एक वर्षमै ३३ वटा फिल्मका लागि १८० वटा गीत कम्पोज गरेर गिनिज बुकमा नाम लेखाएका थिए बप्पीले

एक वर्षमै ३३ वटा फिल्मका लागि १८० वटा गीत कम्पोज गरेर गिनिज बुकमा नाम लेखाएका थिए बप्पीले


बलिउडका गोल्डमेन बप्पी लहरीलाई अभिनेता राजकुमारले भनेका थिए- ‘मंगलसूत्र पनि लाउनुस् !’

बलिउडका प्रख्यात संगीकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनले मुम्बईको जुहूस्थित क्रिटी केयर अस्पतालमा अन्तिम श्वास फेरे ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो । बलिउडमा ‘बप्पी दा’ भनेर चिनिने उनी संगीतकारसँगै कुशल गायक पनि थिए । उनी लोकप्रिय हुने अर्को कारण उनले लगाउने सुनका गहना पनि थियो । त्यहीकारण उनलाई ‘भारतको गोल्डमेन’ भनिन्थ्यो ।

राजकुमारले भनेका थिए- ‘मंगलसूत्र पनि लगाउनु पर्थ्यो !’

बप्पीले सुन लगाएको देखेर एकपटक अभिनेता राजकुमारले उनको मजाक उडाएका थिए । यो किस्सा एक पार्टीको हो । एक पार्टीमा संगीतकार बप्पीको भेट अभिनेता राजकुमारसँग भएको थियो । आफ्नो पुरानो बानी अनुरुप बप्पी सुनका धेरै गहना लगाएर त्यहाँ पुगेका थिए । त्यही समयमा राजकुमारले बप्पीलाई तलदेखि माथिसम्म हेरेका थिए । उनले आफ्नै शैलीमा सोधे- वाह, शानदार ! एक से एक गहना लगाएका छौ, मात्र मंगलसूत्रको कमी रह्यो । त्यो पनि लगाउनुपर्थ्यो । यो सुनेपछि बप्पी हेरेको हेरेकै भएका थिए ।

माइकल ज्याक्सन थिए बप्पीका फ्यान

केही वर्षअघि बप्पी ‘द कपिल शर्मा शो’मा पाहुनाका रुपमा आएका थिए । त्यहाँ उनले आफूले गलामा भगवान गणेशको सुनको लकेट लगाएको देखेर विश्वविख्यात माइकल ज्याक्सनले तारिफ गरेको बताएका थिए । ‘एक कार्यक्रममा जब माइकल ज्याक्सनसँग भेट भयो, उनले मेरो गलामा भगवान गणेशको लकेट देखे । अनि ‘फेन्टाष्टिक, यो निकै सुन्दर छ भने । उनले मेरो गीत ‘जिम्मी जिम्मी’को पनि तारिफ गरेका थिए’- बप्पीले बताएका थिए ।

गिनिज बुकमा नाम

बप्पीले एउटा अनौठो रेकर्ड कायम गरेका छन् । सन् १९८७ मा उनले ३३ फिल्मका लागि करिब एक सय ८० गीत कम्पोज गरेका थिए । एकै वर्षमा यति धेरै गीत रेकर्ड गरेबापत गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाएका थिए । उनले तीन वर्षको उमेरमा तबला बजाउन सिकेका थिए । ११ वर्षको उमेरमा त उनले संगीत दिन नै सुरु गरे । १३ वर्षको उमेरमा बलिउडमा स्थान बनाउनका लागि कोलकाताबाट मुम्बई आएका थिए । उनले ४८ वर्षको करियरमा करिब पाँच सय फिल्ममा ६ हजार गीत कम्पोज गरेका थिए ।