मैत्रीपूर्ण फुटबलमा मरिससमाथि नेपालको जित

मैत्रीपूर्ण फुटबलमा मरिससमाथि नेपालको जित


रेफ्रीको निर्णयको सम्मान गर्ने प्रशिक्षक अल्मुताइरीको भनाइ

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा १० खेलाडीमा सीमित नेपालले नौ खेलाडीमा समेटिएको मरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि सुजल श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको दशौँ मिनेटमा गोल गरेका थिए । आशिष लामाले प्रहार गरेको बललाई पेनाल्टी क्षेत्रभित्र रहेका पुजन उपरकोटीले उपलब्ध गराएपछि श्रेष्ठले गोलमा परिणत गरेका थिए ।

पहिलोपटक अफ्रिकी राष्ट्रविरुद्ध आधिकारिक रुपमा खेल खेलेको नेपाल दुवै मैत्रीपूर्ण खेलमा जित हात पार्न सफल भयो । यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोल अन्तरले नै पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि विमल घर्तिमगरले गोल गरेका थिए ।

मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार हार ब्यहोर्‍यो । खेलको १३औँ मिनेटमा मरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । नेपालका दिनेश राजवंशीले मरिससका लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो । त्यसबाहेक दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यसैगरी खेलको ७० औँ मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा समेटियो । एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एड्रियन बोटलरले रातो कार्ड पाएका थिए । यता नेपालका पुजन उपरकोटीलाई रेफ्री नवीन्द्र महर्जनले रातो कार्ड दिएका थिए । खेलको ७८औँ मिनेटमा मरिसस नौ खेलाडीमा समेटियो । नेपालका गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाएका थिए ।

रेफ्रीको निर्णयको सम्मान गर्छु : प्रशिक्षक अल्मुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्धको दोस्रो खेलमा पनि जित हात पार्न सफल भएकोमा आफू खुसी भएको बताएका छन् ।

खेल सकिएपछिको पत्रकारसम्मेलनमा प्रशिक्षक अल्मुताइरीले आफू खेलाडीको प्रदर्शनबाट खुसी भएको बताए । शारीरिक रुपमा बलियो टिमविरुद्ध नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो ।

खेल तनावग्रस्त हुनु राम्रो नभएको बताउँदै उनले १ गोलको अग्रतापछि धैर्य भएर खेल्नुपर्ने धारणा राखे ।

खेलमा भएको तनावका लागि दुवै पक्षका खेलाडी ५०र५० प्रतिशत जिम्मेवार भएको उनको भनाइ थियो ।

‘गेम सकियो अब सबैले कुरा बिर्सनुपर्छ’- अल्मुताइरीले भने, ‘म रेफ्रीको डिसिजन सम्मान गर्छु ।’

खेलमा हारजित हुने भन्दै उनले आफूहरु जितका लागि योग्य भएको बताए ।