रुसी हमलामा २४० सर्वसाधारण हताहत भएको राष्ट्रसंघको भनाइ

रुसी हमलामा २४० सर्वसाधारण हताहत भएको राष्ट्रसंघको भनाइ


रुसी प्याराट्रुप्स बोकेको विमान खसालिएको युक्रेनको दाबी

युक्रेनमा भएको रुसी हमलामा कम्तिमा २४० सर्वसाधरण हताहत भएका राष्ट्रसंघले जनाएको छ । रुसी सेनाले युक्रेनका विभिन्न शहरमा हमला गरिरहेको छ । राष्ट्रसंघका लागि मानवअधिकारसम्बन्धी उच्च आयुक्त (ओसीएचसीआर) ले युक्रेन हमलामा कम्तिमा २४० सर्वसाधारणको हताहत भएको जनाएको छ ।

घरहरू र महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेकोले सयौँ मानिस पानी र बिजुलीबाट बन्चित भएको ओसीएचसीआर जनाइएको छ । राष्ट्रसंघका अनुसार १ लाख ६० हजार युक्रेनी आन्तरिक रुपमा विस्थापित भएर अन्तर्राष्ट्रिय सीमा पार गर्न लागिरहेका छन् ।

रुसी हमलामा ५० लाख मानिस शरणार्थी बन्न सक्ने युक्रेन सरकारको अनुमान छ । राजधानी किभभन्दा बाहिरी सहरमा रहेको भासीलकिभस्थिते तेल डिपो रुसी आक्रमणमा प्रभावित भएको छ ।

गोलाबारी र बम हमलामा क्षतिग्रस्त सो डिपोबाट विषालु धुँवा निस्किरहेको भन्दै राष्ट्रसंघले मानिसहरुलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी किभका बासिन्दाहरु यसअघि नै ज्यान जोगाउन भूमिगत आश्रयमा शरण लिइरहेका छन् ।

यस्तो छ युक्रेनी सेनाको दाबी

युक्रेनी सेनाले रुसी सेना चढेको एउटा सैन्य विमान राजधानी किभ नजिकै खसालिदिएको दाबी गरेको छ । रुसी प्याराट्रुप्स सवार विमानलाई किभबाट ४० किलोमिटर दक्षिणमा रहेको शहर भासीलकिभनजिकै खसालिदिएको युक्रेनी सेनाले दाबी गरेको छ । यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । रुसी सेनाले यसबारे कुनै टिप्पणी गरेको छैन ।

विमानबाट प्यारासुटमार्फत सेनालाई झार्न खोजिरहेको बेला रुसी आइएल-७६ एमडी सैन्य विमानलाई युक्रेनी लडाकु विमानले शनिबार खसालिदिएको त्यहाँको रक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा जनाएको छ ।

विमान निर्माता कम्पनीका अनुसार आइएल-७६ एमडीले १६७ जना सैनिक र बढीमा ७ जनासम्म चालक दलका सदस्य बोक्ने क्षमता राख्छ ।

युक्रेनका सैन्य कमान्डरले आफ्नो फेसबुक पेजमा रुसी सैन्य विमान खसालेको संकेत गर्दै सन् २०१४ मा रुसले युक्रेनी विमान खसालेको घटनाको स्मरण गरेका छन् । रुसी सेनाले गरेको हमलामा कुनै मानवीय क्षति नभएको समेत ती कमान्डरले दाबी गरेका छन् ।