देव गुरुङ अघिसर्दा बढ्यो छटपटी : प्रचण्डको इच्छालाई चुनौती !

देव गुरुङ अघिसर्दा बढ्यो छटपटी : प्रचण्डको इच्छालाई चुनौती !


प्रचण्ड महासचिवका निम्ति वर्षमान पुनको विकल्प देख्दैनन्, त्यसैले उनको चल्यो भने वर्षमान नै महासचिव चयन हुनेछन् । तर जनार्दन शर्माले तर्साए भने प्रचण्ड तर्सिने स्थिति छ, जनार्दनले राम्रैसँग तर्साएको स्थितिमा मात्र उक्त जिम्मेवारी उनले पाउने सम्भावना छ ।

चौँतीस वर्षपछि नेतृत्व परिवर्तनको अवसर आउँदा पनि माओवादीका नेता-कार्यकर्ताहरूले समयको सदुपयोग गर्न नसकेपछि प्रचण्डको एकल नेतृत्वले विधिवत निरन्तरता पाएको छ । आफूभन्दा पछाडि जो चुनौतीका रूपमा देखापर्छन् तिनैका विरुद्ध अर्का कुनै पात्र खडा गरेर लडाउने र आफू सर्वेसर्वा बनिरहने प्रचण्ड हिंसाकालमा वैद्य देखाएर बाबुराम तर्साउने र बाबुराम देखाएर वैद्यलाई तर्साउने गर्दथे । खुला राजनीतिमा आएको केही वर्ष यस्तै राजनीति चलेको भए पनि नेत्रविक्रम चन्द विप्लवलाई समेत लिएर मोहन वैद्य किरण बाहिरिएपछि माओवादीभित्रको सन्तुलन बदलियो, प्रचण्ड र बाबुराम आमुन्ने-सामुन्ने भए । बाबुरामले अध्यक्ष पदमा आँखा लगाएपछि प्रचण्डले सिधै भनिदिए- ‘तपाईं छुट्टै पार्टी गठन गरेर अध्यक्ष बन्नुहोस्, एक पटक त्यस्तो प्रयोग गरेर हेरौँ न !’

कुनै हातलमा पनि प्रचण्डले अध्यक्ष पद नछोड्ने स्पष्ट भएपछि वैद्य अलग्गिएको तीन वर्ष पुग्दानपुग्दै बाबुराम पनि माओवादी पार्टीबाट बाहिरिए । आफू सर्वसम्मत अध्यक्ष बन्ने शत प्रतिशत निश्चित भएपछि प्रचण्डले हालै महाधिवेशन सम्पन्न गर्ने औपचारिकता त पूरा गरे, तर पछिल्लो पुस्ताका नेताहरूबीच परस्पर द्वन्द्व गरिहरिएर चरम तनावको स्थिति पैदा गराएर मात्र पदाधिकारी चयन गर्ने योजनामा प्रचण्ड रहेको बुझिन्छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवलगायतका पदहरूको पूर्ति केन्द्रीय समितिको बैठकबाट हुनेछ । र, अनेकौँ बहानामा केन्द्रीय समितिको बैठक तय हुँदै सर्दै आएको छ । गत साता सम्पन्न बैठकबाट पदाधिकारी चयन हुने अपेक्षा माओवादीका नेता तथा कर्याकर्ताहरूले गरेका थिए । अबको बैठकमा पदाधिकारी चयन हुने विश्वास त गरिएको छ, तर केन्द्रीय समितिको बैठक कहिले हुने हो सो भने अनिश्चत छ । बैठकमा प्रस्तावित नाममा सर्वसम्मति हुन सकेन भने मतदान प्रक्रियाबाट पदाधिकारी चयन हुने वैधानिक व्यवस्था रहेको छ ।

