सातदोबाटो युथ क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश

सातदोबाटो युथ क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश


टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका गोलरक्षक अभिषेक बरालले रोक्न सकेनन् । जावलाखेलका राजेन्द्र रावल र गौरव श्रेष्ठको प्रहार विपक्षी गोल रक्षक बरालले विफल गरेका थिए । सातदोबाटोका आकाश बुढामगर, प्रशान्त अवस्थी, कप्तान मानबहादुर तामाङ र विदेशी खेलाडी अजयी मार्टिनले टाइब्रेकरमा गोल गर्न सफल भए ।

विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलको तेस्रो मिनेटमै सातदोबाटोका लागि अजयी मार्टिनले गोल गरेका थिए । निरज चौधरीले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मार्टिनले ‘वान टच’मा गोल गरे । खेलको १३औँ मिनेटमा जावलाखेलले १र१ को बराबरी गऱ्यो । विदेशी खेलाडी निकोलस फर्नान्डेजको क्रसमा जुनियरले गोल गरे । खेलको ३५औँ मिनेटमा जुनियरले दोस्रो गोल गर्दै खेललाई २–१ को अन्तरमा पुऱ्याए ।

पहिलो हाफ २–१ मा टुंगियो । दोस्रो हाफको आठौँ मिनेटमा सातदोबाटोका आशिष राईले गोल गर्दै खेल बराबरीमा पारे । निरज चौधरीकै पासमा राई जावलाखेलका गोल रक्षक ईश्वर गुरुङ बिट हुँदा गोल गर्न सफल भए ।

पहिलो खेलको म्यान अफ दि म्याच सातदोबाटोका गोलरक्षक अभिषेक बराल घोषित भए । उनले नगद ९ हजार ९९९ नगद पाए । आइतबारको दोस्रो खेल नेपाल पुलिस क्लब र संकटा क्लबबीच हुने आयोजकले जनाएको छ । ३० फागुनसम्म हुने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पुरस्कार पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा नेपालका ८ र भारतका दुई क्लबको सहभागिता छ । पाँचौँ संस्करणको झापा गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे । झापा गोल्डकपका सदस्यसमेत रहेका ओलीले डोमालाल राजवंशी रंगशालको विकासमा र खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।