मान्छेको अस्थिपन्जरसँगै टाउको काटिएको घोडा, पुरातत्वविद् चकित

मान्छेको अस्थिपन्जरसँगै टाउको काटिएको घोडा, पुरातत्वविद् चकित


उत्खननबाट शताब्दीऔँ पुराना अनौठा घटना र इतिहासबारे थाहा पाउन सकिन्छ । यस्तै अनौठो एक घटना जर्मनीका अनुसन्धानकर्ताहरुले फेला पारेका छन् ।

अनुसन्धानकर्ताहरुले टाउको नभएको घोडा पुरिएको स्थानबाट एउटा मानिसको अस्थिपन्जर भेटेका छन् । दक्षिणी जर्मनीमा फेला परेको यस्तो अस्थिपन्जर १४ सय वर्षअघिको हुन सक्ने अनुसन्धानकर्ताहरुले अनुमान गरेका छन् ।

तर, टाउकोबिहीन घोडाको अवस्थालाई लिएर अझै पनि रहस्य बढेको छ । ती व्यक्ति कुलीन वर्गको सदस्य भएको अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् ।

‘उनी मेरोभिंगियन राजाहरुसँग ‘चेन अफ कमान्ड’मा रहेको र उनी राजाको अभियानमा सहभागी हुन बाध्य भएको देखिन्छ’, पुरात्वविद फल्के डामिंगरको भनाइ उद्धृत गर्दै लाइभ साइन्सलले जनाएको छ । घोडाको शिरच्छेदन अन्तिम संस्कारको एउटा पाटो भएको हुन सक्ने दामिंगरको भनाइ छ ।

बताइएअनुसार उनका परिवारले ती व्यक्तिलाई अरुका अगाडि धनी देखिऊन् भनेर उनलाई घोडासँगै पुरिएको हुन सक्छ ।

मृत्युपछि उनलाई चढेर हिँड्न पाउने विश्वासमा शवसँगै घोडा राखिएको अनुमान पनि गरिएको छ । घोडाको टाउको भने फेला परेको छैन ।