कसले घटायो पुरुषको सङ्ख्या ?

कसले घटायो पुरुषको सङ्ख्या ?


ब्यङ्ग्य, सरोकार र चिन्ता जे-जे ब्यक्त गरे पनि समग्रमा ‘पुरुषभन्दा महिला धेरै भए, ती सबै महिलालाई पुरुष कसरी पुऱ्याउने ?’ भन्ने मार्काका टिप्पणीहरू देखिन्छन् । पुरुषको सङ्ख्या किन घट्यो ? भनेर खासै खोजी गरेको देखिँदैन ।
  • बबिता बस्नेत

वि.सं. २०७८ को जनगणनाले महिलाको भन्दा पुरुषको सङ्ख्या कम देखाएको छ । सार्वजनिक भएको प्रारम्भिक तथ्याङ्कअनुसार नेपालको जम्मा जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । जसमा महिलाको सङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ र, पुरुषको सङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ । प्रतिशतमा महिलाको ५१.०४ र पुरुषको ४८.९६ प्रतिशत हुन्छ । जनगणनामा महिलाको सङ्ख्या पुरुषभन्दा ६ लाख ९ हजार ८ सय ५८ बढी देखिएपछि हामीकहाँ बिभिन्न चर्चा परिचर्चा सुरु भएको छ ।

तथ्याङ्क बाहिर आएको दिनदेखि नै यो सङ्ख्यालाई लिएर सामाजिक सञ्जालमा लेख्न मिल्ने/नमिल्ने, सोच्न मिल्ने/नमिल्ने अनेक प्रकारका प्रतिक्रियाहरू देखिएका छन् । ब्यङ्ग्य, सरोकार र चिन्ता जे जे ब्यक्त गरे पनि समग्रमा ‘पुरुषभन्दा महिला धेरै भए, ती सबै महिलालाई पुरुष कसरी पुर्‍याउने ?’ भन्ने मार्काका टिप्पणीहरू देखिन्छन् । पुरुषको सङ्ख्या किन घट्यो ? भनेर खासै खोजी गरेको देखिँदैन । प्रकृतिले महिला र पुरुषको सङ्ख्यामा सन्तुलन गरेको हुन्छ भन्ने छ । यो मानवजातिमा मात्र नभइ सम्पूर्ण प्राणी जगत्मा लागु भइरहेको कुरा हो ।

नेपालमा महिलाको सङ्ख्या यो दुई-चार वर्षमा बढेको होइन । दश वर्षअघि पनि पुरुषको भन्दा महिलाको सङ्ख्या धेरै थियो । विसं २०६८ को तथ्याङ्कअनुसार, पुरुषको सङ्ख्या ४८.५ प्रतिशत थियो भने महिलाको सङ्ख्या ५१.५ प्रतिशत थियो । हामीकहाँ महिलाको सङ्ख्या बढी हुनुका कारण धेरै हुन सक्छन् । तीमध्ये पुरुषभन्दा महिलाको लामो आयु प्रमुख हुन सक्छ । विश्वमै पुरुषभन्दा महिला बढी बाँच्ने गरेका विभिन्न तथ्याङ्कले देखाएको छ । फ्रेब्रुअरी ४, २०१९ मा प्रकाशित बीबीसीको रिपोर्टमा संसारभर महिलाहरूको औषतआयु पुरुषभन्दा लामो हुने गरेको उल्लेख गरिएको छ । डब्लुएचओका अनुसार, सन् २०१६ मा मानिसहरू ७२ वर्षको औषत आयु लिएर जन्मिएका थिए । लिङ्गको आधारमा छुट्याउँदा महिलाको आयु ७४ वर्ष २ महिना र पुरुषको ६९ वर्ष ८ महिना थियो । सन् २०१० को अमेरिकी जनगणनामा अमेरिकामा १ सय वर्षभन्दा माथि उमेरका ५३ हजार ३ सय ६४ मानिस थिए । उनीहरूमध्ये ९ हजार १ सय ६२ पुरुष र ४४ हजार २ सय २ जना महिला थिए । हामीकहाँ यस प्रकारको तथ्याङ्क छैन ।

