आफैलाई चिन्न नसक्नेहरूलाई जनताले कसरी चिनुन् ?!

आफैलाई चिन्न नसक्नेहरूलाई जनताले कसरी चिनुन् ?!


बाबुको नाममा राजनीति गरेर कसरी टिक्ने ? समय धेरै अघि बढिसक्यो भन्ने अब हेक्का भयो होला । बाक्लो जुँगा-दाह्रीले मात्र नेता गनिँदोरहेनछ । कार्यकर्ता र जनतामा त ती शुन्य रहेछन् । यस्ता मानिसले आफूलाई नेता सम्झनु दुःखद् र हास्यास्पद मात्र ठहरिन्छ ।
  • मुक्तिनाथ खनाल

नेपालको राजनीति अब चाँडै चुनावी रापमा होमिँदै छ । सरकारी घोषणाअनुसार आउँदो ०७९ वैशाख ३० गते स्थानीय निकायको निर्वाचन हुँदैछ । हाम्रो संविधानअनुसार प्रत्येक पाँच वर्षमा निर्वाचन हुने प्रावधान रहेअनुसार स्थानीय निकायको चुनाव हुन लागेको हो । नेपाली जनता यतिबेला धेरै जागरुक छन् । पहिले-पहिले जस्तो चुनावमा मासुभात खुवाएर वा पैसा दिएर भोट लिउँला भन्ने कसैले सोचेको छ भने ऊ सम्भवतः मूर्ख बन्ने छ ।

यस्तो कला जान्ने र अझ पनि त्यही सपना देख्ने राजनीतिक पार्टीमा नेकपा एमाले अग्रस्थानमा छ भन्छन् । हुन पनि पूर्व प्रधानमन्त्री केपी ओलीको कुनै बेला भनाइ नै थियो- विरोधिहरूलाई अरिङ्गाल लगाउने ! ती अरिङ्गाल भनेका विभिन्न कदकाठीका सण्ड-मुसण्डहरू नै हुन्, जसलाई संरक्षण कसरी दिनुपर्छ भन्ने ओेलीजीलाई राम्रो ज्ञान छ । तर अब त्यस्ता अरिङ्गालसँग डराउने जनता छैनन्, बरु थोरबहुत के आशङ्का छ भने- नेकपा एमाले अर्थात् केपी ओलीको समूहसँग अनगिन्ती पैसा छ । त्यस गु्रपका माथिल्लो स्तरका नेताहरू जो धेरै काल पावरफुल मन्त्री पनि, भए त्यसबखत कसैलाई कुनै संस्थाको ठूलो पद वा कुनै देशका राजदूत नियुक्ति गर्दा ठूलै रकम लिएर नियुक्ति गरिन्थ्यो भन्ने चर्चा अहिले पनि चलिरहेको छ । त्यस्तै, सार्वजनिक ठूला–ठूला घरजग्गा, होटल, रिसोर्ट भाडामा दिँदा प्रशस्त रकम घुस लिएर पहिले भाडा लिएको म्याद बाँकी छँदै अरु थप धेरै वर्षको निम्ति सस्तो रकममा भाडामा दिएको आदि अजिबका ठूलै रकम लिनुदिनु भएको जस्ता कुरा प्रकाशमा आउँथ्यो । आर्थिक कमिसनका अन्य ठुल्ठूला घोटलाहरू पनि भएकै हुन् ।

‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न’ भन्दै आर्थिक सहयोग बिना कुनै काम नगर्ने एमालेका चटके नेताहरूलाई सबैले चिनेजानेकै छन् । अहिले उनै ठूलो स्वरमा कराउँदै, मुड्की बजार्दै लोकतान्त्रिक व्यवस्थाको मूख्य अङ्ग भनिएको संसद् नै महिनौँदेखि अवरुद्ध गर्दै संसदीय अभ्यासमा अवरोध खडा गरिरहेका छन् । भक्तपुरतिरका ओलीका अनुयायी ‘अरिङ्गाल’हरू त सुरु-सुरुमा विपक्षी सांसदहरूलाई हातपात गर्ने, सभामुखलाई आक्रमण गर्नेसम्मका गतिविधि गर्न पछि परेनन् । यस्तो छ यो देशका नेता हौँ भन्नेहरूको गतिविधि !

