अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र ‘आगामी दिनमा’ यूक्रेनी भूगोलमाथि आक्रमण हुनसक्ने दाबी गरेका छन् ।
अमेरिकी गुप्तचर निकायले दिएको गोप्य जानकारीका आधारमा आफूले उक्त निष्कर्ष निकालेको र रूसले आक्रमण गर्दा सीमा क्षेत्रका यूक्रेनी गाउँ तथा शहरमात्र निशानामा नरहने वाइडेनको भनाइ रहेको छ । रूसको आक्रमणको निशानामा राजधानी किभ पनि पर्नसक्ने उनले बताएका एएफपीले जनाएको छ ।
यद्यपि, केही यूरोपेली मुलुक र अमेरिकाले भनेजस्तो रूसले आक्रमणको योजना बनाइरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको रूसी अधिकारीहरूले जिकिर गर्दै आएका छन् । यूक्रेनमाथिको आक्रमण गर्ने रूसी योजना रहेको र यसलाई आफूहरूले निस्तेज पारिदिएको भनी जश लिने दाउमा केही शक्तिराष्ट्रहरू लागिपरेको र ‘यूक्रेन आक्रमणबारे’ अफबाह मात्र फैलाइरहेको रूसी अधिकारीहरूको दाबी छ ।
रुसले युक्रेनका टुक्रिएका पूर्वी क्षेत्रमा बनाबटी सङ्कटहरू खडा गरेर त्यसलाई हमला गर्ने कारणका रूपमा प्रस्तुत गर्न सक्ने भय पश्चिमाराष्ट्रहरूको छ । अमेरिकाले एक लाख ६९ हजारदेखि करिव दुई लाख रुसी सैनिकहरू युक्रेन र वरपरका क्षेत्रमा भेला भइरहेको आँकलन गरेको छ । त्यसमा पूर्वी युक्रेनका स्वघोषित डोनिएत्स्क र लुहान्स्क गणतन्त्रहरूमा तैनाथ रुसी समर्थन प्राप्त लडाकुहरूको सङ्ख्या पनि जोडिएको छ ।
यसैबीच ह्वाइट हाउसबाट गरेको टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले रुसी फौजहरूले युक्रेनमा आगामी दिन वा हप्ताहरूमा आक्रमण गर्ने योजना बनाएको विश्वास गर्ने आधारहरू रहेको बताएका छन् । राष्ट्रपति पुटिनप्रति सङ्केत गर्दै उनले भनेका छन्, ‘अहिलेको क्षणसम्म आइपुग्दा म विश्वस्त छु कि उनले त्यस्तो निर्णय गरिसकेका छन् ।’
यसअघि अमेरिकी राष्ट्रपति र उनका उच्च अधिकारीहरूले यस्तो अवस्था रहे या नरहेको आफूलाई जानकारी नभएको बताउँदै आएका थिए । तर उनले रुसले अझै पनि कूटनीतिक बाटो रोज्न सक्ने र अहिले पनि तनाव कम गरेर वार्ताको टेबलमा फर्कन ढिला नभइसकेको बताए ।
यसअघि शुक्रबार रूसनिकट मानिने यूक्रेनी नेताहरूले युक्रेनले गोलाबारी बढाएको र हमला गरिरहेको भन्दै स्थानीयवासीको उद्धार गर्ने घोषणा गरेका थिए । तर, उक्त समाचारलाई युक्रेनले बारम्बार आफूले आक्रमणको कुनै योजना नबनाएको बताउँदै खण्डन गर्दै आएको छ ।
रुसले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा सन् २०१४ यता सशस्त्र विद्रोहलाई समर्थन गर्दै आएको छ । त्यहाँको द्वन्द्वमा १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया