भ्यालेन्टाइन दिवसमा रेखाको जोडा भाइरल !

भ्यालेन्टाइन दिवसमा रेखाको जोडा भाइरल !


  • राजन घिमिरे

अन्ततः अभिनेत्री रेखा थापा जीवनमा दोस्रो पटक पुनः दुलही बनेकी छन् । फिल्म निर्माता छवि ओझासँग अलग्गिएपछि निकै वर्ष समाजसेवा र राजनीतिमा समर्पित रहँदै एक्लै जीवन बिताएकी रेखा जाजरकोटका पर्यटन ब्यवसायी बलराम शाहीकी दुलही बनेको समाचार भ्यालेन्टाइन दिवसको अवसरमा सार्वजनिक हुन पुगेको छ ।

सोमबार रेखा थापा दुलही बनेको र उनले कोर्ट म्यारिज गरेको समाचारले ब्यापक चर्चा पाएपछि यसबारे प्रतिक्रिया बुझ्न खोज्दा चर्चित एवम् लोकप्रिय नायिका रेखाले फुर्सद मिलाएर सबै कुरा गरौँला भन्दै पन्छिइन् । तर उनका फ्यानहरूको भनाइ चाहिँ यस्तो रह्यो- ‘चानेचुने व्यक्तिको होइन… रेखा थापाको बिहे हो, चर्चा त हुनै पऱ्यो नि !’

रेखाले यो कोर्ट म्यारिजलाई गोप्य नै राख्न चाहेकी थिइन्, तर नेपालकी चर्चित यी नायिकाको बिहेको कुरा गुपचुप रहन सक्दैनथ्यो र, भयो पनि त्यही । कोर्ट म्यारिज गरेर यो जोडी काठमाडौं जिल्ला अदालतबाहिर निस्किएको मात्र के थियो, समाचार ‘भाइरल’ बन्दै थियो ।

‘म मेरो बिहेको चर्चा नगरौँ भन्ने योजना र सोचमा थिएँ, तर कसरी समाचार बाहिरियो थाहा भएन । जे होस्, अब जीवनलाई पारिवारिक हिसाबले समझदार किसिमबाट अघिबढाउंने योजना बनाएको छु’- रेखाले भनेकी छन् ।

त्यसो त, रेखाले बिहे गरेको र उनको सुन्दर एवम् सुखद् पारिवारिक जीवन अगाडि बढेको हेर्न उनका प्रशंसकहरूको ठूलै चाहना पनि थियो । यो मामलामा उनले आफ्ना प्रशंसकहरूको मन पनि बुझाइदिएकी छन् । तडकभडक र अरूलाई ढर्रा देखाउने पक्षमा नरहेकी रेखाले पहिले जे बोलेकी थिइन्, कानुनी बिहे गरेर आफ्नो त्यो बाचा उनले पूरा गरेकी छन् । रेखालाई सुखद र सफल वैवाहिक जीवनको लागि शुभकामना !