गौदासबाबाले थाहा पाउनुभयो- ‘सरकार पनि निष्ठुरी हुँदोरहेछ’

गौदासबाबाले थाहा पाउनुभयो- ‘सरकार पनि निष्ठुरी हुँदोरहेछ’


यतिबेला उहाँको गौशालामा स्थानीय प्रजातिका मात्र बाच्छाबाच्छीसहित एकासी वटा गाईहरू संरक्षित छन् । गाईको स्याहारमा उहाँको परिवार लागिपरेका छन् । गौशालालाई उहाँले नाम दिनुभएको छ- ‘विश्वमाता गौशाला ।’

स्थानीय नेपाली गाईको संरक्षण गर्न खोज्दा अनेकौँ अपमान र अवहेलना सहन बाध्य नरबहादुर सुनार अचेल गौदासबाबाका रूपमा चिनिनुहुन्छ । गाईबिना हिन्दू हुँदैन र हिन्दूबिनाको हिन्दूराष्ट्र हुन सक्दैन भन्नुहुने गौदासबाबाले सडकमा अलपत्र बनाएर छोडिएका नेपाली गाईहरूको स्याहार गर्न थालेपछि ठालुका हातबाट पिटाइ समेत खानुपऱ्यो । दुई वर्ष मात्र विद्यालय धाएका उहाँ आफूलाई अनपढ व्यक्तिका रूपमा चिनाउनुहुन्छ, तर हिन्दू परम्पराअनुरुप न्वारान, वैवाहिक कार्य, ब्रतबन्ध तथा पूजाआजा गराउने कर्मकाण्डी पुरोहितका रूपमा पनि उहाँले काम गराउँदै आउनुभएको छ । विगत बीस वर्षदेखि उहाँ गौशाला परिसरमा रहेको विश्वकर्मा बाबाको मन्दिरमा पुजारी हुनुहुन्छ ।

नरबहादुर सुनार उहाँको नागरिकताको नाम, यो नाम न्वारानको बेला उहाँले पाउनुभएको थियो । पछि बुबाले बुद्ध नामले उहाँलाई बोलाउने गर्नुहुन्थ्यो । २०२६ सालमा चितवनको वीरेन्द्रनगरमा जन्मिनुभएका नरबहादुर सुनारलाई २०२९ सालमा उहाँका बाबुले कावासोती बसाइँ सर्दा सँगै लिएर जानुभएको थियो । सुकुम्बासीहरूलाई बसोबासको व्यवस्था मिलाउन सरकारले त्यसबेला कावासोतीमा घडेरी विकास गरेको थियो । नन्दबहादुर मल्ल नामक अञ्चलाधीशको पहलमा उक्त स्थानमा सुकुम्बासीहरूलाई बासको व्यवस्था मिलाइँदा नरबहादुर सुनारको परिवार पनि त्यसैमा समेटिएको थियो ।

कावासोतीको शिव मा.वि.मा अध्ययनका निम्ति दुई वर्षसम्म गए पनि विद्यालयमा भोग्नुपरेको भिन्न व्यवहारले नरबहादुरको मन धेरै दुःखायो र, उहाँले विद्यालय नजाने निर्णय लिनुभयो । उच्च भनिएका जातिले गर्ने गरेको कर्मकाण्डी कार्यमा रुचि बढेपछि उहाँले स्वअध्ययनबाट पुरोहित कर्म गर्न सक्ने हैसियतमा आफूलाई पुऱ्याउनुभयो । छुन नहुने भनिएका हिन्दूहरूको धार्मिक एवम् साँस्कृतिक कार्यमा नरबहादुरले पुरोहित कर्म गर्न थाल्नुभयो । २०५५ सालमा तुलाराम विश्वकर्माको अग्रसरतामा विश्वकर्मा बाबाको मन्दिर निर्माण हुनलाग्दा नरबहादुरको पनि उक्त कार्यमा सक्रिय सहभागिता रह्यो । २०५९ सालमा स्थानीय बासिन्दाहरूको भेलाले विश्वकर्मा मन्दिर व्यवस्थापन समितिको अध्यक्ष र मन्दिरको पूजारीको जिम्मेवारी नरबहादुरलाई सुम्पिए, अहिलेसम्म उहाँ नै मन्दिर व्यवस्थापन समितिको अध्यक्ष र पूजारीका रूपमा हुनुहुन्छ ।

स्वअध्ययनका क्रममा उहाँले पञ्चगब्य (गाईको दूध, घ्यू, दही, गहुँत र गोबर) बिना मानिसको जीवनमा गर्नुपर्ने सोह्र पुनित कार्य पूर्ण नहुने जानकारी पाउनुभयो । गाईको दूध, दही, घ्यू, गोमुत्र र गोबरलाई वेद मन्त्रद्वारा कुशले मन्थन गरेको पञ्चगब्यले पवित्र तुल्याइएपछि मात्र सोह्र कर्म (जन्म, गर्भाधान, विवाह, न्वारान, अन्नप्रासन, अक्षरारम्भ, चुडाकर्म, उपनयन आदि) को पुनित कार्यारम्भ गर्न सकिने बुझेपछि उहाँलाई गाईको विशेष महत्वबारे ज्ञान मिलेको थियो ।

मानिसहरू दूध दिइन्जेल गाईलाई घरमा राख्थे र दूध दिन छोडेपछि अलपत्र पारेर सडकमै छोडिदिन्थे । मानिसको यस्तो व्यवहारले नरबहादुरको मन कटक्क खान्थ्यो । अन्ततः उहाँ स्थानीय प्रजातिको गाई संरक्षण गर्ने निष्कर्शमा पुग्नुभयो । २०६८ सालमा गौ संरक्षण कार्य आरम्भ गर्दा कतिपय मानिसले उहाँलाई ‘अरुले निचोरेर छोडेका गाई सम्हालेर बस्ने पागल मान्छे’ भन्ने संज्ञा पनि दिए । प्रारम्भमा साथ दिनेहरूले पनि दर्जन बढी गाई पुगेपछि नरबहादुरलाई छोडिदिएका थिए । यतिबेला उहाँको गौशालामा स्थानीय प्रजातिका मात्र बाच्छाबाच्छीसहित एकासी वटा गाईहरू संरक्षित छन् । गाईको स्याहारमा उहाँको परिवार लागिपरेका छन् । गौशालालाई उहाँले नाम दिनुभएको छ- ‘विश्वमाता गौशाला ।’

‘शुरु-शुरुमा यो गौशालाको दूध-घ्यू प्रयोग गर्ने रुचि मानिसमा नभएको जस्तो लाग्थ्यो, अहिले मानिसको धारणा बदलिएको छ । पवित्र कार्यका निम्ति दूध, घ्यू, गहुँत र गोबर लिन मानिस आउने गर्दछन्,’ नरबहादुरले भन्नुभयो । मानिसको सोच परिवर्तन भएसँगै नरबहादुरको परिचय पनि बदलिएको छ, यतिबेला उहाँ गौदासबाबाका रूपमा परिचित हुनुहुन्छ ।

२०२९ सालमा व्यवस्थित बस्ती बसाएपछि १९९ घरधुरीका लागि चरणक्षेत्र भनेर छोडिएको २०० बिघा जमिनकै एउटा कुनोमा गौशाला र गौशालासँगै विश्वकर्मा बाबाको मन्दिर रहेको छ । धर्मनिरपेक्षतासहितको सङ्घीय गणतन्त्रको आगमनपश्चात सोही चरणक्षेत्रमा नमूना सदरमुकाम बनाउने अवधारणा अघिसारिएको छ । स्थानीय प्रजातिका गाई भएकोले तिनलाई दिनहुँ चराउनुपर्ने हुन्छ । यसरी गाई चराउँदै गर्दा वन समितिका अध्यक्षले गौदासबाबामाथि एक पटक हातपात पनि गरे । गाईलाई चर्न नदिन तिनले दुई जना मानिस दिनहुँ खटाउने गर्दथे ।

बारम्बार गौचरणमा अवरोध पुर्‍याएपछि गौदास बाबाले वन क्षेत्रमा गाई चरनको स्वीकृति पाउन २०७६ सालमा वन मन्त्रालयमा निवेदन दिनुभएको थियो । मन्त्रालयले आवश्यक निर्णय गर्न भन्दै वन विभागलाई पत्र लेख्यो, विभागले जिल्ला वन कार्यालयलाई पत्र पठायो र, जिल्लाले इलाका वन कार्यालयलाई, इलाका वन कार्यालयले स्थानीय वन उपभोक्ता समितिलाई पत्र लेख्यो । वन समितिले सहयोग नगरेका कारण केन्द्र (मन्त्रालय) मा आएर निवेदन दिनुपरेको थियो, अन्ततः स्थिति जहाँको त्यहीँ रह्यो । वन उपभोक्ता समितिले गौचरणको अनुमति दिएन ।

यसरी हैरानी पाएको ब्यहोरा सुनाउँदै गौदास बाबा भन्नुहुन्छ- ‘मेरो १५ दिनको मेहनत त्यसै खेर गयो । चरणको व्यवस्था गरिदिन वडा कार्यालयलाई अनुरोध गर्दा वडाले नगरपालिकाबाट निर्णय हुनुपर्ने बतायो, नगरपालिकामा पुग्दा प्रदेशबाट निर्णय हुनुपर्छ भनियो र, प्रदेशले केन्द्रलाई देखाएर आफूलाई अल्झाइरहने त्रास उहाँमा पैदा भएको छ । गाईको पिठ्युँमा सुम्सुम्याउँदै आँखाभरी आँशु पारेर गौदासबाबाले भन्नुभयो- ‘लोप हुँदै गएको स्थानीय नेपाली गाईको संरक्षण गर्नेबाहेक मेरो अर्को कुनै सपना र योजना छैन । मेरो निम्ति मैले कसैसँग केही मागेको छैन, गौमाताका निम्ति चरनको अधिकार माग्दा पनि पाइएन । सरकार पनि यति निष्ठुरी हुँदोरहेछ, म छक्क परेको छु । अब म न्याय माग्न कहाँ जाउँ ?’