युक्रेन छोड्न आफ्ना नागरिकलाई एक दर्जन भन्दा बढी देशद्वारा आग्रह

युक्रेन छोड्न आफ्ना नागरिकलाई एक दर्जन भन्दा बढी देशद्वारा आग्रह


एक दर्जनभन्दा बढी देशहरुले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न सूचना जारी गरेका छन् । रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्ने खतरा बढेको भन्दै पश्चिमा देशले चेतावनी दिइरहेका बेला थप विभिन्न देशहरुले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका हुन् ।

अस्ट्रेलिया, इटाली, इजरायल, द नेदरल्यान्डस, जापानले पनि आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् । केही देशले आफ्ना कूटनीतिक कर्मचारी र उनका परिवारलाई फिर्ता बोलाएका छन् ।

अमेरिका, जर्मनी र बेलायतलगायतका देशले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न भनेका छन् ।

क्यानडाले आफ्ना दूतावासका कर्मचारीलाई पोल्यान्डसँगको सीमाना जोडिएको पश्चिमी युक्रेनी सहर लिभिभमा सार्ने भएको छ । युक्रेनका लागि बेलायती दूत मेलिन्डा सिमोन्सले ट्विट गर्दै आफू र सम्पूर्ण टिम किभमा बसेको जनाएकी छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनलाई अतिक्रमणको कुनै पनि मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै आएका छन् भने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले अतिक्रमणको चेतावनीले युक्रेनमा त्रास बढेको जनाएका छन् ।