‘पोथी बासेको मन पर्दैन है मलाई’

‘पोथी बासेको मन पर्दैन है मलाई’


जीवनमा आफ्नो प्रगति मात्र हेरेर हुँदैन, पहिलो प्राथमिकता परिवारलाई दिनुपर्छ भन्ने हेक्का राख्न नसक्दा एक आदर्श पत्नीको साथ छुट्यो । एक अहङ्कारी पुरुषवादी निकृष्ट सोचले हुँदाखाँदाको सुखी-खुशी परिवार तहसनहस हुन पुग्यो । अहङ्कारले आफ्नै संस्कार र सभ्यताको नाश गर्छ भनेको सत्य रहेछ ।
  • सुन्दर शर्मा

एकाबिहानै टिरिङ्…टिरिङ्… फोनको ! ढुकढुकी बढ्यो । दुःखद् समाचार सुन्नुपर्ने त होइन.. भन्ने सोचेर हात कमाउँदै फोन रिसिभ गरेँ । उताबाट मम्मी बोल्नुभो- ‘के छ छोरी खबर ?’ ईश्वर पुकार्दै सन्तोषको सास फेरेँ ।

आमा-छोरीको गफ चल्दै गर्दा मम्मीले एक्कासी भुपेन्द्र दाजुको कुरा उठाउनुभयो । ‘छोरी ! ती हाम्रो टोलका सचिव भुपेन्द्र लुइँटेल निकै बिमारी छन् रे त । यसो भेट्न जाउ न छोरी । ती बुढाबुढी सारै असल थिए । मेरो सुख-दुःखमा निकै काम आउँथे । भेटेर खबर गर है छोरी, यसैको लागि फोन गरेको । ’

मम्मीको कुरा सुनेर सोचमग्न भएँ, अनि विगत नियाल्न थालेँ ।

भुपेन्द्र लुइँटेल :

भुपेन्द्र दाजुको परिवार कुन ठाउँबाट बसाइँ सरेर हाम्रो गाउँमा आएको हो त्यो मलाई जानकारी छैन । लुइँटेल थर भएका उनीहरू मात्र थिए त्यो ठुलो गाउँमा । सामान्य आर्थिक अवस्था । भुपेन्द्रचाहिँ सानैदेखि पढाइमा अब्बल थिए रे । पढाइमा उत्कृष्टताकै कारण छोटो समयमा नै सरकारी नोकरीमा पास भएका थिए । मैले चिन्दा उनी जागिरे भइसकेका थिए । यस्तैमा उनको बिहे धनी परिवारकी जागिरे सुशील कन्या निरु गौतमसँग भयो ।

त्यो बिहेको सम्झना मेरो मानसपटलमा अझै ताजा छ । गहुँ गोरो छाला, खाइलाग्दो अग्लो ज्यान, हँसिलो र मीठासपुर्ण बोली । ब्यक्तिगत रूपमा खोट लाउने कतै ठाउँ नै थिएन । सानैमा उपसचिव हुन सफल, निकै हाइ हाइ थियो उनको । केटी पनि त्यस्तै सुशील परिन् । छिमेकीहरू माथिबाटै ईश्वरले बनाएको जोडी भन्दै प्रशंसा गर्थे । हुन पनि ती दुवैजना गाउँलेका आँखाका नानी थिए ।

बिहेपछि श्रीमान्को जता-जता सरुवा उतै आफ्नो सरुवा मिलाउनुपर्ने बाध्यता आइपऱ्यो निरु भाउजुलाई । दुई छोरा भएपछि दाजु पनि सचिवमा बढुवा हुनुभयो । भाउजुले बच्चा र परिवारको लागि भनी दाजुकै सल्लाहमा नोकरी छोड्नुभयो । लोग्ने-स्वास्नीमध्ये एकले घरपरिवार सम्हाल्ने जिम्मेवारी नलिने हो भने त सबै भताभुङ्ग भइहाल्छ भन्दै भाउजू घरमै ब्यस्त हुनुहुन्थ्यो खुशी-खुशी !

