलाई अघि बढाइरहेको छ । तर, कोरोना महामारीले यी सब क्रियाकलापमा पानी फेरिदिने त्रास जगाएको छ ।

  • दिनेश महर्जन