युक्रेनलाई बेलायती राजपरिवारको पनि समर्थन

युक्रेनलाई बेलायती राजपरिवारको पनि समर्थन


युरोपेली संघको सदस्य बनाउन युक्रेनको आग्रह

युक्रेन र रुसबीचको भिडन्तमा बेलायती राजपरिवारले पनि युक्रेनलाई समर्थन गरेको छ । बेलायती राजकुमार विलियम र उनकी पत्नी केटले शनिबार युक्रेनलाई समर्थनको सन्देश पठाएका हुन् ।

‘बेलायती वरिष्ठ सदस्यहरू र आफूहरूको तर्फबाट युक्रेनका जनताप्रति समर्थन छ,’ राजकुमारको सन्देशमा उल्लेख गरिएको छ ।

राजकुमार दम्पतीले सन् २०२० को अक्टोबरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनकी श्रीमतीलाई भेटेको स्मरण पनि गरेका छन् । अहिलेको समस्या तत्काल समाधान भएर युक्रेनको भविष्य राम्रो हुने विश्वास राजकुमार दम्पतीले व्यक्त गरेको एएफपीले जनाएको छ ।

‘हामी तपाईंहरूको साथमा छौँ, तपाईंहरूलाई हामी सहयोग र समर्थन गर्न चाहन्छौँ, युक्रेनी जनताको जित होस्’, सन्देशमा उल्लेख गरिएको छ ।

यसैबीच युरोपेली संघको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ ।

युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो ।

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गरेको समाचारमा जनाइएको छ । यतिबेला सङ्कटपूर्ण अवस्था रहेकोले यसबारेमा धेरै छलफल र बहस नगरी युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाउन राष्ट्रपति जेलेन्स्कीले आग्रह गरेका छन् ।

शनिबार उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेअनुसार संघको सदस्यको जिम्मेबारी निर्वाह गर्न युक्रेन तयार छ ।