म काठमाडौं बस्न थालेदेखि बारम्बार बोलाउनुभा’को थियो । विविध कारणले म निरु भाउजुको निम्तो मान्न असमर्थ भइरहेकी थिएँ । २०७६ मा बल्ल भाउजुकोमा जाने लगन जुऱ्यो मेरालागि ।

०७६ जेठ ६ गते :

गेटभित्र पस्दै गर्दा पाले र कुकुरको स्वागत ! बाफ रे बाफ बगैँचाको सुन्दरता !! कसरी र कहाँबाट सुरु गरुँ वर्णन ? विभिन्न स्टाइलमा कटिङ गरेका धुपीका बोटहरू । कलात्मक सेरामिक्सका गमलामा रोपिएका रङ्गीचङ्गी फूलहरू । विदेशी आयातित विभिन्न प्रजातिका फूल र हरिया बिरुवाले सुसज्जित रमणीय बगैँचा । ठुलो खुल्ला ठाउँमा कार्पेट ओछ्याए जसरी काटेर एकसमान मिलाईएको हरियो चाइनिज दुबो । त्यो बगैँचा कुनै राज खानदानको भन्दा कम थिएन । त्यो बगैँचाले राजासाहेबहरूको झल्को दिन्थ्यो । बगैँचाको सुन्दरता र भब्यता देखेर एकछिन त आँखा तिरिमिरी नै भए । घरभित्रको सजावटको वर्णन म यहाँ गर्दिनँ, आफै अनुमान् गर्नुहोला । खाना खाइ भाउजू र म निस्फिक्री गफिन थाल्यौँ ।

निरु भाउजुले ब्यक्त गरेका केही दुःखेसो उहाँकै शब्दमा :

बिहेपछि दुई छोरा भए । नोकरी र घर-परिवार एकैसाथ लान सकिएन, त्यसैले नोकरी छोडेँ नानू । बच्चा र घर–परिवारमा म यति गहिरोसँग डुबेँ कि ६ वर्षपछि मात्र माइती गएछु । दुवै छोराले १२ पास गर्दासम्म हाम्रो घर स्वर्गसमान थियो । कसैको गुनासो थिएन । यहीँ बस्ने इच्छा हुँदाहुँदै पनि बाबाले उनीहरूलाई पढ्न अमेरिका पठाउनुभयो । बाबाकै रवाफको लागि मेरा छोरा विदेशिन बाध्य भए । अहिले उनीहरू उतै सेटल भइसके ।

यता दाजुचाहिँ दिन-प्रतिदिन पैसा कमाउने उद्योग खोल्न तल्लीन हुनुभयो । रातदिन उहाँको उठबस नालायक भ्रष्ट नेता र दलालसँग मात्र हुन थाल्यो । उहाँले भ्रष्टाचारमार्फत अकुत धन थुपार्न थाल्नुभयो । ‘यो गलत गर्दैहुनुहुन्छ है, भ्रष्टाचार गरि जोडेको सम्पत्तिले तपाईंलाई ध्वस्त बनाउने छ । यस्तो काम छोडिदिनु, खुरुखुरु जागिर मात्र गर्दा पनि खान पुगिहाल्छ’ भनी सम्झाउन खोज्दा ‘पोथी बासेको मलाई मन पर्दैन’ भन्दै उल्टो डोमिनेट गर्नुहुन्छ । उहाँको सङ्गत ठुल्ठुला भ्रष्टाचारीसँग बाक्लिँदै छ । मलाई यो पटक्कै मन परेको छैन ।

दाजु प्रायः प्रत्येक महिनामा विदेश भ्रमणमा जानुहुन्छ । कहिलेकाहीँ श्रीमतीलाई पनि घुमाउनु पुऱ्यो भन्ने सोच कहिल्यै पलाएन उहाँमा । अफिसमा विभिन्न सेमिनार भइरहन्छन् । प्रायः खाना बाहिरै हुन्छ । रातिसम्म बाहिरै रमाउने लोग्नेले घरमा बुढी एक्लै छ भन्ने सोच्दा रहेनछन् । सुत्नको लागि घरमा आयो, न गफगाफ, न केही भलाकुसारी न त केही सरसल्लाह । भोलिपल्ट एकाबिहानै ‘मिटिङ’ भन्दै हिँड्नै हतार ।

नानू ! न त लोग्नेसँग आफन्तको भोजभतेरमा उपस्थित हुन सक्छु, न त साथीभाइको भेटघाट कार्यक्रममा । बुडोसङ्ग मन्दिर जाने साइत पनि कहिल्यै नजुर्ने । कहिलेकाहीँ लोग्नेसँग खाना खान बाहिर जाने, बिदा मनाउन यसो कहीँ पर गएर रमाइलो गर्ने दिन कहिले आएन नानू मलाई । नारीको लागि प्रत्येक सुख-दुःखमा लोग्नेको साथ नै महत्वपूर्ण हुन्छ । धनले मात्र पति–पत्नीबीचको अन्तरङ्ग स्वप्निल सम्बन्धलाई पूरा गर्न सक्ने रहेनछ ।

