पाँचौ ‘निफ’ भौतिक रूपमै आयोजना गरिने

पाँचौ ‘निफ’ भौतिक रूपमै आयोजना गरिने


पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैतमा भौतिक रूपमै आयोजना हुने भएको छ । चैतको १७ देखि २१ गतेसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा महोत्सव आयोजना गरिने फेष्टिभल चेयरमेन केपी पाठकले जानकारी दिएका छन् । यसअघि चैत्र १० देखि १४ गतेसम्म हुने भनिएकोमा प्राविधिक कारणले मिति परिवर्तन गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअल रूपमा गरिएको थियो । यस वर्ष पनि कोरोना जोखिमको कारण महोत्सव भर्चुअल गर्ने तयारी गरिएको तर कोरोनाको जोखिम कम हुनुका साथै राज्यले पनि सबै गतिविधिलाई खुला गरेको कारण तयारीको लागि छोटो समय हुँदा पनि भौतिक रूपमा गर्न लागिएको पाठकले बताए ।

महोत्सवको सह-आयोजक नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दहालले राज्यले गर्नुपर्ने चलचित्रसम्बन्धी यस्ता अन्तर्राष्ट्रिय महोत्सव निजी क्षेत्रबाट हुनु आफैमा ठुलो कुरा हो भन्दै बोर्डले निफलाई सरकारीस्तरबाटै सहयोग जुटाउन प्रयत्न गरिरहेको कुरा उल्लेख गरे भने महोत्सवका प्रमुख सल्लाहकार नीर शाहले पत्रकार सम्मेलनमा निफ जस्तो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाली चलचित्रको विकास महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् भन्दै यस महोत्सवमा प्रर्दशन हुने विश्वभरिका उत्कृष्ट चलचित्र हेरेर चलचित्रकर्मी मात्र हैन आम चलचित्रप्रेमी दर्शकले पनि धेरै कुरा प्राप्त गर्न सक्ने दाबी गरे ।

त्यस्तै वरिष्ठ चलचित्र निर्देशक तथा चौथो निफका जुरी हेड तुलसी घिमिरेले अन्तर्राष्ट्रिय महोत्सव गर्नु आफैमा चुनौती हो भन्दै यस्ता महोत्सवलाई निरन्तरता प्रदान गर्न सबै पक्षको सहयोग आवश्यक रहेको जिकिर गरे ।

सञ्चारकर्मीका विभिन्न सवालको जवाफ दिँदै निफ अध्यक्ष केपी पाठकले महोत्सव गर्नु आर्थिक रूपमा निकै जटिल रहेको उल्लेख गरे । विश्वसामु नेपाली चलचित्रको विकास प्रवद्र्धन गर्दै नेपाली पर्यटनलगायतका विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्न सक्ने भएको हुँदा राज्य र नेपालका कर्पोरेट हाउसहरूलाई सहयोगको लागि उनले आग्रह गरे ।

यस वर्षको महोत्सवमा ३८ देशका ८९ चलचित्रबीच प्रतिष्पर्धा हुने बताइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने छ । यसपटक चलचित्र हलमा भौतिक रूपमा प्रदर्शन हुनुको साथै अनलाइन माध्यमबाट पनि प्रदर्शन हुने जानकारी दिइएको छ ।

निफ-२०२२ पनि अघिल्ला संस्करणहरूझैँ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एक सशक्त फिल्म उत्सव बन्नेमा आफूहरू विश्वस्त रहनुका साथै महोत्सव अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरूको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रमसमेत सञ्चालन गरिने पाठकले बताए ।