अमेरिकाले रसियालाई युद्धमा तानेको पुटिनको आरोप

अमेरिकाले रसियालाई युद्धमा तानेको पुटिनको आरोप


रसियाली राष्ट्रपति भ्लालमिर पुटिनले युक्रेन विवादलाई लिएर अमेरिकाले आफ्नो देशलाई युद्धमा तानेको आरोप लगाएका छन् । युक्रेन तनावबारे पहिलो पटक बोल्दै राष्ट्रपति पुटिनले रसियामाथि अझै बढी प्रतिबन्ध लगाउन विवादलाई बहाना बनाउनु अमेरिकाको उदेश्य भएको आरोप लगाए ।

युरोपमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धन फौज नेटोबारे रसियाको चासोलाई अमेरिकाले बेवास्ता गरेको पुटिनले बताए । रुसले युरोपको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेपछि दुई देशबीच सम्बन्ध बिग्रिएको छ ।

युक्रेनको सीमामा ट्यांक, आर्टिलरीलगायतका अत्याधुनिक हतियारसहित एक लाख रुसी सुरक्षाकर्मी तैनाथ छन् ।

रसियाले युक्रेनमाथि आक्रमणको योजना गरेको भन्ने पश्चिमेली देशको आरोपलाई मस्कोले अस्वीकार गर्दै आएको छ । करिब आठ वर्षअघि रसियाले युक्रेनको दक्षिणी भूभाग क्रिमियालाई बिलय गराउन सफल भएको थियो । त्यस्तै, उसले पूर्वी दोनबास क्षेत्रका विद्रोहीको रक्तपातपूर्ण युद्धलाई पनि समर्थन जनाएको थियो ।