नक्कली प्रमाणपत्र बुझाएको ठहर भएपछि हरि खड्कालाई पाँच हजार जरिवाना

नक्कली प्रमाणपत्र बुझाएको ठहर भएपछि हरि खड्कालाई पाँच हजार जरिवाना


नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा सर्वाधिक गोलकर्तासमेत रहेका हरि खड्काले नक्कली प्रमाणपत्र बुझाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ।

हाल अखिल नेपाल फुटबल संघ (एन्फा) को एक विभागीय प्रमुख रहेका खड्काले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बुझाएको भन्दै साबिक भ्रष्टाचार निवारण र प्रचलित भ्रष्टाचार निवारण दुई आरोप सहित दण्ड सजाय हुन मागदावी लिएको थियो । सोही आरोपमा खड्का दोषी ठहर भएका हुन् ।

विशेष अदालतका न्यायाधीशद्वय अब्दिुज अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो । जसका कारण उनलाई पाँच हजार रुपैयाँ जरिवाना सुनाइएको छ ।

नेपाल प्रहरीमा जागिर खाँदा खड्काले नक्कली प्रमाणपत्र बुझाएको भन्दै अख्तियारले माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । खड्काले प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको अख्तियारले जनाएको थियो।