थापाको मन फटाउँदै जब समापन भयो राप्रपाको ‘एकता महाधिवेशन’ !

थापाको मन फटाउँदै जब समापन भयो राप्रपाको ‘एकता महाधिवेशन’ !


कुलिन समूहको नेतृत्व गर्दै आएको पार्टीमा मध्यमवर्गीय परिवारका लिङ्देन अध्यक्षमा निर्वाचित हुनुलाई रा.प्र.पा.भित्र एउटा युगको अन्त्य भएको रूपमा हेरियो ।

  • ई. महेन्द्र पराजुली

हिन्दू धर्मसापेक्ष राज्य र राष्ट्रप्रमुखका रूपमा ‘सेरोमोनियल’ राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.)को हालै सम्पन्न केन्द्रीय महाधिवेशनको प्रक्रिया सुरु हुनु केही समयअघिदेखि नै पार्टीभित्र भावी नेतृत्वका लागि जोड-घटाउ सुरु भएको थियो । रा.प्र.पा.को नेतृत्व हत्याउन लालायित अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबीच वैचारिक र नीतिगत मतभेद नदेखिए पनि उनीहरू एकअर्कालाई घेराबन्दी गर्दै छिर्केदाउ हान्ने खेलमा संलग्न रहँदै आएका थिए । यसै मेसोमा दोस्रो पुस्ताका युवा नेता राजेन्द्र लिङ्देनले कमल थापासँगको साथ छोड्दै आफैं अध्यक्षको उम्मेदवार बन्ने निचोडमा पुगे र सोहीअनुसारको रणनीति तर्जुमा गरे । राजेन्द्र लिङ्देन कमल थापाका तिनै निकटका सहयोगी हुन् जसले ०७४ को आम निर्वाचनमा पार्टीले शर्मनाक पराजय ब्यहोरेपछि अध्यक्ष थापाले नैतिकताको बहाना गर्दै राजीनामाको घोषणा गर्दा उनलाई राजीनामा गर्नबाट रोक्दै साथ दिएका थिए ।

गोविन्द खनियाँ नेतृत्वमा गठित विधान संशोधन समितिमा सदस्यका रूपमा रहेका राजेन्द्र लिङ्देन र धवलशमशेर राणाले विधान संशोधनको प्रस्तावमा अध्यक्षको अधिकार कटौती गर्दै आफूलाई कमजोर बनाउन लागेको भन्दै अध्यक्ष थापा लिङ्देनसँग चिढिएसँगै थापा र लिङ्देनबीचको सम्बन्धमा दरार आयो । पशुपतिशमशेर जबरा नेतृत्वको पार्टीसँग एकीकरण गर्दा र केन्द्रीय सदस्यलगायत अन्य पदाधिकारी मनोनयन गर्दा अध्यक्ष थापाले लिङ्देनसँग सल्लाह गर्न आवश्यक नठानेपछि उनीहरूबीच सुरु भएको विवाद उत्कर्षमा पुगी दुवै एकअर्काका प्रतिद्वन्द्वी बने । धेरै पटक फुट्दै र जुट्दै गरेको रा.प्र.पा.को बागडोर सम्हाल्न राणा, लोहनी र थापा आकाङ्क्षी बन्दै आए पनि राजेन्द्र उनीहरूका अघिल्तिर चुनौतीको पहाड बनेर उभिएपछि पशुपतिले अध्यक्षमा उम्मेदवादी नदिने घोषणा गर्दै पार्टी एकता कायम राख्न थापा र लिङ्देन दुवै उम्मेदवारलाई समर्थन नगर्ने जनाए भने डा. प्रकाशचन्द्रले उम्मेदवारी नदिएर राजेन्द्रलाई समर्थन गर्ने घोषणा गरे ।

सङ्घीय संसद्मा रा.प्र.पा. का एकमात्र निर्वाचित सांसद राजेन्द्र लिङ्देनले निर्मल निवाससँग अध्यक्ष कमल थापाको बढ्दो दूरी र पार्टीभित्रको असन्तुष्टिलाई उपयोग गर्दै नेपालगन्जका मेयर एवम् पार्टीका प्रभावशाली नेता धवलशमशेर राणालाई विश्वासमा लिएर अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरे । लिङ्देनले उम्मेदवारी घोषणा गरेसँगै कमल थापाले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे । संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्रको एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीको गत १५ मंसिर ०७८ मा सुरु भएको एकता महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका थापा र लिङ्देनबीच को राष्ट्रवादी र राजसंस्थावादी देखिने भन्ने मुद्दामा होडबाजी नै चल्यो । उनीहरूबीचको आरोप-प्रत्यारोप सतहमै छताछुल्ल भयो ।

राप्रपाले आफ्नो इतिहासमै पहिलो पटक लोकतान्त्रिक विधि र पद्दतिबाट नेतृत्व चयन गऱ्यो । २०७८ मंसिर १८ गते भएको निर्वाचनमा अध्यक्ष कमल थापालाई पराजित गर्दै रा.प्र.पा.को अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन निर्वाचित भए । कुलिन समूहको नेतृत्व गर्दै आएको पार्टीमा मध्यमवर्गीय परिवारका लिङ्देन अध्यक्षमा निर्वाचित हुनुलाई रा.प्र.पा.भित्र एउटा युगको अन्त्य भएको रूपमा हेरियो । पदाधिकारीमा लिङ्देन समूहबाट महामन्त्रीमा धवलशमशेर जबरा मात्र निर्वाचित हुनु र बाँकी ६ जना पदाधिकारीहरू थापा समूहबाट निर्वाचित हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । रोचक पक्ष त के छ भने अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा र भतिज अभिषेक थापा केन्द्रीय सदस्यमा निर्वाचित हुँदै गर्दा कमलले भने पराजय भोग्नुपऱ्यो ।

अध्यक्षमा पराजित भएपछि ‘राजा’ ज्ञानेन्द्र शाहप्रति आक्रोशित भइ आफ्नो पराजयको दोष निर्मल निवासलाई लगाउँदै मंसिर १९ गते कमल थापाले सामाजिक सञ्जालमा ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु । मैले राहत र उन्मुक्ति पाएको छु । सिङ्गो मुलुक गणतन्त्रमय भएका बेला शिरमा कफन बाँधेर ०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । यो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेस्टाले राजाको भलो होस्’ भन्ने ब्यङ्ग्यात्मक ‘स्ट्याटस’ लेखे ।

स्मरण रहोस्, संविधानसभाले २०७२ सालमा निर्माण गरेको सङ्घीय गणतन्त्र नेपालको संविधानमा हस्ताक्षर नगर्न दरबारले दिएको निर्देशन अवज्ञा गर्दै बेवास्ता गरेपछि तत्कालीन राजा ज्ञानेन्द्र अध्यक्ष कमल थापासँग चिढिएपछि राजा ज्ञानेन्द्र र थापाबीचको सम्बन्ध चिसिएको थियो । पराजयको पीडा सहन नसकेर दुःखित हुँदै कमल थापाले केही समयपछि फेरि पनि सामाजिक सञ्जालमा ट्वीट गर्दै लेखे- ‘मेरो अन्तर्मनभित्र मेरो मान्यतामाथि गम्भीर प्रश्नचिह्न खडा भएको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो… पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालेँ, त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालेँ, यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो… !?’