शब्दार्थ !

शब्दार्थ !


(ब्यंग्योक्ति)

  • मधु शर्मा

चुनाऊ : भ्रष्टाचार, घुसखोरी तथा कमिसनतन्त्रको लागि वैधानिक इजाजत लिने २१औँ शताब्दीको विश्वब्यापी लोभतान्त्रिक परीक्षा ।

कर : रहर वा इच्छाले नभइ करले डरले, ‘सर्खार’को धम्कीले, कर-करले जनताद्वारा आफ्नो आम्दानीको हिस्सा बाँडफाँड गर्ने जस्तो गरि सरकारलाई कमिसनबापत बुझाउने रकम वा भौतिक बस्तु ।

सरकार : भिजन नभएको, इच्छाशक्ति मरेको, कामकुरो एकातिर कुम्लो (राज्य-धन) बोकी अर्कातिर (विदेशतिर पनि), सहनशीलता, मितब्ययिता नभएको, छलछाम, साम, दाम, दण्ड, भेद, विभेद, अभिमानी, सत्ता, शक्ति र स्वार्थहरूको झुण्ड, जनतालाई कार्यकर्ताको नाममा दास बनाइ हो हो पादरी पादरी.. गर्ने/गराउने ।

राजसंस्था : आगो बलेको पुरानो सतिसालको रुख जहाँ ज्वालो देखिँदैन तर धुँवा आइरहेछ । राप र ताप बढिरहेको छ ।

कम्युनिष्ट पार्टी : कम्युनिज्मको ‘क’ नभएका, बोलीमा राम ब्यवहारमा हराम, जन्मदाता (मार्क्स, लेलिन, माओ, स्टालिन) को फोटो शिरमा राख्ने तर श्राद्ध (श्रद्धा) कहिल्यै नगर्ने । सांस्कृतिक अतिक्रमणकारी, विचलनकारी, साम्राज्यवाद र विस्तारवाद मुर्दावाद भनेर सुरुङयुद्धको ध्वाँस दिइ दाजुभाइ लडाउने आफू खुसुक्क प्रभुका चरणमा दाम चढाउने त्वं शरणम् गच्छामी गर्ने । जनताका छोराछोरीलाई साम्राज्यवाद मुर्दावाद भन्दै लडाउने अनि आफ्ना छोराछोरी साम्राज्यवादीको पाठशाला (बेलायत अमेरिका) मा पढाउने । खुनखराबीको दुर्गन्धबाट उत्पति भएका, मान्छे मारेर शान्तिप्रिय भएका । धर्मलाई अफिम भन्ने तर साइत कुर्ने र बली दिने । संसारमा दुई जातका मान्छे मात्र हुन्छन् भन्ने तर जातका आधारमा राजनीति गर्ने । पुँजिवादविरोधि तर पुँजीका लागि मात्र राजनीति गर्ने । सडकमा हुञ्जेल भारत-अमेरिका मुर्दावाद सत्तामा पुगेसी जिन्दावाद !

काङ्ग्रेस : विचार नीति सिद्धान्त बीपीको र चिन्तनचाहिँ काङ्ग्रेस आईको । न जन्म देशमा भएको न देशका लागि भएको । माओवादीको रोडम्याप र एजेण्डामा झुण्डिएर सत्तामा पुग्न देश काल परिस्थितिलाई तिलाञ्जली दिएको । लिवरलर इकोनोमी भन्दै देशका सरकारी कारखाना बेचेर नामोनिसान मेटाएको । खोला-नदीनाला बेचेर सिध्याएको ।