यस्तै छ नानू हाम्रो दिनचर्या ! हाम्रो सम्बन्धमा हामी दुवै सहि छौँ होला तर ब्यक्तिगत रुपमा म सन्तुष्ट छैन । उहाँ दिन-प्रतिदिन दौलतको आहालमा चुर्लुम्म डुब्न लाग्नुभो, मेरो आपत्ति यही कुरामा हो । ‘गाउँटोलमा घुममिल गर्नु, पछि रिटायर्ड लाईफमा यिनै छिमेकी काम आउँछन्, घमण्ड गर्नुहुँदैन क्या..’ भनी सम्झाउन खोज्दा तिमी आइमाईहरू यस्तै सानातिना कुरामा अल्झिन्छौँ र त तिमीहरूको सोच पनि साँघुरो हुन्छ भन्दै अपमानित गर्नुहुन्छ । घरकी पत्नीलाई हरेक कुरामा अपहेलित र अपमानित गर्ने पढेलेखेका लोग्ने भनाउँदासँग घृणा लाग्छ नानू मलाई । पुरुषवादी सोचले धर्म र परम्पराका नाममा पत्नीमाथि सधैं शोषण र दमन गरेको देखिन्छ चाहे पढेलेखेका हुन् वा अनपढ ।

हेर न नानू दाजुको लागि घर-परिवार र पत्नीभन्दा पैसासहितको मानप्रतिष्ठा नै महत्वपूर्ण छ । मेरो चित्तदुःखाइ पनि यसैमा छ । महिलालाई मुठ्ठीमा राख्ने पितृसत्तात्मक सोच छ दाजुमा । कसैले पनि सम्बन्धलाई पैसामा तौलन थाल्यो भने पतन निश्चित छ । जब पतिको खुसीमा पत्नी नै सामेल हुन सक्दिन भने त्यो खुशी परिवारको लागि के काम ?!

माइतीघरकी एक्ली छोरी, पुतलीझैँ फुर्फुर गर्दै हुर्केकी म कस्तो कहालीलाग्दो जिन्दगी जिउँदै छु नानू । सबै चिज भएर पनि म नितान्त रित्तो छु एक्लो छु । घर सबै कुराले भरिपूर्ण भए पनि मैले यहाँ सन्तोषको सास फेर्न पाइरहेकी छैन । हेर नानू ! लोग्ने पढेलेखेको मात्र भएर हुँदैन रहेछ, विवेकी पनि हुनुपर्दोरहेछ ।

यस्तै गुनासोसहितको कुराकानीको बिट मार्दै बिदा भएकी थिएँ त्यो दिन ।

ए..हे ! म यतिन्जेल विगतको कुरा गर्दै थिएँ ।

मम्मीको आज्ञाअनुसार गत हप्ता भुपेन्द्र दाजुलाई भेट्न उनकै निवास पुगेँ…।

म घरमा पुग्दा भुपेन्द्र दाजु एक्लै हतास र अस्थिर मुद्रामा हुनुहुन्थ्यो । एक्लो र शून्य कोठामा पुराना यादहरू सम्झन खोजेजस्तो । अनगिन्ती नमिठा घटनाले थिचेजस्तो बेचैनी । घरी पर्दा हटाइ बाहिर हेर्ने, घरी सोफामा बसि निधार समाउने ! अजको क्रियाकलाप । नजिक पुगी सोधेँ- ‘दाजु के भयो हजुरलाई ? भाउजू खोइ ? नोकरहरू खोइ ?’

दाजु बिस्तारै बोल्न थाल्नुभो…

अफिसबाट सदाझैँ त्यो दिन पनि अबेर घर आएँ । घर सुनसान थियो । टाइगर र बेबी ( कुकुर) टोलाईरहेका थिए । माथि उक्लँदै गर्दा अनौठो आभास हुँदै गयो । म फटाफट बेडरुममा छिर्छु, तर त्यहाँ सदा झैँ मुस्कुराउँदै स्वागत गर्ने मेरी निरु थिइनन् । अचम्मित हुँदै सबै कोठा चाहारेँ, अहँ.. निरुलाई भेटिनँ । फोन लगाउँदा निरुको मोबाइल टेबलमा बजेको सुनियो । सबै आफन्त र साथीभाइकोमा सम्पर्क गर्दा पनि कतै पत्तो लागेन । यत्तिकैमा काम गर्ने भाइले गिलासमा पानीको साथै एउटा पत्र थमाएर गयो । पत्र पढिसक्दा पृथ्वी नै उल्टो घुमेजस्तो लाग्यो । त्यो साँझले मलाई नमिठो र चोटिलो प्रहार गऱ्यो । आज मसँग सानो-सानो कुरामा खुशी हुँदै मख्ख पर्ने जीवनसङ्गिनी छैनन् । मेरा हरेक कुरा पत्याउँदै दङ्ग पर्ने आज्ञाकारी पत्नी छैनन् ।

