पीएम कपको उपाधिका लागि आज एपीएफ र नेपाल पुलिस क्लब भिड्दै

पीएम कपको उपाधिका लागि आज एपीएफ र नेपाल पुलिस क्लब भिड्दै


पहिलो पटक टी-२० फर्म्याटमा आयोजना भएको प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज बुधबार हुँदैछ ।

उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब कीर्तिपुरस्थित टियु मैदानमा बिहान १० बजे भिड्नेछन् । टस साढे ९ बजे हुनेछ ।

राष्ट्रिय तथा युवा खेलाडीले मिश्रित दुवै टोली बलिया छन् । दुबै टोलीको ब्याटिङ लाईन र बलिङसमेत बलियो छ । सेमिफाइनलकै तुलनामा हेर्ने हो भने आज ठूलो स्कोर बन्न सक्छ ।

सेमिफाइनलमा पुलिसले बागमती प्रदेश र एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी आर्मीलाई पराजित गरेको थियो ।

१० टोली सहभागी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिता एकदिवसीय फर्म्याटमा आयोजना गर्दै आएको थियो ।

तर, आगामी महिना ओमानमा हुने टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपालले सहभागीता जनाउने भएपछि त्यसैको तयारी स्वरुप यस प्रतियोगिता टी-२० फर्म्याटमा आयोजना भएको हो ।