प्रचण्डपछिको वरियतामा नारायणकाजी श्रेष्ठ पर्नुहुने निश्चित मानिएको छ । हिंसाको पृष्ठभूमिबाट आएका माओवादीहरूले श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बन्नबाट रोक लगाउने प्रयास गरिरहेका भए पनि उक्त प्रयास सफल हुन सक्ने अवस्था नरहेको बताइन्छ । कृष्णबहादुर महराले महासचिव बन्ने इच्छा राखेको भए पनि महराले उपाध्यक्षमा चित्त बुझाउनुपर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर माओवादीभित्र सर्वाधिक आक्रामक नेताका रूपमा चिनिन्छन् । उनी प्रचण्डलाई तत्काल विस्थापित गरेर आफैं अध्यक्ष बन्ने मानसिकतामा थिए र, प्रचण्डलाई पनि यस कुराको जानकारी थियो । महासचिवमा जनार्दनले चिलदाबी (समातेपछि नछोड्ने) गर्दै आएका छन् । उता जनार्दनका मूख्य प्रतिष्पर्धीका रूपमा गणना हुने वर्षमानले अस्पतालको शै्यामा रहँदादेखि नै आफू महासचिव बन्नुपर्ने सन्देश प्रचण्डलाई दिँदै आएका थिए । जनार्दन अर्थजस्तो महत्वपूर्ण मन्त्रालयको मन्त्री भएकोले पनि पार्टीको महामन्त्री पद आफैंलाई मिल्नुपर्ने तर्क वर्षमानको छ । त्यसैगरी देव गुरुङले पनि महामन्त्रीमा दाबी गर्दै आएका छन् ।

प्रचण्डको समकक्षी ठान्ने देवप्रसाद गुरुङलाई माओवादी पार्टीभित्र जातिवादी र सङ्कीर्ण नेताका रूपमा लिइन्छ । एकोहोरो स्वभावका गुरुङले समेत महासचिवमा दाबी गरेपछि प्रचण्डलाई जनार्दन पन्छाउन सजिलो हुने ठानिएको छ । गुरुङका पक्षमा प्रचण्ड छैनन्, पञ्चायतकालदेखि नै गुरुङ र प्रचण्डबीच मनभिन्नताको स्थिति थियो । २०४४ सालमा तत्कालिक महामन्त्री मोहन वैद्यले ‘सेक्टर काण्ड’लाई लिएर पदत्याग गर्ने र, नयाँ व्यक्तिलाई पद हस्तान्तरण गर्ने क्रममा देव गुरुङ सिपी गजुरेललाई महामन्त्री बनाउनुपर्छ भन्ने पक्षमा उभिएका थिए । तर वैद्यले प्रचण्डमा आफ्नो पद हस्तान्तरण गरेका थिए । त्यसबेलादेखि नै देव गुरुङप्रति प्रचण्ड सकारात्मक हुन सकेका छैनन् ।

गुरुङलाई बनाउनुपर्ने बाध्यात्मक अवस्था आयो भने बरु पम्फा भुसालमा उक्त जिम्मेवारी सार्न प्रचण्ड तयार हुने ठानिन्छ । प्रचण्ड महासचिवका निम्ति वर्षमान पुनको विकल्प देख्दैनन्, त्यसैले उनको चल्यो भने वर्षमान नै महासचिव चयन हुनेछन् । तर जनार्दन शर्माले तर्साए भने प्रचण्ड तर्सिने स्थिति छ, जनार्दनले राम्रैसँग तर्साएको स्थितिमा मात्र उक्त जिम्मेवारी उनले पाउने सम्भावना छ । पार्टीका सिनिएर तथा प्रचण्डलाई चुनौती दिने हैसियतका नेताहरू मोहन वैद्य, सिपी गजुरेल, नेत्रविक्रम चन्द, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा र बाबुराम भट्टराई बाहिरिएपछि पनि प्रचण्डले सम्पूर्ण रूपले निरङ्कुश बन्ने इच्छा पूरा गर्न पाएका छैनन् । नारायणकाजी श्रेष्ठ त आफैंमा एक चुनौती छँदै थिए, जनार्दनसमेत ‘जबर्जस्त चुनौती’ बनेर प्रकट हुन थालेपछि प्रचण्डमा अर्को छटपटी पैदा भएको छ ।