आईपीएलमा इतिहास रच्ने बाबु-छोरा

आईपीएलमा इतिहास रच्ने बाबु-छोरा



विश्व क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकर र उनका छोरा अर्जुन तेन्दुलकरले आईपीएलमा इतिहास रचेका छन् । सचिन र अर्जुनले आईपीएलको इतिहासमा लिलामी हुने र एउटै टोलीबाट खेल्ने पहिलो बाबुछोराको इतिहास रचेका हुन् ।

सचिनका छोरा अर्जुनलाई आईपीएल २०२२ को मेगा अक्सनमा मुम्बई इन्डियन्सले ३० लाखमा खरिद गरेको हो । गत वर्ष पनि फेब्रुअरी २०२१ मा भएको आईपीएल लिलामीमा मुम्बई इन्डियन्सले उनलाई २० लाखमा किनेको थियो । एक सिजनपछि उनलाई मुम्बई इन्डियन्सले रिलिज गरेको थियो ।

तर, आईपीएल २०२२ को लिलामीमा उनलाई फेरि मुम्बई इन्डियन्सले किनेको हो । अर्जुन तीव्र गतिमा बलिङ गर्न माहिर मानिन्छन् । उनलाई सफल अलराउन्डरका रूपमा लिइन्छ। अर्जुनका बुबा सचिनले पनि मुम्बईबाट सन् २००८ देखि २०१३ सम्म आईपीएलको ६ सिजनमा भाग लिएका थिए ।

यस अवधिमा उनले ७८ खेलमा ३४.८३ को औसतमा २३३४ रन बनाए । उनको उच्चतम व्यक्तिगत स्कोर नटआउट १०० रन हो । आईपीएलमा सचिनको नाममा एक शतक र १३ अर्धशतक छ। अर्जुन आफ्नो बुबाका कारण लगातार चर्चामा छन् ।

तर, उनले आफ्नो करियरको प्रारम्भिक चरणमा आफ्नो बुबाले हासिल गरेको नाम वा हैसियत हासिल गर्न सकेका छैनन् । सुरूदेखि नै उनीमाथि सबैको नजर रहेको भए पनि सबैको चाहना छ कि उनले क्रिकेट मैदानमा आफ्नो बुबा जस्तै फरक स्थान हासिल गरोस् ।