सनातन धर्म, सनातनी मुसलमान, सिरडी साइबाबा र कवीर पन्थ

सनातन धर्म, सनातनी मुसलमान, सिरडी साइबाबा र कवीर पन्थ


असहिष्णु विचार र सोचको सबैभन्दा दुःखद पराकाष्टा धर्म नै हुँदोरहेछ । मानिसले त्यो पिएपछि जीवनभर हैन अर्को पुस्तामा समेत बलियो बन्दै जाने रहेछ । त्यति मात्र नभइ असहिष्णु प्रवृत्तिको प्रभावले सनातनीहरूलाई पनि केही हदसम्म असहिष्णु बनाइदिँदोरहेछ ।
  • दामोदर पौडेल


सनातन धर्म के हो ? भन्नेमा विवाद छ र विवाद स्वभाविक पनि हो । विवाद नभए सनातन धर्म कसरी हुन्थो र ! विवाद भएकोले नै यो धर्म अस्पष्ट र करोडौँ देवी-देवतामध्ये कसलाई मान्ने भन्नेमा अलमल्ल परेकोले सनातन (ब्यवहारमा अचेल हिन्दु पनि भनिन्छ) छोडेर क्रिश्चियन, मुसलमान आदि धर्ममा लागेको भन्नेहरू पनि देखिएका छन् । अस्पष्ट र विवादित नभएको भए यो धर्मको मर्म नै कसरी जीवित रहन्थ्यो ? यसै धर्ममा छोरी भगवान् हुन् भन्ने र, महिला कहिल्यै स्वतन्त्र हुँदैनन् भन्नेहरू एकै ठाउँमा समेटिएका छन् । भगवान निराकार छन् र भगवान साकार छन् भन्नेहरू हामी हिन्दु हौँ भनेर एक छन् । गीतालाई मान्ने र गीता त पूर्ण परमात्माले दिनुभएको होइन भन्नेहरूले पनि आफूलाई हिन्दु नै भन्छन् ।

अरु धर्ममा एउटै किताब मान्नेहरू पनि मारामार गरिरहेका छन् । एउटाको धर्मस्थलमा अर्को नजाने मात्र होइन, बरु बम नै पड्काएर मारिएका छन् । विषेशतः कुरान, बाइबलका अनुयायीहरूले संस्थागत र विश्वब्यापी रूपमा नै एउटै किताब पढ्नेलाई पनि लक्ष्मणरेखाहरूले अलग गरेका छन् । तर हनुमानचालिसा र देवीभागवतको गोरु बेचेको साइनो पनि छैन जस्तो लागे पनि, काली माताका भक्तहरू र अघोरीहरूका धार्मिक मत कतै नमिले पनि यी हिन्दुहरू मिलेर हामी एउटै हौँ भनेर रहेका छन् । बुद्धलाई मान्नेहरूमा समेत मुर्तिपूजा गर्ने र नगर्नेहरू मिलेर नै बसेका छन् । के यस्तै जे मन लाग्यो त्यही गर्ने कुनै निश्चित पद्धति नभएको अवस्था नै हिन्दु हो त ?

यो हिन्दुहरू बीचको सहिष्णुता मात्र नभइ सनातनी स्वभाव पनि हो । सनातनी स्वभावले फरक विचार र पद्धतिका बीच क्रुरता राख्दैन भनेर मात्र पुग्छ र ? पुग्दैन भने यो धर्मको समग्र पक्षले हरेक उचित, समयअनुसारका ठिक विचारहरूलाई अरुबाट आत्मसात पनि गर्दछ । प्रष्ट नभएका कुराहरूमा वा शङ्कास्पद विषयमा छनौट गर्ने सोच राम्रो हो कि अज्ञानतामा नै यो प्रष्ट हो भनेर कुनै सम्भावित गलत बाटोमा लाग्नु राम्रो हो ? यो सवालको विज्ञानसम्मत उत्तर पनि होला, छ ।

सनातन नै उपयुक्त उत्तर हो र धेरै मान्यतामध्ये कुनै मान्यतालाई आत्मसात गर्न सक्ने र त्यो विचार विवेकसंगत बनाउन अझै फरक वा विकसित गर्ने सम्भावनाको चाहना उपयुक्त हो मात्र कि, अनुकरणीय पनि हो ? सनातन यस उपमहादीपको मात्र धर्म हुँदैहोइन । यो त विश्ब्यापी विचारहरूलाई सौहार्द्धताका साथमा घुलनशील बनाउने र जोड्ने कार्य हो । सनातन धर्म अनन्त कालदेखि चलेको र भएर आएको विकास/विचारलाई अहिले र भविष्यमा पनि निषेध नगर्ने वास्तविक धर्म हो । बरु कुनै सानो खोला हिउँदमा आफै सुकेजस्तै सुक्छ भन्ने स्थायी र स्वभाविक सोच र संस्कृति नै सनातनी विचार हो । सनातनी विचार विश्वभर नै फैलिएको थियो भन्ने विश्वका सबै महादेशहरूमा प्रकृतिपुजकहरू, देवी देवतालाई मान्नेहरू, सूर्यसमेतको पूजा गर्नेहरू, रेडइण्डियन भनिनेहरूले शिवको प्रतिमुर्ति जस्तो मान्ने गरेका उदाहरणहरूले देखाउँछन् । सनातनी विचार वा धर्मको ब्यापकतालाई प्रष्ट गर्छ । पहिला उनीहरू विविधतालाई सारभुत रुपमा आत्मसात गर्थे, त्यसैले उनीहरू मिलेर बसेका थिए । उनीहरूको यो स्वभावले अरुलाई निषेध गर्ने विचारलाई पनि विकसित हुने अवसर दियो । त्यस्तो विचार वा धर्मको अस्तित्वलाई फैलन पाउने बनायो । सनातनीहरूबाट स्थानीय असहिष्णुता देखिए पनि विश्वब्यापी संगठित निषेध गरिएन ।

