शर्लिनलाई पक्राउ नगर्न अदालतको आदेश

शर्लिनलाई पक्राउ नगर्न अदालतको आदेश


राजले शिल्पालाई दिए पाँच फ्ल्याट

पोर्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन् ।

अदालतले अपिलप्रति महाराष्ट्र सरकारलाई नोटिस जारी गरेको छ । ‘नोटिस जारी गरिएको छ । यही बीच अपिलकर्ताको विरुद्ध कुनै पनि दण्डात्मक कारवाही नगर्नुहोला’, आदेशमा भनिएको छ ।

शर्मिलनका वकिल सुनील फर्नान्डिजले यो मामलाका अन्य आरोपीहरुलाई पहिला नै सुरक्षा दिइसकेको बताए । मामलाको एक मुद्दामा शर्लिनलाई अभिनेत्री पुनम पाण्डेसँग आरोपी बनाइएको छ ।

अदालतले गत जनवरी १८ मा पुनम पाण्डेलाई पनि पक्राउमा रोक लगाउँदै सुरक्षा प्रदान गरिएको थियो । उच्च अदालतले शर्लिनको अग्रिम जमानत अपिल गत वर्षको नोभेम्बर २५ मा खारेज गरिदिएको थियो ।

यसैबीच पोर्नोग्राफी मामलामा पक्राउ परेर जमानतमा रिहा भइसकेका व्यापारी राज कुन्द्राले आफ्नो नाममा रहेको पाँचवटा फ्ल्याट अभिनेत्री पत्नी शिल्पा शेट्टीको नाममा सारेका छन् । यो फ्ल्याटको मूल्य करोडौँ पर्छ ।

राजले मुम्बईस्थित एक भवनको पूरै पहिलो फ्लोर शिल्पाको नाममा सारेका हुन् । यो फ्ल्याटको मूल्य ३८ करोड ५० लाख पर्ने बताइएको छ । यो भवन समुन्द्र तटबाट करिब तीन सय मिटरको दूरीमा बनेको छ ।

जूहुमा परिवारका साथ बस्दै आएका राजले जुहुको घर पनि शिल्पाको नाममा सारेका छन् । शिल्पाको जुहुको घर ५ हजार ९ सय ९५ स्क्वायर फिटमा फैलिएको छ । जसको ट्रान्सफरमा शिल्पाले १ दशमलब ९ करोड स्टाम्प ड्युटी दिएकी छन् । यो हस्तान्तरण जनवरी २१, २०२२ मा भएको थियो । यद्यपि यो विषयमा आधिकारिक रुपमा जानकारी दिइएको छैन ।

राज गत वर्षको जुलाईमा अश्लील फिल्म बनाएको र त्यसलाई एपमार्फत प्रसारण गरेको आरोपमा पक्राउ परेका थिए । उनीमाथि कैयौँ धारा अनुसार मुद्धा दर्ता गरिएको थियो । जेलमा बसेको केही महिनापछि उनले जमानत पाएका थिए ।