नाडाललाई कीर्तिमानी ग्रान्डस्लामको उपाधि

नाडाललाई कीर्तिमानी ग्रान्डस्लामको उपाधि


राफेल नाडालले अस्ट्रेलियन ओपनको फाइनलमा आइतबार ड्यानियल मेड्भेडेभलाई २–६ ६–७ (५–७) ६–४ ६–४ ७–५ को नतिजामा पराजित गर्दै कीर्तिमानी २१औं ग्रान्डस्लाम जितेका छन् ।

मेलबर्न पार्कमा आइतबार भएको फाइनलको सुरुआती दुई सेट गुमाएका नाडालले त्यसपछिका लगातार तीन सेट जित्दै पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बने ।

सन् २००३ बाट ग्रान्डस्लाममा डेब्यु गरेका नाडालले १३ पटक फ्रेन्च ओपन, दुई पटक विम्बलडन र चार पटक युएस ओपन जितेका थिए । यसपालीसहित दोस्रो पटक अस्ट्रेलियन ओपन च्याम्पियन बनेका नाडालले यसअघि २००९ मा वर्षको पहिलो ग्रान्डस्लाम जितेका थिए ।

यो उपाधिसँगै टेनिसमा सर्वाधिक ग्रान्डस्लाम जित्ने एक मात्र खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान रोजर फेडेरर, नोभाक जोकोभिच र नाडालको नाममा थियो । तीनै खेलाडीले २०/२० पटक ग्रान्डस्लाम उपाधि जितेका थिए ।