कृपासिंहका छोराहरू बने रातारात अर्बपति !

कृपासिंहका छोराहरू बने रातारात अर्बपति !


रामेछापका स्थायी बासिन्दा कृपासिङ घिसिङका चार छोराहरू रातारात अर्बपति बनेका छन् । कृपासिङका पाँचमध्ये एक छोराको विशेष योजनामा चार छोराहरू यसरी अर्बपति बनेका हुन् ।

कृपासिङका एक छोरा कुलमान घिसिङ २०७३ साल भाद्र २७ गते नेपाल विद्युत प्राधिकरणको महानिर्देशकमा नियुक्त भएपछि उनले २०७४ साल श्रावण २५ गते काभ्रे जिल्लाको बनेपालाई मुख्यालय बनाएर तेण्डेल हार्डवेयर प्रा.लि. नामक कम्पनी खोलेका थिए र, कम्पनीमा कुलमानले आफू बाहेक आफ्ना चार जना दाजुभाइहरूको मात्र नाम राखेका छन् ।

रामेछापको सुनापती गापा वडा नम्बर ४ स्थित कृपासिङका छोरा गणेश घिसिङलाई अध्यक्ष बनाएर खोलिएको उक्त कम्पनीमा अनिल घिसिङ, सानुकान्छा घिसिङ (लामा) र सुरेश घिसिङ शेयर होल्डरका रूपमा रहेका छन् । चारैजनाले ७५ लाखका दरले कुल तीन करोड रूपैयाँबराबरको चुक्ता पूँजी राखेर कम्पनी खोलिएको कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको शेयर लगतबाट स्पष्ट हुन्छ । काठमाडौंमा कम्पनी खोल्दा धेरैको आँखा पर्ने भएकोले बनेपालाई मुकाम बनाएर खोलिएको सो तेण्डेल हार्डवेयर कम्पनीले अहिले काठमाडौं बौद्धको रामहिटी र काभ्रेपलान्चोक जिल्लाको पाँचखालमा पनि आफ्नो शाखा बिस्तार गरेको छ ।

१७ वटा बैंकमा खाता खोलेर आफ्नो कारोबार गर्दै आएको तेण्डेल हार्डवेयर कम्पनीलाई रातारात ‘माथि’ उठाउन प्राधिकरणका एमडी कुलमान घिसिङले मुख्य भूमिका निर्वाह गरेका छन् । निज घिसिङले विद्युत प्राधिकरणसम्बद्ध ठेकेदारहरूलाई सो तेण्डेल हार्डवेयर कम्पनीबाट मात्र आवश्यक सामाग्री खरिद गर्न बाध्य पारेका छन् । तेण्डेल हार्डवेयरबाट सामान खरिद नगरेको पाइएमा त्यस्ता ठेकेदारहरूलाई अनावश्यक झन्झट र झमेला दिने गरिएपछि सबै ठेकेदारहरू तेण्डेल हार्डवेयरले तोकेको मूल्यमा सम्पूर्ण सामाग्री खरिद गर्न बाध्य हुँदै आएका छन् ।

यसरी खरिदमा कार्टेलिङ गरि एकलौटी व्यापार गर्ने तेण्डेल हार्डवेयर कम्पनीका गणेश घिसिङको छोरा अरुण घिसिङको नाममा गत वर्ष चर्चित निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको ९ लाख साठी कित्ता शेयर खरिद गरिएको छ । २०७९ साल श्रावण २६ गते उक्त शेयर खरिद हुँदा लामा कन्स्ट्रक्सनको मूल्य चार अर्ब सतचालीस करोड निर्धारण गरिएको थियो । १२.५ प्रतिशत शेयर खरिद गर्दा कागजमा ९ करोड मात्र देखाइएको छ, जबकि निर्धारित मूल्यअनुसार नौ लाख साठी कित्ता शेयरको मूल्य करिब ५५ करोड रूपैयाँ हुन आउँछ । कर छल्ने नियतले यसरी कागजमा खरिद रकम नौ करोड मात्र देखाइएको छ । यस विषयमा सम्पत्ति सुद्धिकरण र राजस्व अनुसन्धानले छानवीन गर्नुपर्ने देखिएको छ ।

तेण्डेल हार्डवेयरले सत्रवटा बैंकमा खाता खोल्नुको कारण पनि रहस्यमयी मानिएको छ । तेण्डेलले नबिल बैंक, मुक्तिनाथ विकाश बैंक, प्रभु बैंक, प्राइम बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, एनआइसी एशिया बैंक, एनएमबी बैंक, कृषि विकाश बैंक, राष्ट्रिय बाणिज्य बैंक, एनसीसी बैंक, सिटिजन बैंक, ग्लोबल बैंक, सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक र नेपाल बैंकमा खाता खोलेर एकसाथ कारोबार गर्दै आएको छ । ठेकेदारहरूबाट असुल हुने कमिशन बापतको कारोबार पनि यिनै खाताहरूबाट हुने गरेको बुझिएको छ ।

  • दामोदर नेमकुल