नेपाल खेलकुद महासंघले अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । ‘दीगो भविष्यका लागि लैङ्गिक समानता’ भन्ने मूल नाराका साथ मनाइएको यस वर्षको महिला दिवसका दिन महासंघले काठमाडौंमा ऱ्याली प्रदर्शन गरेको छ ।
महासंघका अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम)को नेतृत्वमा भृकुटीमण्डपबाट शुरु भएको ऱ्याली वसन्तपुर पुगेर सभामा परिणत भएको थियो । सो सभामा महासंघले विभिन्न खेल कौशल प्रदर्शनी गरेको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा अखिल नेपाल महिला संघको मूल आयोजनामा भएको उक्त कार्यक्रममा आत्मरक्षा र फिजीकल फिटनेससम्बन्धी कौशल देखाइएको हो ।
खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न

महासंघको मकवानपुर जिल्ला कमिटीले हेटौंडामा ‘समानताका लागि दौड’ भन्ने मूल नाराका साथ खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न गरेको छ । ३ किलोमिटर दूरीलाई १२ दशमलब ४३ सेकेण्डमा पार गर्दै अमृता मोक्तान प्रथम स्थान हासिल गर्न सफल भइन् । अमृताले १० हजार नगद पुरस्कार समेत प्राप्त गरिन् ।
त्यसैगरी रितिका तिमिल्सना १२ दशमलब ५४ सेकेण्डमा दौड सम्पन्न गर्दै दोश्रो स्थानमा रहेर ७ हजार नगद प्राप्त गर्न सफल भइन् । ४८ जना धावकले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा १३ दशमलब २३ सेकेण्डमा लक्ष्यमा पुगेकी लक्ष्मी थिङ तेश्रो हुँदै ४ हजार नगद हासिल गर्न सफल भइन् ।
बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री जुनेली माया श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न दौड कार्यक्रममा महासंघका महाधिवेशन आयोजक कमिटी सदस्य धरम बहादुर लामा तथा मकवानपुर जिल्ला अध्यक्ष सविन मुक्तान लगायतको सम्बोधन गरेका थिए ।
प्रतिक्रिया