हुँदा-हुँदा आफै सत्तामा बस्ने र आफै सडक आन्दोलनमा कार्यकर्ता उतारेर उपद्रो मच्चाउने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने-गराउने निर्लज्ज र सत्तालिप्सामा चुर्लम्मै डुबेका पात्रहरू देशको बागडोर समाउने भए । यस्ता नौटङ्की पात्रहरूबाट शासित भएर नेपाली कहिले सुखी र समृद्धशाली हुने ? यो मृगतृष्णा मात्र हो ।

मानिसमा लाजशर्म नभएपछि जे गरे पनि हुने रहेछ । यस्तै छ हाम्रो यतिबेलाको राजनीतिमा । वास्तवमा केपी ओलीको गतिविधि अब आफैंमा हास्यास्पद लाग्न थालेको छ, जसको परिणाम आगामी चुनावमा जति नै पैसाको खेलेमेलो गर्न खोजे पनि नेपाली जनताबाट तिरस्कार मिल्ने अनुमान गर्दा अतिरञ्जना ठहरिने छैन ।

विडम्बनाको विषय हो कि नेपाल प्रकृतिको धनी भएर पनि हामी नेपाली सधैं गरिब छौँ र, नेताहरू भने पर्याप्त धनी छन् । उनका घर बङ्गला, विलासी गाडी, ठाँटबाँट हेर्दा राजा-महाराजाहरू नै फिक्का पर्दछन् । घुस-कमिसन नखाएको भए, भ्रष्टाचार नगरेको भए ती कम्युनिष्ट नेताहरू कसरी त्यस्ता भए ? हामी जनतासँग किन एउटा झुपडी छैन ? टुक्रो जग्गा छैन ? बिहान-बेलुका के खाउँ के लाउँ भन्ने जस्तो अवस्था कसरी किन भयो त ? हाम्रो जस्तो साना देश सिंगापुर, मलेसिया, हङकङले छोटो अवधिमा त्यस्तो प्रगति गरी अस्तिसम्म विकासोन्मुख भनेर हेलत्व गरिएको देश आज विकसित राष्ट्रमा गनिएका छन् । राम्रो देश बनाउन राम्रै नेतृत्व आवश्यक पर्दोरहेछ, यही मनन गर्दै अतः हाम्रो देशमा पनि अब राम्रो नेता खोज्नुपर्ने अपरिहार्य बन्न पुगेको छ । यही चिन्तनमा हामी नेपाली अबको चुनावमा पनि मासुभात वा सानोतिनो रकम, भोजभतेर तर्फ लाग्यौँ भने हामी यसरी नै सधैं पछि पर्नेछौँ ।

हुन तः स्थानीय संघ-संस्थाले पनि हामीलाई सुविधा भन्दा बढी शोषण गर्न थालेका छन् । स्थानीय जनप्रतिनिधिहरूलाई पनि ठूला महल, बिलासी गाडी आवश्यक पर्ने अरे ! तिनका धोको पूरा गरिदिन हामीले पनि अत्याधिक कर तिर्नुपर्ने भयो ! सुविधा कम अनि ट्याक्स धेरै, जिल्ला या पहाडतर्फका मानिस आत्तिएका छन् कर तिर्न नसकेर । जग्गा बाँझो छ आम्दानीको बाटो केही छैन । मानिसलाई छाक टार्न कठिनाइ छ, तर ट्याक्स भने बढ्दै गएको छ । यो समस्या कसरी हल गर्ने ? जग्गा जमिन, जंगल पहाडबाट कसरी उत्पादन बढाउने र लिने ? यसतर्फ कसैको अर्थात कुनै सरकार वा नेताको सोचाइ भएन अझै । यस्तै राजनीति रहिरहने हो भने स्थानीय निकाय या यी अनगिन्ती सङ्घीय संस्था नै अभिसाप सिद्ध हुनेछ । तिनीहरूलाई गरिब जनताले कति दिन पाल्ने ? तिमीहरूलाई कर कसले तिर्ने भन्दै यो सङ्घीय व्यवस्था नै अभिसाप बन्दै गएको छ भन्नेहरू निस्केका छन् । केन्द्रका ठूला–ठूला महल, बिलासी गाडीमा रम्ने नेताहरूले यो अवस्था देखेका छैनन् र देख्न पनि चाहँदैनन् । केन्द्रमा बसेर सङ्घीयताको सिद्धान्त र आदर्श छाँट्दैमा नेतामा गनिने सोचाइ पाइएको छ ।

