युक्रेनको दक्षिणी शहर खेरसन रुसी सेनाको हातमा

युक्रेनको दक्षिणी शहर खेरसन रुसी सेनाको हातमा


टेलिभिजन टावरमा रकेट हमला, पाँच जनाको मृत्यु

युक्रेनमा रुसी हमलाको सातौँ दिन युक्रेनको दक्षिणी शहर खेरसन रुसी सेनाको हातमा पुगेको छ । औषधी र खानेकुरालगायत खाद्यान्नको आपूर्ति सुनिश्चितताका लागि राष्ट्रिय सरकारलाई सहयोग गर्न सो शहरका मेयरले आह्वान गरेका छन् ।

रुसी सेनाको हमलामा २०० जनाको मृत्यु भएको स्थानीय परिषद्का एक सदस्यले जानाकारी दिएका छन् । मारिनेमध्ये अधिकांश सर्वसाधारण रहेको जनाइएको छ ।

उत्तरपश्चिमी युक्रेनी शहर जाइटोमायरमा आपतकालीन कर्मचारीहरुले रुसी सेनाको मिसाइल हमलामा आवसीय भवनमा लागेको आगो निभाइरहेका छन् । सो शहरमा चार जना मारिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ । किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ भने देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु भएको छ । खारकिभमा रुसी सेनाले तोप हमलालाई तीव्र पारेका छन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको दोस्रो ठूलो शहरको मुख्य चोकमा मंगलबार भएको रकेट हमलालाई ‘खुलस्त आतंक’ भनेका छन् । ‘कसैले पनि क्षमा दिँदैन । खरकिभमा गरिएको हमला युद्धअपराध हो,’ उनले भनेका छन् । खरकिभमा भएका हमलामा कम्तिमा ११ जनाको मृत्यु र दर्जनौँ घाइते भएको अधिकारीहरुले जनाएका छन् ।