तथ्याङ्कहरू हेर्दा प्रकृतिले महिला-पुरुषबीच जन्मदरमा सन्तुलन कायम गरे पनि बाँच्नलाई भने पुरुषलाई कम समय दिएको देखिन्छ ।

बीबीसीका अनुसार, पुरुष भन्दा महिला बढि बाँच्नुका विभिन्न कारण छन् । पहिलो कारण ‘जीन’ हो । मानिसको मृत्युदरका बारेमा विश्वमा ४० देशका तथ्याङ्क उपलब्ध छन् । त्यसमध्ये स्वीडेनमा सन् १७९१ देखि यसप्रकारको तथ्याङ्क राख्न थालिएको हो भने फ्रान्समा सन् १८१६ देखिका तथ्याङ्क छन् । जापान र रुसमा भने बिसौँ शताब्दीको मध्यबाट तथ्याङ्क राखिएको छ । तथ्याङ्क भएका सबै देशमा पुरुषको भन्दा महिलाको आयु बढी छ । तथ्याङ्कहरू हेर्दा प्रकृतिले महिला-पुरुषबीच जन्मदरमा सन्तुलन कायम गरे पनि बाँच्नलाई भने पुरुषलाई कम समय दिएको देखिन्छ । पुरुष भ्रुणहरू महिला भ्रुण भन्दा बढी खेर जान्छन् भन्ने छ । युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक डेभिड जेम्सले यो बताएका छन् । उनका अनुसार, यसको एउटा कारण लिङ्ग निर्धारण गर्ने क्रोमोजोम हो । क्रोमोजोममा जीन हुन्छ, एक्स क्रोमोजोममा आयु लामो बनाउने धेरै क्रोमोजोम हुन्छ । एक्टर विश्वविद्यालयकी लोर्ना ह्यारिसले पुरुषहरू गर्भावस्थामै मर्ने सम्भावना २० देखि ३० प्रतिशत हुन्छ भनेकी छिन् । लोर्नाका अनुसार, भाले चराहरूमा दुई एक्स क्रोमोजोम हुने भएकाले चरा प्रजातिमा भने पोथी चराभन्दा भाले बढी बाँच्ने गर्छन् ।

पुरुषहरू महिला भन्दा कम बाँच्ने दोश्रो कारण हर्मोन हो । किशोर अवस्थामा हर्मोन परिवर्तन हुन्छ । धोद्रो आवाज, छातीमा रौँ जस्ता पुरुषजन्य विशेषताका लागि टेस्टस्टोरन नामक हर्मोन जिम्मेवार हुन्छ । किशोरावस्थाको अन्तिमतिर पुरुषमा टेस्टस्टोरन हर्मोन ह्वात्तै बढ्छ । यही समय पुरुषको मृत्युदर पनि बढ्छ । बीबीसीका अनुसार, पुरुषहरूले झगडा, तीव्र गतिमा गाडी चलाउने जस्ता जोखिमपूर्ण काम र आत्महत्या पनि धेरै गर्छन् । अध्ययनहरूले मानव र जनावरहरूमा अण्डकोष नहुनेहरूको आयु बढी देखाएका छन् । महिलाहरूको हर्मोन एन्ट्रोजिनमा शरीरमा हुने हानिकारक तत्वलाई हटाउने गुण हुने भएकाले उनीहरू बढी बाँच्छन् । तेश्रो कारणचाहिँ पेशा र आचरणलाई मानिएको छ । युद्धग्रस्त क्षेत्रमा पुरुषहरूको आयु घट्छ । हामीकहाँ पनि दशवर्षे माओवादी युद्धमा करिब १७ हजार पुरुषहरूको आयु समाप्त भएको थियो । अन्य बिभिन्न आन्दोलनमा पनि महिलाभन्दा पुरुषकै बढी मृत्यु हुने गर्छ । चुरोट, मदिरापान, लागूपदार्थ सेवनलगायतका खानपानले उमेरमा फरक पार्छ । रुसमा धेरै मद्यपानका कारण महिलाहरू भन्दा पुरुषहरू १३ वर्ष अगाडि मर्ने तथ्याङ्क छ । महिलाको आयु लामो भए पनि रोग लाग्ने सम्भावना भने महिलामा ज्यादा हुने देखिएको छ । १६ देखि ६० वर्षको उमेरमा पुरुषभन्दा महिलाहरू बढी अस्पताल पुग्ने रहेछन् ।

