गाली गर्ने चर्चा बटुल्ने !?

गाली गर्ने चर्चा बटुल्ने !?


विगत लामो समयदेखि सत्ताको मात थाम्न नसक्नेहरूको हातमा शक्ति छ त्यसैले मुलुक अधोगतितिर लाग्दैछ । अब जनता बिस्तारै बुझ्दैछ कि कुनै वाद या तन्त्रले पनि केही फरक पर्दैन । शक्तिले चढ्ने मात थाम्न नसक्ने नेतृत्वले जस्तोसुकै तन्त्र वा वाद पनि जनकल्याणकारी बनाउन सक्दैन ।

  • स्वयम्भूनाथ कार्की

विगत करिव तीन दशकदेखि नेपालमा चर्कोे बोलेर प्रख्यात हुने चलन चल्यो । राजालाई श्रीपेच खोलेर चुनावी मैदानमा आउन भनेका कारणले तत्कालिक एमाले महासचिव मदन भण्डारी चर्चाको शिखरमा पुगे । त्यसभन्दा पहिले नानीमैया दाहालले यस्तै चर्कोे बोली बोलेर राष्ट्रिय पञ्चायतको चुनाव जित्न पुगेकी थिइन् । नानीमैयाले हमेसा तितो मात्र बोल्ने प्रवृत्ति प्रकट गरे पनि मदन भण्डारीले चाहिँ त्यो एक भाषणपछि खासै बिझाउने बोलेको महसूस गरिएन । मोरङका उमेशजङ्ग थापा पनि तात्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओलीलाई गाली गरेर मातृकाप्रसाद कोइरालालाई हराउन सफल भए । अञ्चलाधीश र थापाको मिलिभगतको नाटक थियो त्यो ।

चर्कोे बोलीले नै प्रख्यात हुने र हुन खोज्नेहरूको लामो सूची बन्न सक्छ । गाली–शिरोमणीकै पदवी दिन सुहाउने ‘बेलाको बोली’का स्तम्भकारको प्रस्तुतिमा गाली र चर्को कुराबाहेक तात्विक कुरा कमै पाइन्छ । तैपनि उनी सम्भवत लेखको सबैभन्दा धेरै पारिश्रमिक पाउने स्तम्भकार बने । चाहे आफैलाई मुकुन्दे भन्ने व्यक्ति हुन् वा विकासानन्द, सावित्री सुवेदी हुन् वा आङ्काजी, सबै चर्को र तितो बोलीले निरन्तर चर्चामा रहेका नाम हुन् । यसको आकर्षणले राजावादी भनिनेहरूलाई पनि छुँदै गएको छ । कतै केही व्यक्ति जम्मा हुनु अनि गणतन्त्र वा गणतन्त्रका नेताहरूलाई सकेसम्म गाली गर्नु उनीहरूको दृष्टिमा ठूलो राजसेवा र राष्ट्रसेवा भएको छ ।

एक्लो एकनाथ ढकाल ०७३ सालमा एकता दिवसको बिदा रोक्न ‘सफल’ भएका थिए । ०७४ मा रोक्न नसके पनि ०७५ मा फेरि रोकेरै छोडे । बीचमा भएको ‘मुन’ काण्डले गरेको क्षति घटाउन ०७५ मा बिदा नदिए पनि सरकारले एकता दिवस भने मनायो । तर एकता दिवसलगायतका कुनै पनि दिवस हरेक वर्ष नेपालभर जनताले जनस्तरबाट मनाइरहे । हो, कहिले बाक्लै र कहिले केही पातलो ! गद्दी छोड्ने बेलामा शाहवंशको इतिहासमै सबैभन्दा कम करिव–करिव ऋणत्मक भएको लोकप्रियता राजाले पुनः कमाउँदैछन् । यो पनि त्यो बेला जुन वेबला उनीसँग कुनै राजकीय शक्ति छैन, झर्ला र खाउँला भनेर घेरामा राख्नेहरू कुना पसेका छन् । अनि दरबार र आफूले पालनपोषण गरेकाहरू यो कठिन समयमा साथ दिनुको साटो उल्टै घुक्र्याउँदै छन् ।

यो सबै काम सडकमा केही जम्मा भएर नेतालाई चर्का गाली गर्नाले भएको छैन । जम्मा भएर आफ्नो कुण्ठा पोख्नाले भएको छैन । निरन्तर जनतासमक्ष गुण र दोष केलाएर देखाइ राख्ने कयौँ राष्ट्रवादीको प्रयत्नले यो भएको छ । हिजो ‘श्री ५’ लेखेकोमा पक्राउ गर्न ठाडो आदेश दिनेहरूको तेजोहरण गालीले हैन जनतामा त्यो कामको निन्दाले भएको छ । माकुनेले प्रधानमन्त्री भएको बेला भुपु कुमारीहरूको वसन्तपुरमा राजासँगको कार्यक्रम रोक्न खोजे । एक प्लाटुन नै सशस्त्र प्रहरी खटाएर ‘निर्मल निवास’ घेरे । परिणाम के भयो त भन्दा वसन्तपुरमा हुने भनेको कार्यक्रम ‘निर्मल निवास’मा भयो ।

वर्तमानमा नेपालको इतिहासको सबैभन्दा शक्तिशाली भनेको सरकार छ । गणतन्त्रको संविधान कार्यान्वयनको सबै चरण पूरा भएको छ । तर त्यस सरकारका मुखियालाई डर लागेको छ, उनको डर धम्की भएर बोल्छ- ‘राजसंस्था फर्काउने सपना नदेख !’ अनि जनता भन्छन्- राजाले हाच्छ्यूँ गर्दा पनि सातो जाने यो गणतन्त्रको उमेर कति ? संसद्मा प्रस्ताव आउँछ- राजालाई थुन्नुपर्छ ! नेकपा (नेकपा)का भुपु माके अध्यक्ष थर्कमान हुन्छन् र भन्छन्- गणतन्त्र उल्टाउने षडयन्त्र हुँदै गरेको सूचना पाएको छु ! आमजनता भन्छन्- त्यो शुभसूचना कता पाइयो, हामी पनि सुनौँ न ! यो परिस्थिति ‘कुकुरले खुट्टो टोक्यो भनेर कुकुरको खुट्टा टोक्ने’ उखान चरितार्थ गरेर भएको हैन । चर्का बोली र आक्रोशले प्राप्त उपलब्धि यस्तै क्षणिक हुन्छ ।

अब जनता बिस्तारै बुझ्दैछ कि कुनै वाद या तन्त्रले पनि केही फरक पर्दैन । शक्तिले चढ्ने मात थाम्न नसक्ने नेतृत्वले जस्तोसुकै तन्त्र वा वाद पनि जनकल्याणकारी बनाउन सक्दैन । अन्तर-कुन्तर खोजेर त्यसमा आफूलाई सर्दो पर्ने काम शक्तिको मातले गराउने गर्छ । स्वयम् शाह वंशमा पनि जब-जब रानीहरूले शक्ति हासिल गरे त्यो मात थाम्न सकेनन् । मुलुकले क्षति ब्यहोर्नुपऱ्यो । विगत लामो समयदेखि सत्ताको मात थाम्न नसक्नेहरूको हातमा शक्ति छ त्यसैले मुलुक अधोगतितिर लाग्दैछ । सत्ताको मात थाम्न विषेश क्षमता चाहिन्छ, जनता विस्तारै त्यो क्षमता कता छ- जान्दैछ ।