संयोग पनि कस्तो भने, तिजकै दिन मेरी निरुले घर छोडनुपऱ्यो । अबेरसम्म मलाई कुरेर सौभाग्यको टीका लगाइ पानी पिउने पतिब्रता निरु आज मसँग छैनन् । मैले मेरी निरुको निकै मन दुखाएछु बैनी । महापाप गरेछु ऊनीमाथि ।

बलिन्द्र आँसुको धारा चुहाउँदै आलमारीबाट पत्र झिकी पढ्न इशारा गरे ।

निरु भाउजुको पत्र :

प्रिय पतिदेव
असीम मायासहित मीठो सम्झना !

आज महिलाको महान् चाड तिजको दिन मैले घर छोडनुपर्ने भयो । परिस्थिति भनौँ या भाग्यमा यस्तै लेखेको रहेछ । ममा केही समयदेखि बेचैनी बढिरहेको थियो । दिनहुँ हतास र अस्थिर बन्दै गएँ । एक्लो र शून्यकोठामा अतीतका यादले सताउन थाले । अनगिन्ती नमिठा घटनाले डसेको महसूस हुँदै गयो । कहिले आफ्नो भाग्यलाई धिक्कार्थें त कहिले बाबु–आमालाई दोषी ठान्थेँ । कहिले असल जीवनसाथी बन्न नसकेको आफ्नो लोग्नेलाई नियाल्थेँ । कहिले मात्र लोग्ने बनी हैकम चलाउने पुरुषवादलाई सराप्थेँ ।

आज म हजुरलाई सुनाउन आतुर र हजुरले सुन्न तत्परता नदेखाएका जीवनका भोगाइ र चाहनाहरूलाई यही पत्रमार्फत सुनाउन चाहन्छु । भौतिकरूपमा त हजुरले मेरा मनका कुरा सुन्ने फुर्सद कहिल्यै निकाल्नुभएन ।

पतिदेव ! सुखद दाम्पत्य जिवनको लागि पति पत्नी ‘जीवनसाथी’ बन्न अति आवश्यक छ । पुरुषमा ‘म पति केही स्टेप माथि रहनुपर्छ र पत्नी केही स्टेप तल रही अनुशासनमा बाँधिनुपर्छ’ भन्ने सोच पैदा भयो भने दाम्पत्य जीवन कहिल्यै सुखमय हुँदैन भन्ने कुरा यति धेरै पढेको हजुरले बुझ्न सक्नुभएन । पति-पत्नी एकापसमा असल साथी बन्न सके मात्र त्यो वैवाहिक सम्बन्ध दीगो र अटुट रहन्छ भन्ने कुरा मैले हजुरलाई बुझाउन सकिनँ वा हजुरले बुझ्न चाहनुभएन । यो पश्चातापले मलाई पोलिरहेछ ।

बिहेपछि महिला मात्र ब्यवहारिक र अनुशासित बनिरहनुपर्ने अनि पुरुषले चाहिँ कुनै संस्कार पालन गर्नु नपर्ने आपसी सम्बन्ध दिगो बनाउन ? यो कस्तो बेमेलको संस्कार बसाएछन् समाजमा हाम्रा अग्रजहरूले ।

आफ्नो पतिभन्दा अरु कसैलाई सुनाउन नमिल्ले, भन्न नहुने जिन्दगीका अनगिन्ती पीडाहरू, कहिल्यै ठिक हुँदैनन् कि झैँ लाग्ने मनभरिका अदृश्य घाउ-चोटलाई म एक्लै सुम्सुम्याउन बाध्य भएँ ।

पतिदेव ! विभिन्न कथामा आफ्नै ब्यथा हुँदारहेछन् । पश्चातापका पनि कथा बन्दाहोलान् । परिबन्धका पनि कथा बनेका होलान् । कहिलेकाहीँ त घृणा र पीडाका कथा पनि अनायासै बनिदिन्छन् ।

