कालापत्थरमा अन्तर्राष्ट्रिय महिला दिवस

कालापत्थरमा अन्तर्राष्ट्रिय महिला दिवस



यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस कालापत्थरमा विशेष किसिमले मनाउन लागिएको छ । ‘साथसाथै’ संस्थाको आयोजनामा उक्त दिन विश्वको अग्लो हिमाल सगरमाथाको कालापत्थर पुगी जलवायू परिवर्तन र महिला न्यायका विषयमा विश्वको ध्यानाकर्षण गराउने आयोजक संस्थाले जनाएको छ ।

‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ भन्ने मूल नाराका साथ विभिन्न क्षेत्रका ४० जना महिला संयुक्त रूपमा पदयात्रा गर्दै सगरमाथाको आधार शिविरमा पुग्ने भएका छन् । त्यसका लागि पदयात्रा सुरु भइसकेको छ । महिलाहरूलाई जलवायु परिवर्तनले पारेको प्रभाव र असरका बारेमा काला पत्थर घोषणा जारी गरिने आयोजक संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जानकारी दिएकी छन् ।

साथसाथै संस्थाद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ- ‘हामी जलवायु परिवर्तन जस्ता प्रकृतिले उब्जाएका ज्वलन्त समस्याको साथमा धेरै घरेलु र अन्तर्राष्ट्रिय चुनौतीहरूको सामना गरिरहेका छौँ । यस्ता, नकारात्मक प्रभाव विश्वव्यापी समस्या हो । हामी गरिब वा धनी देशमा वा शहरी रहनसहनमा होस कि गरिबीले ग्रस्त गाउँमा सबैतिरका बासिन्दालाई यो समस्याले पिरोलेकै छ । यसबाट कोही पनि उम्कन सक्दैन । यदि हामीले समयमै यसको चेतावनीलाई ध्यान दिएनौँ भने हामी सबैभन्दा बढी पीडित हुन्छौँ ।’

यस्तै, अभियान सातवटै प्रदेशमा पुग्ने लक्ष्य रहेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ- ‘हामी कालापत्थरका स्थानीय महिलाहरूसँग सहकार्य गर्छौं र जलवायु परिवर्तनबाट उत्पन्न समस्याको समाधान के हुन सक्छ भनेर बहस गर्नेछौँ । कालापत्थरको चुचुरोबाट हामी महिलाको आवाज उठाउँछौंँ र विश्वलाई सन्देश दिन्छौँ कि हामी हाम्रो हिमालय पग्लिनेलगायत त्यसका असरविरुद्ध जुट्न एकवद्ध छौँ ।’

जलवायु परिवर्तन जस्ता प्रकृतिले उब्जाएका ज्वलन्त समस्याबाट कोही पनि उम्कन नपाउने र समयमै यसको चेतावनीलाई ध्यान दिएनौँ भने नेपालजस्ता मुलुक सबैभन्दा बढी पीडित हुनेछन् । विश्वमा हरित ग्यास उत्सर्जनले तापमानमा आएको वृद्धिसँगै जलवायु परिवर्तनका विविध असर देखिने गरेका छन् । हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि बढ्दो तापमान र जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको छ ।

पछिल्लो अध्ययनअनुसार हिमालमा हिउँको भण्डार झण्डै २९ प्रतिशतले घटेको र हिमतालको सङ्ख्या ११ प्रतिशतले बढेको देखिन्छ । पृथक भौगोलिक अवस्था र विभिन्न उचाइमा अवस्थित परिस्थितिजन्य क्षेत्र, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जन, गरिबी, सीमान्तकृत समुदाय र न्यून क्षमताका कारण नेपाल विश्वकै सवैभन्दा संकटापन्न र जोखिमयुक्त मुलुकमध्येमा पर्न गएको देखिन्छ । यस विषयलाई विश्वको ध्यानाकर्षण गराउने पदयात्रा अभियानको उद्देश्य रहेको जनाइएको छ ।