नेपालआमाले नेता हुन लायक इमानदार व्यक्ति पनि नजन्माएकी होइनन्, तर त्यस्ता नेता जति पनि देखिए, केही गर्न खोज्दाखोज्दै तिनको अन्त्य भइदियो । आशलाग्दा नेताहरूको अविश्वसनिय, अकल्पनिय र रहश्यमयी ढङ्गले अन्त्य हुने घटनाहरू पनि सिर्जित गरिए ।

कहिलेकाहीँ विदेशीहरूसँग भेट हुँदा उनीहरू भन्ने गर्छन्- ‘तिमी नेपालीहरू ज्यादै सरल, शान्त, बोलीमा मिठास छ । सधैं मुस्कुराएर बोल्न जान्दछौ, तिनीहरूको देशमा उच्च र रमणीय हिम श्रृङ्खला छ, नदीनाला र असङ्ख्य झरना छन्, हराभरा जंगल र रमणीय पहाडले सुभोभित देश छ । शहरबजारमा ठूलाठूला घर गाडी गुडेका देखिन्छन्, पिकनिक र पार्टी चलेका छन् ! यी सबै भएर पनि तिमी नेपालीहरू भन्छौ कि हामी गरिब छौँ ! किन कसरी यस्तो भयो ? के तिम्रो देशका नेताहरू यसतर्फ सोच्दैनन् ?’ विदेशी नागरिकको यो ज्वलन्त सवालमा हामीले के जवाफ दिने ? जवाफ दिन नसकी हिस्स पर्नुबाहेक उपाय रहन्न ।

हाम्रो यस्तो प्राकृतिक धनी नेपालआमाले नेता हुन लायक इमानदार व्यक्ति पनि नजन्माएकी होइनन्, तर त्यस्ता नेता जति पनि देखिए, केही गर्न खोज्दाखोज्दै तिनको अन्त्य भइदियो । आशलाग्दा नेताहरूको अविश्वसनिय, अकल्पनिय र रहश्यमयी ढङ्गले अन्त्य हुने घटनाहरू पनि सिर्जित गरिए । हालको कुरा गर्ने हो भने नेता भन्न लायक एकैजना पनि राजनीतिक मैदानमा देखिएका छैनन् । हुँदा-हुँदा आफै सत्तामा बस्ने र आफै सडक आन्दोलनमा कार्यकर्ता उतारेर उपद्रो मच्चाउने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने-गराउने निर्लज्ज र सत्तालिप्सामा चुर्लम्मै डुबेका पात्रहरू देशको बागडोर समाउने भए । यस्ता नौटङ्की पात्रहरूबाट शासित भएर नेपाली कहिले सुखी र समृद्धशाली हुने ? यो मृगतृष्णा मात्र हो ।

अन्त्यमा हालै सम्पन्न काङ्ग्रेस महाधिवेशनसँग जोडिएका केही शीर्षपात्रहरूको सन्दर्भ कोट्याएर लेखनीको बिट मारौँ । आफूलाई वरिष्ठ नेता, बुद्धिजीवी, विवेकी नेता हुँ भन्ने रामचन्द्र पौडेल कति सानो छाती भएका स्वार्थी पात्र रहेछन् भन्ने छर्लङ्ग भएको छ । यस्ता व्यक्तिको बयान गरिरहनु अब आवश्यक पनि छैन । पार्टी-अधिवेशन तथा निर्वाचनमा उनी धेरै तल्लो स्तरमा गिरेको कुरा काङ्ग्रेस कार्यकर्ताहरू नै बताउँछन् । त्यस्तै शीर्षमध्येमै गनिने प्रकाशमान सिंहले पनि आफूले आफैंलाई चिन्न सकेका रहेनछन् । काठमाडौं उपत्यकाभन्दा बाहिर आफ्नो नेतागत अस्तित्व शुन्य रहेको भन्ने तथ्य उनले बल्ल बुझे । अर्का नेतापुत्र विमलेन्द्र निधिले पनि आफ्नो मूल्य कति रहेछ राम्ररी चाल पाए होलान् । बाबुको नाममा राजनीति गरेर कसरी टिक्ने ? समय धेरै अघि बढिसक्यो भन्ने उनलाई पनि हेक्का भयो होला । बाक्लो जुँगादाह्रीले मात्र नेता गनिँदोरहेनछ । कार्यकर्ता र जनतामा त ती शुन्य रहेछन् । यस्ता मानिसले आफूलाई नेता सम्झनु दुःखद् र हास्यास्पद मात्र ठहरिन्छ । अस्तु !