यही कारणले उदारता कमजोरी जस्तो देखियो । विश्वभर रहेको सनातनी विचारमा आक्रमण हुँदै गयो । ती असहिष्णुहरूबीचको झगडामा पनि शरण स्थल सनातनी क्षेत्र नै बन्यो । अहिले पनि अफगानिस्ताका सरकारले नचाहेको विचार राख्ने मुसलमानहरू, म्यानमारका कट्टर मुसलमानहरूले भारतमा शरण पाएका छन् । यो शरण र क्रमशः बासस्थान समेतले गर्दा भारत आफै नै असहिष्णुहरूको कारण आक्रान्त बन्न पुगेको छ । यसै कारणले सौहार्द्धतालाई नै शत्रुता गर्ने विचारलाई मौलाउन र सौहार्द्धतालाई नै अन्त्य गर्ने वातावरण नै बन्न पुग्यो । त्यस्तो महसूस भएपछि सनातनीहरू पनि प्रतिरोधमा लागेको मान्न सकिएला । तर सनातनी सोच भारतको होइन, विश्वको नै हो केवल उदारतालाई कमजोरी मान्नेहरूको कारण यस्तो भएको हो । सिन्धुनदीको नजिक वा हिन्दकुश पर्वतमालामा बढी सुरक्षित विचारको रुपमा यसलाई हिन्दु धर्म मान्न थालियो । अहिले पुनः यो विचार विश्वमा फैलिएको त छ तर मुल स्थान भारत, नेपाल रहेजस्तो देखिएको छ ।

असहिष्णु विचार र सोचको सबैभन्दा दुःखद पराकाष्टा धर्म नै हुँदोरहेछ । मानिसले त्यो पिएपछि जीवनभर हैन अर्को पुस्तामा समेत बलियो बन्दै जाने रहेछ । त्यति मात्र नभइ असहिष्णु प्रवृत्तिको प्रभावले सनातनीहरूलाई पनि केही हदसम्म असहिष्णु बनाइदिँदोरहेछ । कहिले त लाग्छ कि नदीमा फोहोर बस्तु धोइने रहेछ, तर फोहोर बढी भएपछिचाहिँ नदीले पनि फोहोर नै दिन थाल्दोरहेछ । त्यसैले सनातनीहरूले पनि गैह्रसनातनी संस्कृतिलाई सनातनी बनाउनको लागि केही प्रयास गर्ने कि ? भारतमा सुवइ खान जस्ता विदुषीहरूले सनातनी मुसलमानको अवधारणलाई अघि बढाइरहेका छन् ।

साइबाबाले रामकृष्ण, बुद्धका साथै इसा मसीह, इस्लामपन्थीहरूलाई पनि आफ्नो पद्धतिमा समेटेका थिए । कवीरपन्थीहरूको पनि करिव त्यस्तै ब्यवहार देखिन्छ । त्यसैले त साइबाबालाई विषेशतः सिरडी साइलाई हिन्दु र मुसलमानहरूले समान रूपमै मानेको देखिन्छ । सनातन कुनै एक पन्थ हुँदै होइन बरु गैह्रसनातनी विचारलाई पनि सनातनीमा रुपान्तरण गरेर सनातनसापेक्ष पक्षहरूलाई आत्मसात गर्ने र सुरक्षा गर्ने धर्म हो भन्ने रूपमा सोचिन पनि थालिएको छ । सनातन कुनै एक विचारलाई संरक्षण र प्रवर्द्धन गर्ने विचार नै होइन । यसले सबैलाई सौहार्द्ध र कतिपय अवस्थामा घुलनशील बनाएर समाउने तथा मिलाउने पद्धति हो र दुनियाँलाई मानवको रूपमा राखिरहन प्रयास गर्ने स्थायी अवस्था र प्रणाली हो ।

मुसलमान धर्मबाट हिन्दु अर्थात् सनातनमा परिवर्तित हुनुभएका चार देवीहरू काली दासी, पुजा उपाध्याय, अमिना सरदार तथा डा. फउजाहरूले हिन्दु धर्मको लागि नै जीवन समर्पित मात्र गर्नु भएको छैन बरु उदाहरणीय पनि बन्नुभएको छ । नेपालमा पनि केही त्यस्ता सतविचार लिनेहरू हुनुहुन्छ, जस्तै अमृत आर्य, जोशी आदि । उहाँहरूमध्ये केहीले कवीरपन्थ, साइ विचार, सनातनी मुसलमान समेतलाई हिन्दु धर्म होइनन् भन्ने गर्नुभएको छ । उहाँहरूले पनि स्थानीय रुपमा त्यसो भन्ने अधिकार राख्नुहुन्छ । यसले गर्दा ती विचारहरू पनि अझै परिस्कृत हुन सहयोग हुन्छ । पुर्वाग्रहविनाको विमति र वाद–प्रतिवाद जहिले पनि विकसित र परिस्कृत निश्कर्ष हुन्छ ।

तैपनि सनातन धर्मलाई सबै पन्थहरूको साझा फुलबारी हो भन्ने भुल्नचाहिँ सनातनी नहुनु हुन जान्छ । सनातन कुनै विषेश नियम नभएर संसारका सबै धर्म र विचारहरूलाई स्वभाविक रूपमा र मानिसहरूले चाहेको आधारमा समेट्दै जाने सस्कृति र परम्परा पनि हो । यो सत्य खोजको लागि विभिन्न विकल्पहरूको माध्यमबाट अगाडि बढ्ने अघोषित र स्वभाविक मान्यता हो । सनातनी मुसलमानहरू भनेका पनि अन्य धर्म र सम्प्रदायहरूको दुस्मनी नभएको र सर्वमान्य मान्यताहरूलाई सम्मान गर्ने र आस्था राख्ने केवल फरक सत्यहरू वा ती फरकहरूमा कुनै मान्दा पनि स्वभाविक मान्नेहरू हुन् । महमद पैगम्बरले दिनुभएका वचनहरूलाई मान्नेहरू जसले संसारभरका राम्रा कुराहरू, विचारहरूलाई सम्मान गर्ने र आत्मसात गर्ने गर्छन् तर अरु विचारलाई अस्विकार नगरिएका सन्देशहरूलाई भने मान्नेहरू नै सनातनी मुसलमानहरू हुन् । उनीहरूले महमद पैगम्बर साहेबले प्रदान गरेका कालजयी र विवेकपूर्ण विचारहरूलाई मात्र आत्मसात गर्छन् । जस्तै जन्म संस्कार, पानीको सदुपयोग आदिलाई मान्ने र भगवान् निराकार छन् उनलाई मान्छौँ तर पृथ्वीमा आएका सत्आत्माधारीहरूलाई पनि भगवानसरह स्मरण गर्नुपर्छ भन्ने मत नै सनातनी मुसलमानका प्रष्ट मान्यता हुनुपर्छ । यसले कुरानसमेतका कालजयी सन्देशहरूलाई सधैंको लागि संरक्षण गर्नको लागि पनि सनातनी मुसलमान धारणा उपयुक्त छ । यस अर्थमा उनीहरूको हैसियत कृष्णप्रणामी, कविरपन्थी, आर्यसमाजी, कालीभक्त, ओमशान्ति आदिहरू जस्तै फरक तर बँगैचाका फरक सुन्दर फूलहरू जस्तो हो ।

साइबाबा र कवीर पन्थ मात्र नभइ अन्य पन्थहरूले पनि महत्वपूर्ण सन्देश दिएका छन् । समाजमा छलफलको लागि नयाँ समावेशी सनातनी विचार दिएका छन् । ती विचारहरूले सनातन धर्मलाई अझै परिस्कृत गर्नको लागि बँगैचाका फरक फूलको काम गर्छन् । निषेध र असहिष्णु प्रक्रिया नहुनेहरू बीचको मैत्रिपुर्ण सहअस्तित्व र ओभर एकअर्कामा टाँसिनु र मिल्नु नै सनातन धर्म हो । तर निषेध गर्नेहरूलाई भने निषेध गर्ने अवस्था आउन सक्छ किनकि निषेधवादीहरूले सनातनका मान्यतालाई अस्वाभाविक रूपमा रोक्छन् । धर्मको काम नदीको पानीले जग्गा नबिगारोस् भन्ने जस्तो हो । तर रोकी राखेर आफूले चाहेजति मात्र निकाल्दा बाँध भत्कन्छ र त्यो बाढीले राम्रा र नराम्रो दुवै कुरालाई बिगार्छ । बुद्ध, कवीर पन्थ, जैन पन्थ, सिख, कादियानी, अहमदिया, वहाइ, कन्फ्युसस तथा तावो, सिन्तो, आर्यसमाज समेतका धेरै विचार र धर्र्महरूले पनि त्यही सन्देश दिइरहेका छन् ।