विश्व बल्लभलाई ‘विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड’

विश्व बल्लभलाई ‘विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड’


यस वर्षको ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७८’मा गीतकार विश्व बल्लभलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ ।

विन्ध्यावासिनी फाउन्डेसन र विन्ध्यवासिनी म्यूजिक कम्पनीले शनिबार राजधानीमा आयोजना गरेको ८औँ वार्षिक भेलाले गीतकार बल्लभलाई एक लाख रुपैयाँ राशीको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्ने निर्णय गरेको हो ।

भेलाले ‘विन्ध्यावासिनी संगीत साधना सम्मान २०७८’ लोक तथा आधुनिक गायिका तारा थापालाई सम्मान प्रदान गर्ने भएको छ । यो सम्मानको पुरस्कार राशी ५० हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी फाउन्डेसनका सल्लाहकार तथा गायक प्रेमध्वज प्रधानको नामबाट ‘प्रेमध्वज संगीत रत्न सम्मान’ स्थापना गर्दै यो सम्मान गायक अजर जंगमलाई प्रदान गर्ने घोषणा गरिएको छ । सम्मानको राशी २५ हजार रुपैयाँ छ ।

यसैगरी २५ हजार रुपैयाँ राशीको ‘विन्ध्यावासिनी कला पत्रकारिता सम्मान २०७८’ बाट पत्रकार श्याम स्मृतलाई सम्मान गर्ने निर्णय गरेको छ ।

१२औँ संस्करणको अवार्ड आगामी चैत २६ गते राजधानीमा आयोजना हुँदैछ । आयोजक संस्थाका सुवास रेग्मीले स्रष्टाको सम्मानका लागि आफुहरुले पारदर्शी किसिमले काम गरिरहेको बताए ।