‘सोच्न अबेर भएन र ?’

‘सोच्न अबेर भएन र ?’


  • पुरुषोत्तम ढकाल

‘श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति’
मेरो पुस्ताको कखरा यहीँबाट यसरी नै सुरु भयो
व्रतबन्धको शपथ थियो गुरुमन्त्र ‘ॐ भूर्भुवः स्वः’
मन्दिर पुऱ्याइयो मलाई, म बनेँ हिन्दु सनातनी
बली दिएर पाप मोक्ष हुने म, मांसाहारी अघोरी
सिंधु घाटीमा रोकिएका अर्को भाइ मुसलमान
खतना बुर्का र लिङ्ग छेदनको प्रसव वेदनामा
कुर्बानीको नाउमा जन्नत सुधार्छ असङ्ख्य मारेर
इजिप्ट हुँदै यूरोप पसेका अर्को आमाका सन्तान
इसाई आइतबारको प्रार्थनामा बाइबल बोल्छन्
एउटी बालिका गुप्ताङ्ग छेदनपछिको पाशविक मुक्ति
रगतको होली खेल्दै परमेश्वरको नाउमा जिउँदै मर्छे
कमरेड कन्डोम बोकेर आउँछन् जितेजसै संसार
जसरी सावाँ अक्षर नबुझ्नेलाई जिससको मृगतृष्णा
साम्यवाद र समाजवादको लडाइँमा जिन्दगी हारेको कमरेड
पूर्वजहरूको मान्छे मार्ने क्रान्तिको पुरानो पुनरावृत्ति
रोजेर दक्षिणपन्थ र राष्ट्रवाद, खोजी-खोजी झुपडी जलाउँछ
एकतमास टोलाएको मेरो मन र हराएको मेरो मस्तिष्क
घरि-घरि प्रश्न गर्छ, यो वाद र धर्मले हाँकेको सभ्यतामा
मान्छेले मान्छे मार्ने शिलशिला-
यदि ब्रह्माण्ड साझा घर हो भने
धनी र गरिब जन्माउने र गोरुजस्तै मान्छे जुधाउने सत्ताविरुद्ध
कम्तिमा सवबले बाँच्न पाउने विकल्प खोज्ने बेला भएन र ?
एक पेट भरेर एक झप्को निर्धक्क निदाउने उत्कट अभिलाषा
हो, धर्म र वादको कालो चस्मा उतारेर सोच्न अबेर भएन र ?!

  • लस एन्जलस, संयुक्तराज्य अमेरिका