पतिदेव ! हजुर त दुनियाँ देखेको वरिष्ठ सचिव भुपेन्द्र लुइँटेल मात्र बन्नुभयो । एक जीवनसाथी बन्नै सक्नुभएन वा चाहनुभएन ! हजुरमा प्रेम र सद्भाव भन्ने कुरा मर्दै गयो भने धन र दम्भपूर्ण ब्यक्तित्वको विकास हुँदै गयो । यतिका वर्षसम्म म जबर्र्जस्त मुस्कुराइरहँे । बाध्यताले रमाइरहेको अभिनय गरिरहेँ ।

जाउँ त कहाँ जाउँ ? माइती जाउँ भने हजुरको इज्जतको सवाल । न यहाँ शान्तिसँग बस्न सकेकी छु न त यी अब्यवहारिक जन्जिर तोडेर टाढा कतै जान नै सकेँ । म भित्रभित्रै जलेर राख भइरहेको, रित्तिँदै गएको हजुरले ख्याल राख्न सक्नुभएन, उल्टै लगातार नजरअन्दाज (उपेक्षा) गर्नुभयो । कुनै दिन त लोग्ने ‘असल जीवनसाथी’ बन्ला भन्दाभन्दै कपाल फुलिसक्यो । कुनै दिन त बिन्दास तरिकाले हाँसीखुशी रमाउँँदै सुख-दुःख एकापसमा बाँड्ने दिन आउला भन्दाभन्दै म हुनुको पहिचान नै मेटिन थाल्यो । तैपनि अहँ.. ! हजुरमा कुनै बदलाब आएन । यो सबै देख्दादेख्दै र भोग्दाभोग्दै पनि म विवश थिएँ सहन । मेरो जिन्दगी देख्नेलाई स्वर्ग छ तर म भोग्नेलाई मात्र थाहा छ वास्तबिकता ।

मनमा गुम्सिएर गुट्मुटिएका केही सुनाउनैपर्ने मेरा केही कुरा सुन्ने फुर्सद हजुरलाई कहिल्यै मिलेन । जति प्रेमको सुगन्धले सुगन्धित पार्न खोजे पनि हजुरमा पुरुषवादी सोच हाबी भइरह्यो । विवाह बन्धनमा बाँँधिदा हामी दुईले अग्नीसहितको मण्डप परिक्रमा गर्दैगर्दा शिरको सिन्दुर भन्दा गाढा माया पाउने आशा राखेकी थिएँ । कहिल्यै नटुट्ने आपसी विश्वास र कहिल्यै नछुट्ने पतिको साथको आशा थियो । हाम्रो सम्बन्ध अनन्तसम्म मुस्कुराउँदै फुलोस् फलोस् भन्दै प्रार्थना गरेकी थिएँ ।

‘बिहेको लगनमा सिउँदोमा भरेको सिन्दुरको निकै ठुलो मूल्य र मान्यता हुन्छ । यसको महत्वलाई सधैं उच्छ दर्जा दिनु छोरी ! यो सिन्दुर पति-पत्नी दुवैको आपसी सम्बन्ध र प्रेमको प्रतीक हो । यसलाई दुवैै मिली जोगाउनु’ भन्दै अन्माउने बेलामा आमाले बोलेको अहिलेझैँ लाग्छ । सिन्दुर मात्र जोगाउन सकेँ मैले, हजुरकै कारण आपसी प्रेम र सौहार्द्धपूर्ण वैवाहिक जीवन जिउने सौभाग्य प्राप्त गर्न सकिनँ । सिउँदोमा सिन्दुर त छ, यो पतिको प्रेमको निशानी हो कि एक अभिशाप हो बुझ्नै सकिनँ पतिदेव !

सुनको पिँजडासरि हजुरको आलिशान महलमा मेरा चाहना र सपनाहरू कसरी बन्द हुँदै गए बिस्तारै थाहा पाउनुहुनेछ । ज्यानको परवाह नगरी जति नै कर्तब्यपालन गरे पनि त्यसको प्रतिफल जब शून्य हुन आउँछ नि.. तब सबै ब्यर्थ र निरर्थक भएर जान्छ । हो यस्तै भयो मेरो जीवनमा पनि ।

अहिले मेरा आँखामा न बिछोडको रोदन छ न त भविष्यप्रतिको कुनै चिन्ता । केवल यस घडीमा म विवाह बन्धनमा बाँधिएको पल र सन्तानप्राप्तिको सुखद अनुभूतिको क्षण मात्र सम्झिरहेछु ।