विकास : पहिले रोल्पा-रुकुमबाट पिठौरागढ, नैनीताल, देहरादुन जान दुई-तीन हप्ता लाग्थ्यो, अहिले बढीमा दुई दिन । पहिला वैदेशिक रोजगारीमा दुई-चार देश जान पाइन्थ्यो भने अहिले पचासौँ देश जान पाइन्छ । पहिले चिनी, जुट, कागज, छाला जुत्ता, टायर, सलाइ आदि देशमै उत्पादन हुन्थ्यो, अहिले सबै किनेर ल्याइन्छ । पहिले घर बन्दछ अनि बाटो, बाटो बन्दछ अनि नाला, पिच गरिन्छ अनि फाइबर नेटवर्क, पानीको पाइप बिच्छ्याइन्छ । उबिण्डो काम । पुल भरसक खोलाबाहिर बन्छ, बन्दाबन्दै खोलाले अन्तै बाटो खन्छ, कतै पुल नबन्दै बल्ड्याङ खान्छ ।

ब्यापार : पहिले आफू किनेर अरुलाई बेच्ने कार्य । थोरैमा बेचेर धेरैमा, सस्तोमा लिएर महँगोमा, राम्रो लिएर मिसमास थपथाप गरेर आधा भाँडो अखाद्य बस्तुले भरेर बेच्ने कार्य । नयाँपन, दिगोपन र उत्पादित नभएको आयातित बस्तुको सातबारे हटिया ।

कानुन/न्याय : कानुन जानेबुझेका, पढेका, ठूलाबडाले लाखौँ खर्च गरेर जुन वकिल र न्यायाधीश किन्न सक्छन् त्यसबाट गच्छेअनुसार पाइने फल । गरिबको लागि, अदना दुःखीका लागि आकासको फल । आँखा चिम्लेर काम गरौँ त अभियोग लाग्ला भन्ने पीर र डरले न्यायाधीशका मनमा जो-जो पीडा, तरङ्ग, संशय पैदा हुन्छ त्यसको प्रतिफल ।

प्रसासन यन्त्र/संयन्त्र : जुन दल आयो जो कुर्सीमा उसकै तालमा उसका लठैत आसेपासे धुपौरेका जालमा परि जो-जो कहन्छन् सो-सो गर्ने । आफ्नो योग्यता क्षमता कार्यदक्षता अनुभवलाई लाभ र लोभले छपक्कै ढाकेर, केही नबुझेका मन्त्रीलाई नानाभाँती काम-कुरामा लबिइङ गरेर, पदोन्नति र सरुवा-बढुवाको गल्ली ढुकेर बस्ने बिरालाहरूको जमात । चोरलाई फुली, साधुलाई सुली दिने यन्त्र ।

कार्यकता : कुनै न कुनै दलको छाताभित्र ओतिएका, नेताको ठाडो आदेशमा गोरु झैँ जोतिएका, कोलमा तोरी पेलेझैँ पेलिएका, गोरुलाई गुरु ठान्ने, आफ्नो नेता गलत भए पनि सही देख्ने कालोलाई सेतो हो भने हो-हो त्यसै हो भन्ने, नेताको गोबरलाई गुँदपाक ठान्ने । सामाजिक चेत र ब्यक्तिगत विवेक नभएका । आफू नाङ्गो भएपनि पार्टीको झण्डा बेरेर हिँडेका, भोकैतिर्खै जिन्दावाद र मुर्दावादको नारा लाउन सक्ने । आफूलाई मन नपरे पनि अर्को विकल्प नखोज्ने, अर्को बाटो नरोज्ने, विदेशी वाद, दर्शन सिद्धान्त र विचार अनुसरण गर्न खोज्ने, देश, समाज, संस्कृति परम्पराको तेजोबध गर्ने । कार्यकर्ता भन्दै पार्टीले डामेर छाडेका साँढे । आत्मअनुसाशन र सहिष्णुता नभएका । झण्डा डण्डाको भरमा बन्द, हड्ताल चक्काजाम तोडफोड आगजनी गर्न सक्ने । जेलनेल परेर नेता हुने योग्यता बढाउँदै लागेका महान् र होनहार देशका सपुत । सडकमा हुञ्जेल सुस्ता, गोविन्दपुर, लिपुलेक सन्धि-सम्झौताबारे हर्कत देखाउने सत्तासीनका बारे सत्तोसराप गर्ने अनि आफू सत्ताामा पुगेपछि भने बोल्यो कि पोल्यो भनेझैँ गरी तैँ चुप मैँ चुप !