चन्द्रमामा बिस्फोटको जोखिम बढ्यो
अमेरिकी विद्युतीय गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट हुने अवस्थामा रहेको विवरणहरु सार्वजनिक भएका छन् ।
स्पेसएक्सले पठाएको फाल्कन (बुस्टर) सन् २०१५ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । तर, आफ्नो मिसन पूरा गरेपछि पृथ्वीमा फर्किन पर्याप्त इन्धन नभएपछि सो क्षेप्यास्त्र अन्तरिक्षमै रहेको थियो ।
फाल्कन चन्द्रमामा ठोकिने पहिलो अनियन्त्रित क्षेप्यास्त्र हुने अन्तरिक्ष यात्री जोनाथान म्याकडोवेलले बताएका बीबीसीले उल्लेख गरेको छ । तर, यसको असर भने सानो हुने म्याकडोवेलको भनाइ छ ।
स्पेस वेदर स्याटलाइटलाई पठाउने आफ्नो मिसन पूरा गरेपछि क्षेप्यास्त्रलाई सात वर्षअघि उच्च अक्षमा छोडिएको थियो । मस्कको अन्तरिक्ष अनुसन्धान कार्यक्रम स्पेसएक्सअन्तर्गत सो रकेट आफ्नो मिसनमा थियो ।
अन्तरिक्षमा मानिहरुको सम्भावित बसोबासबारे मस्कको सो कम्पनीले अध्ययन गरिरहेको छ ।
सन् २०१५ देखि सो क्षेप्यास्त्रलाई पृथ्वी, चन्द्रमा र सूर्यको विभिन्न गुरुत्वाकर्षण शक्तिले तानेकोले उसको मार्गलाई झनै अनियन्त्रित बनाएको अमेरिकास्थित हार्वड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्राध्यापकसमेत रहेका म्याकडोवेलको भनाइ छ ।
प्रतिक्रिया