पतिदेव ! यो जुनीमा हामी असल जीवनसाथी बन्न सकेनौँ, मात्र पति-पन्नी बन्यौँ । आशा छ अर्को जुनीमा एकसाथ जोडियौँ भने ‘उत्कृष्ट जीवनसाथी’ बन्ने प्रयत्न दुवैले गर्नेछौँ । हवस् त पतिदेव, हजुरको उत्तरोत्तर प्रगति चाहँदै मन गह्रौँ बनाएर घर छोड्ने कठोर पाइला चाल्दैछु । पाइला चाल्दैगर्दा मानौँ शरीरबाट आत्मा छुट्टिएजस्तो महसूस हुँदैछ । जे भए पनि जानु त पर्ने नै छ ।

हजुरको धन-दौलत, बङ्गला, गाडी-घोडा सबै छोडेर मात्र शरीरको एक थान कपडासँग म बाहिरिएकी छु । सम्पर्कको माध्यम मोबाइल पनि टेबलमै छ । कृपया मलाई खोज्ने कष्ट नगर्नु ।
उही हजुरकी जीवनसाथी बन्न नसकेकी पत्नी
निरु लुइँटेल
२०७७ भदौ १२ गते

पङ्क्तिकारको धारणा :

पत्नीले टोलका छिमेकीसँग हातेमालो गर्दै अपनत्वसहितको सम्बन्ध बनाउनु, टोल विकासको लागि सरकारी स्तरबाट सकेको आर्थिक सहयोग जुटाउनु । भोलि अवकासपछि समय बिताउने थलो यही टोल र, साथी भनेका यिनै छिमेकी हुन् भन्दै घच्घच्याउँदा पनि अहँ.. टोलको लागि उनले सिन्का पनि भाँचेनन् । उच्च ओहदामा बसेर जति गरे माफिया, नेता र आफ्नै लागि धन बटुल्ने काम मात्र गरे । आवश्यकता भन्दा बढी धनले मानसिक तनाव निम्त्याउँछ भन्ने पत्नीको महान् एवम् व्यवहारिक विचारलाई लत्याइरहे । पत्नीले यसो गर्नु उसो गर्नु भन्दै सुझाव दिँदा सधैं पोथी बासेको मन पर्दैन भन्ने भुपेन्द्र आज नितान्त एक्लो र निरीह छन् ।

जिन्दगीको यस्तो मोडमा पुग्नुपर्ला भनेर उनले सपनामा पनि चिताएका थिएनन् होला । आज उनको साथमा न परिवार छ न त ती भ्रष्टाचारी नेता जसको स्वार्थको लागि उनले काम गरिरहे । साथमा छन् त केवल आफूले जोडेको अकुत धन–दौलत, जोसँग न मनको पीडा पोख्न सकिन्छ न त एक्लोपनको सहारा लिन नै ।

पत्नीका कारण पति र पतिका कारण पत्नी सफल भए मात्र परिवार सफल बन्न सक्छ भन्ने कुरा नबुझ्दा आज भुपेन्द्र जिउँदो लाससरह छन् ।

जीवनमा आफ्नो प्रगति मात्र हेरेर हुँदैन, पहिलो प्राथमिकता परिवारलाई दिनुपर्छ भन्ने हेक्का राख्न नसक्दा एक आदर्श पत्नीको साथ छुट्यो । एक अहङ्कारी पुरुषवादी निकृष्ट सोचले हुँदाखाँदाको सुखी-खुशी परिवार तहसनहस हुन पुग्यो । अहङ्कारले आफ्नै संस्कार र सभ्यताको नाश गर्छ भनेको सत्य रहेछ ।

जहिल्यै ‘पोथी बासेको मन पर्दैन’ भन्ने भुपेन्द्रलाई पोथीको महत्व बल्ल थाहा भयो । पोथी बासे पनि भाले बासे पनि आखिर उज्यालो अर्थात् नयाँ दिनको सुरुवातको जनाउ दिने त हो नि ! के फरक पर्छ पोथी बास्दा ? आज भुपेन्द्रको घरमा त्यही पोथीको अनुपस्थितिमा सर्वत्र अँध्यारो छ । कतिबेला नयाँ दिनको सुरुवात हुन्छ थाहै पाउँदैनन् भुपेन्द्र । हरदम ‘पोथी बासेको मन पर्दैन’ भन्ने भुपेन्द्र लुइँटेललाई पोथीको महत्व के रहेछ- यतिबेला पल-पल अनुभव भइरहेछ ।