युक्रेनमा आपतकाल घोषणा, पुटिनले भने- ‘रुसी सेनामाथि पूर्ण भरोसा छ’

युक्रेनमा आपतकाल घोषणा, पुटिनले भने- ‘रुसी सेनामाथि पूर्ण भरोसा छ’


युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो ।

एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अप्नाउनेछ भने आवश्यक परेको अवस्थामा कर्फ्यू लागू गर्न सक्नेछ । पूर्वी युक्रेनमा विखन्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपतकाल घोषणा गरेको हो । बिखन्डनकारी क्षेत्रका नेताहरुले आफूसँग सहयोग मागेको रुसले दाबी गर्दै आएको छ ।

रुसी सेना पूर्वी युक्रेन शान्ति मिसनमा खटिनले मस्कोको भनाइ छ । तर, युक्रेनलगायत पश्चिमेली देशहरुले यसलाई मस्कोको अतिक्रमणको बहाना बताउँदै आएका छन् ।

रुसी कदमलाई लिएर पश्चिमेली मुलुकहरुले उमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । रुसी कदमको राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।

रुसी सेनामाथि पूर्ण भरोसा छ : पुटिन

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी चासो र सुरक्षाबारे वार्ता गर्न नसकिने बताएका छन् । थप रुसी सेना युक्रेनको सिमानानजिक पुगेको विवरण सार्वजनिक भइरहेका बेला राष्ट्रपति पुटिनको सो भनाइ आएको हो । रुस सीधा र इमान्दार वार्ताका लागि सधैं तयार रहेको बताउँदै पुटिनले सेनामाथि पूर्ण भरोसा भएको बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी आक्रमणको सुरु भएको बताएपछि पुटिनले भिडियो सम्बोधनमार्फत सो धारणा व्यक्त गरेका हुन् ।

ज्ञातव्य छ, अमेरिकालागायत पश्चिमा मुलुकहरुले रुसविरुद्ध विभिन्न प्रतिबन्ध घोषणा गरेका छन् । ‘हामीले रुसी सरकारलाई पश्चिमी वित्तिय सहायताबाट अलग गरेका छौ,’ रुसको सदनले पूर्वी युक्रेनमा सेना पठाउन त्यहाँको संसदले अनुमोदन गरेपछि बाइडेनले भनेका छन् ।

सोमबार मात्र पुटिनले पूर्वी युक्रेनको बिखन्डनकारी क्षेत्र दोनेत्सक र लुहान्सकालाई स्वतन्त्र राज्यको मान्यता दिएको थियो । यसैबीच, युक्रेनले आफ्ना सम्पूर्ण नागरिकलाई रुस छोड्न आग्रह गरेको छ ।