भिन्नता उनी र मबीचको

भिन्नता उनी र मबीचको


  • डिल्ली अम्माई

उनी मसँगै काम गर्छिन्
म पनि त्यहीँ काम गर्छु
हामी सहकर्मी हौँ
कामको प्रकृति एउटै हो
तर,
हामीमा धेरै फरक छ
उनले कसैको गल्ती देख्दा
वा अरुको अन्जान नादानीमा
मुखले केही बोल्दिनन्
फोन निकाल्छिन्
क्लिक क्लिक, फोटो खिच्छिन्
तुरुन्त मालिकलाई पठाउँछिन्
र आफ्नो कर्तव्यमा मख्ख पर्दै
मुसुक्क मुस्कुराउँछिन्
म त्यस्तो छैन,
मैले पनि उनको गल्ती भेट्छु
सहकर्मीको पनि नादानी भेट्छु
बिग्रिहाल्ने काममा संवेदनशील हुन्छु
नबिग्रिने काममा
आफैं रुमाल भिजाउँछु
लागेको टिका टक्क मेट्छु
उनको विवशता अनि
परोक्ष सीमा बुझ्छु
अरुलाई अवगाल पर्ने ठाउँ
एकपटक हेरेर
टक्क देखिने काँढा
बाटोबाट पन्छाउँछु
र, साथीको स्वाभिमानमा उज्यालो पोत्छु
मसँग पनि फोन छ
मसँग पनि क्यामरा छ
त्यसलाई,
खतराबाट बचाउन प्रयोग गर्छु
गल्ती देखाएर आफू चुलिनुभन्दा
दागलाई उडाउन रुमाल भिजाउँछु

फोटो त मैले पनि खिच्न जानेको छु
नोक्सानीको क्षतिपूर्तिमा
खरानीले प्रश्न सोध्ने बेला भयो भने
डर लाग्छ
मन सपनामा तैरेर
चंगा जस्तै बताससँग हिँड्न थाल्यो भने
कसैलाई अन्जान कुरामा तनाव दिनु
जुनेली छायाजस्तै मधुरो स्वाद
गल्तीको सियो तिखारेर
हिंसाले रगत बगाएजस्तै लाग्छ
त्यसैले उनी र म फरक छौँ
उनलाई,
कर्तब्यलाई नाङ्गो पारेर
सडकमा डुलाएको मन पर्छ
उनलाई,
भावना र स्वाभिमानलाई
तस्बिर बनाएर
चौबाटोमा सुकाएको मन पर्छ
उनको कर्तव्यमा मन हुँदैन
मेरो कर्तव्यमा मन हुन्छ
उनको बाटो क्यामराले देखाउँछ
मेरो बाटो भावनाको आँखाले,

त्यसैले उनी र ममा धेरै फरक छ
उनले र मैले सँगै काम गर्छौं
उनको कर्तव्यमा क्यामराभित्र तस्बिर हुन्छ
उनको कर्तव्यमा तस्बिरभित्र दाग
तर मेरो कर्तव्यमा प्रेम हुन्छ
प्रेमभित्र उसको सिंगो पौरख
उनीसँगको विश्वास र करुणा
अनि, दागरहित मानवता

उनी उनको ठाउँमा सही होलिन्
म मेरो ठाउँमा ठिकै हुँला,
केही छैन,
उनी दाग खिचेर राख्छिन्
म दाग मेटाउन हिँड्छु
उनले मालिकलाई तस्बिरसँग सजाएर
कुरा दिन्छिन्
मैले कर्तब्यसँग सजाएर
दागरहित प्रेम दिन्छु
उनको भावनामा कर्तब्य हुन्छ, प्रेम हुँदैन
किनकि उनको सम्वेदना सुकेको छ
युद्धको विभीषिकाले होला
उनको कर्तब्य घाइते छ
म हरियालीभित्र
प्रेम र कर्तब्य,
सम्वेदनाको तलाउमा
कमल झैँ फुलेको शहरमा हुर्कें
त्यसैले,
उनको जस्तो कर्तब्य ममा छैन
मेरो आनन्द उनीमा छैन
उनले देखाउँदा कर्तब्य सम्झिन्छिन्
मैले लुकाउँदा प्रेम सम्झन्छु
उनी पनि त्यही काम गर्छिन्
म पनि त्यहीा काम गर्छु
तर उनी र म धेरै फरक छौँ ।