सिनेमा हल खुल्ने भएपछि १ फागुनबाट ‘कठपुतली’को पुनः प्रदर्शन

सिनेमा हल खुल्ने भएपछि १ फागुनबाट ‘कठपुतली’को पुनः प्रदर्शन


आगामी १ फागुनबाट सिनेमा हलहरू खोल्न सरकारले अनुमति दिएपछि फिल्म ‘कठपुतली’ पुनः दर्शकमाझ आउने भएको छ । गत १६ पुसमा रिलिज भएको फिल्म तेस्रो हप्तामा प्रदर्शन भइरहेको समयमा हल बन्द भएपछि प्रदर्शन रोकिएको थियो । कोरोना महामारीका कारण सरकारले ३ माघबाट तेस्रो पटक सिनेमा हल बन्द गरेको थियो ।

फिल्मले रिलिजको पहिलो र दोस्रो सातामा उत्साहजनक व्यापार गरेको थियो । फिल्मको वितरक डिसिएनका अशोक शर्माका अनुसार ‘माउथ पब्लिसिटी’ बलियो रहेकाले फिल्म हेर्नका लागि दर्शक लालायित छन् ।

निर्माता पृथ्वी राना मगरले ‘कठपुतली’ हेर्न चाहेका र रिलिजको तेश्रो हप्तासम्म हेर्ने समय मिलाउन नसकेका दर्शकका लागि फिल्म रिलिजको निरन्तरता दिइएको बताए ।

उनका अनुसार तेस्रो हप्तामा फिल्मले क्यूएफएक्स चेन, एफक्यूब सिनेमाज्, बिएसआर सिनेमाज्, वान सिनेमाज्, सिटिसी सिनेमाज्, क्यूज सिनेमाज्, आइएनआइ सिनेमाज्, कीर्तिपुर सिनेमाज्लगायतका मल्टीप्लेक्सहरुमा राम्रो शो पाइरहेको थियो ।

पृथ्वी राना प्रडक्शनको निर्माणमा तयार भएको फिल्मका निर्देशक भीमसेन लामा हुन् । फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइरालालगायतका कलाकारको अभिनय रहेको छ । जोएल फ्रूमले खिचेका फिल्मका सह-निर्माता विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन् ।