वास्तविकता र विभिन्न मुलुकको जनसङ्ख्याको अवस्थाको जानकारीबिना नै हामीकहाँ यसरी टिप्पणीहरू गर्ने गरिएको छ कि मानौँ पुरुषभन्दा बढि सङ्ख्या भएका ती ६ लाख ९ हजार ८ सय ५८ जना महिलाहरू सबै विवाह गर्न ठिक्क परेर बसेका युवती हुन् । दशवर्षे माओवादी युद्धले एकैपल्ट एकल बनाएका करिव १७ हजार महिलाहरूको उमेर र अवस्था अहिले कस्तो होला ? हाम्रो देशमा पुरुषको सङ्ख्या घटाउनमा प्रचण्ड-बाबुरामहरूका साथै सडक तथा अन्य विकासका आधार तय गर्ने नीति-निर्माताहरूको पनि त्यत्तिकै भूमिका छ । प्रत्येक दिन ९ जनाको हाराहारीमा दुर्घटना हुने गरेको छ । सवारीमा पहुँच पुरुषकै बढी भएको हुँदा दुर्घटनाबाट मृत्यु हुने सङ्ख्या पनि पुरुषकै बढी छ । वैदेशिक रोजगारीमा जानेहरू मध्ये पुरुषकै शरीर बाकसमा फर्कने गरेको छ ।

युद्धग्रस्त क्षेत्रमा पुरुषहरूको आयु घट्छ । हामीकहाँ पनि दशवर्षे माओवादी युद्धमा करिब १७ हजार पुरुषहरूको आयु समाप्त भएको थियो । अन्य विभिन्न आन्दोलनमा पनि महिलाभन्दा पुरुषकै बढी मृत्यु हुने गर्छ ।

हामीकहाँ यस्ता कुराहरूको अध्ययन-अनुसन्धान हुने गरेको छैन, तर अध्ययन गर्ने हो भने एकल महिलाभन्दा एकल पुरुषको मृत्यु चाँडै हुने तथ्याङ्क आउन सक्छ । भावनात्मक र ब्यवहारिक कुराहरू पुरुषले भन्दा बढी महिलाले सहन सक्ने देखिएको छ । पत्नीको मृत्यु भएपछि छोटो अवधिमै पतिको मृत्यु हुने देखिएको छ । तर पतिको मृत्युपछि पनि महिलाहरू भने परिवारका सदस्यहरूसँग घुलमिल भएर जीवन बाँच्दै आएका छन् । पत्नीको मृत्युपछि हाम्रो समाज र पारिवारिक संरचनामा पुरुषको जीवन कठिन देखिन्छ ।

अहिले पुरुषकोभन्दा महिलाको सङ्ख्या बढी देखिए पनि जुन प्रकारले हाम्रो समाज अगाडि बढिरहेको छ त्यसलाई हेर्दा अबको केही वर्षमा पुरुषको सङ्ख्या बढ्ने देखिन्छ । यसको मुख्य कारण भ्रुण हत्या हो । छोराको चाहनामा नजन्मदै छोरीको हत्या गर्ने प्रचलन बढ्दै गएको छ । पेटमै छोरा र छोरीको लिङ्ग पहिचान हुने प्रविधिका कारण विभिन्न जिल्लामा छोरीहरूको सङ्ख्या घट्दै गएको छ । महिला र पुरुषमा भएको सङ्ख्याको वृद्धिदर हेर्ने हो भने अहिले नै पुरुषको बढी छ । दुःखलाग्दो कुराचाहिँ के हो भने सामाजिक सञ्जाल प्रयोग गर्ने सचेत मानिएको समूह वास्तविकता बुझ्न भन्दा ब्यङ्ग्य गर्न ब्यस्त छ । महिलाको सङ्ख्या बढेकोमा अब आफूलाई एकभन्दा बढी महिला भागमा पर्ने भए भन्ने प्रकारका टिप्पणी गर्नुलाई बहादुरी ठान्छ । हामी शिक्षित भए पनि सभ्य हुन बाँकी नै छ भन्ने कुरा त्यस्ता टिप्पणीहरूले पुष्टि गर्छन् ।