युक्रेनको चिन्ता छाडेर अमेरिकी सीमा रक्षा गर्न बाइडेनलाई ट्रम्पको सुझाव

युक्रेनको चिन्ता छाडेर अमेरिकी सीमा रक्षा गर्न बाइडेनलाई ट्रम्पको सुझाव



अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेनवरपरको अवस्थाको बारेमा चिन्ता गर्न छोड्नुपर्ने र यसको सट्टा आन्तरिक सीमा सुरक्षाको मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

‘वाशिङ्गटनमा सबैजना युक्रेनको सिमाना कसरी जोगाउने भनेर सोचिरहेका छन्, तर हाम्रो लागि अहिले संसारको सबैभन्दा महत्त्वपूर्ण सिमाना युक्रेनको सीमा होइन, यो अमेरिकाको सीमा हो र हामी यसको बारेमा केही गर्दैनौँ’ ट्रम्पले टेक्सासको कन्रोमा शनिबारको र्‍यालीमा आफ्ना समर्थकहरूसँग भनेका छन् ।

अमेरिकी राष्ट्रपतिको पहिलो कर्तव्य अमेरिकी सीमाको रक्षा गर्नु पर्ने भए पनि अहिलेको अमेरिकी प्रशासन अन्य देशको ‘आक्रमण’को कुरामा व्यस्त रहेको ट्रम्पको टिप्पणी छ ।

‘उनीहरूले यस देशको आक्रमण रोक्न आवश्यक छ’, ट्रम्पले जोड दिएका छन्- ‘जो बाइडेनले पूर्वी युरोपको सीमा रक्षा गर्न कुनै पनि सेना पठाउनुअघि, उनले टेक्सासमा हाम्रो सीमा रक्षा गर्न सेना पठाउनुपर्छ।’

ट्रम्पले बाइडेनले तेस्रो विश्वयुद्धको जोखिम सिर्जना गरिरहेको चेतावनी दिएका छन् । गत शुक्रबार, अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष मार्क मिलेले रुसले युक्रेनी सीमामा कुनै पनि क्षण आक्रमण गर्न पर्याप्त सेना जम्मा गरेको दाबी गरे र संकटको कूटनीतिक समाधानको लागि खोजी जारी राख्न आग्रह गरेका थिए ।

मस्कोले बारम्बार आफ्नो छिमेकीलाई आक्रमण गर्ने कुनै पनि मनसायलाई अस्वीकार गरेको छ । यसले कसैलाई धम्की दिएको छैन र यसको सिमाना नजिक नाटोको बढ्दो उपस्थिति र युक्रेनको सैन्यकरणमा चिन्ता व्यक्त गरेको जनाएको छ।

बुधबार रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानले युरोपको लागि रुसको सुरक्षा प्रस्तावमा वाशिंगटनको प्रतिक्रिया दिएका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार रुसले उक्त प्रतिक्रियाको समीक्षा गरिरहेको तर संयुक्त राज्यले नाटो विस्तार नगर्ने मुख्य प्रश्नलाई अनुत्तरित छोडेको टिप्पणीगरेका थिए ।