राजेश हमाल मौलापुर मधानी महायज्ञमा सहभागी हुने

राजेश हमाल मौलापुर मधानी महायज्ञमा सहभागी हुने


  • संजय मिश्रा, रौतहट

नेपाली चलचित्र जगतका सुपरस्टार ‘महानायक’ राजेश हमाल रौतहटस्थित मौलापुरमा आयोजना हुन लागेकोे मधानी महायज्ञमा सहभागी हुने भएका छन् । यही फागुन १७ गते मंगलबार मौलापुर नगरपालिकाको आयोजनामा मधानी महायज्ञको उदघाटन समारोहमा महानायक हमाल सहभागी हुन लागेका हुन् ।

रौतहटलगायत तराई क्षेत्रमा मनाइने भगवान शिवको विशेष अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञको विश्वव्यापी प्रचार गर्न पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हरेक वर्ष नगरपालिकाले महायज्ञको आयोजना गर्दै आएको छ ।

यस वर्ष शिवरात्रीको विशेष अवसरमा आयोजना हुने मधानी महायज्ञको उदघाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

महायज्ञमा नेपालका विशिष्ठ श्रेणीका राजनीतिक व्यक्तित्व सहभागी हुनेदेखि नेपाली तथा भारतीय चर्चित कलाकारहरुको सांस्कृतिक प्रस्तुति रह्ने आयोजकले जनाएको छ । महायज्ञमा भारतीय भोजपुरी सुपरस्टार खेसारीलाल यादव र रानी चटर्जी, भोजपुरिया गायक सुनिल पंडितसँगै नेपाली तथा भारतीय कलाकार सहभागी हुने बताइएको छ ।

झन्डै २ हजार वर्षभन्दा पुरानो पुरातात्त्विक महादेव मन्दिर केही वर्षअघि मौलापुर ५ पतौरास्थित स्थानीयले बारी खन्ने क्रममा भेटेको थियो । लगत्तै पूर्वमन्त्री प्रभु साहको पहलमा पुरातत्त्व विभागद्वारा उक्त मन्दिरको उत्खनन् गर्दा सुरुमा महादेव मन्दिर १३औं सताब्दी भन्दा पहिलेको रहेको ठहर गरिएको थियो । पछि मन्दिरमा विभागले गौतम बुद्धको जन्मभूमि लुम्बिनी तिलौराकोटमा भेटिएका अवशेषसँग मिल्दो अवशेष भेटेपछि मन्दिर २ हजार वर्षभन्दा पुरानो रहेको अनुमान गर्दै थप उत्खनन जारी राखेको छ ।

मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहको पहलमा उक्त महादेव मन्दिरलाई ब्यवस्थित गरी महाशिवरात्रीको अवसरमा पछिल्लो तीन वर्षदेखि मधानी महायज्ञ भब्यताका साथ आयोजना हुँदै आएको छ । मधानी महायज्ञको पहिलो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो भने दोस्रोपटक गत वर्ष तत्कालीन उपप्रधानमन्त्री इश्वर पोखरेल प्रमुख अतिथिका रुपमा सहभागी थिए ।

महायज्ञको अवसरमा मौलापुरमा पुरातात्त्विक महादेव मन्दिरमा सर्लाही, बारा, रौतहटलगायत सीमावर्ती भारतीय क्षेत्रबाट हजारौँ भक्तजन जल चढाउन आउने गर्दछन् । कतिपय स्थानीयवासीले पूर्ण निष्ठाका साथ भारतबाट गंगा जल ल्याएर उक्त मन्दिरमा चढाउने गरेका छन् । मधानी महायज्ञको अवसरमा मौलापुर पतौरा स्थित लाग्ने सप्ताहब्यापी मेलामा हुने गरेको धार्मिक तथा सांस्कृतिक कार्यक्रममा लाखौँ मानिसको सहभागिता हुनेगर्दछ ।