मगन्ते संस्कृतिको पुस्तान्तरण !

मगन्ते संस्कृतिको पुस्तान्तरण !


‘अमेरिकाबाट यति भीख पायौँ, भारत र चीनबाट अझ बढी मागौँ’ भन्ने मनशायसहितको एमसीसी अनुमोदन घटनालाई इतिहासमा समेट्दा यसले मगन्ते संस्कृतिको पुस्तान्तरणलाई स्वीकार्दै ‘देशलाई स्वीटजरल्याण्ड बनाउन’ युवा पुस्तामा राज्यसत्ता हस्तान्तरण हुनुपर्छ भन्ने धारणा राख्नेहरूको मुखमा बुझो लगाइदिएको छ ।
  • नवीन देवकोटा

‘बुढा पुस्ताले विकासलाई गति दिन सकेन’ भन्दै राज्यसत्ता युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने धारणा राख्दै आएका धेरै एमसीसी (Millennium Challenge Compact) समर्थकहरू सामाजिक संजालमा वर्तमान प्रधानमन्त्रीको संयमताको तारिफ गरिरहेका छन् । प्रौढ नेताहरूले यस्तै योग्यता देखाउँदै गए राजनीतिलाई पेशा बनाएका युवा नेताहरूले प्रधानमन्त्री नभइ मरिने हो कि भन्ने त्रासमा बाँच्नुपर्ने हुन्छ । विद्यमान राजनैतिक घटनाक्रममा कोरकार गर्नुपूर्व छोटो आत्मकथा हालिहालौँ ।

भारतबाट स्नातकको परिक्षा सकी काठमाडौंमा अनिवार्य तालिम लिँदै थिएँ । ‘सामाजिक सेवा मन्दिर’ (हालको उपराष्ट्रपति भवन) निर्माण समितिका हर्ताकर्ताले तपाईंहरूकहाँ दुई जना अङ्ग्रेज काम गर्न आउनेवाला थिए, आए (?) भनेर सोधे; छैन भनेँ । कुरैकुरामा हामीकहाँ केही हप्ते तालिममा रहेका दोस्रो वर्षमा अध्ययनरत दुई स्वीस विद्यार्थीलाई उनले ‘विज्ञ अङ्ग्रेज’, मानेको पाएँ ! योरोपमा स्नातकोत्तर गर्दैगर्दा काठमाडौंस्थित एक आइएनजीओका नेपाली प्रमुखसँग भेट्नुपर्ने भयो; मागेको एक हप्तापछि मात्र भेट्ने समय पाएँ, गएँ । चलिरहेको बैठक लम्बिएर म बाहिर पर्खिरहेको अवस्थामा केही विदेशी पनि त्यहाँ आए । भित्र पसेर म आफ्नो परिचय दिँदै थिएँ; बाहिर विदेशीहरू पर्खिरहेका छन् भन्ने थाहा पाएपछि ‘ए उनिहरू पन्ध्र मिनटअगाडि नै आइपुगेछन्, सरी है भाइ’ भनेर मलाई बाहिर निकालियो ।

त्यस्तै, एक उच्च अधिकारीले आफ्नो निजी कामले बोलाए । मान्नुपर्ने नाता भएकोले हुँइकेर पुगेँ । एक विदेशीको असामयिक आगमन भएको रहेछ; कुनै सहयोग माग्न म त्यहाँ पुगेझैँ उनले मलाई पछि आउन भने ।

अर्को, अन्तर्राष्ट्रिय निकायमा काम गर्ने एक नेपाली प्राविधिकलाई हलुका ज्वरो आएको कारण विमानस्थलमा उनको सामान ओसार्न म सहयोग गर्दै थिएँ; उनका विदेशी हाकिमहरू आउनेवित्तिकै तिनको सामान ओसार्न उनि दौडिए !

यी घटनाहरूले समयरेखाका बिन्दुहरूको प्रतिनिधित्व मात्र हैन, तिनको प्रवाह प्रवृत्तिको चित्रण पनि गर्छन् । दासत्वको दाम्लोमा रमाउनेहरूका लागि ‘नेपाल यस्तै हो’; ‘नेपाल यस्तो हुनुपर्छ’ भन्नेहरूका लागि यी नैराश्यता तथा अवसादका स्रोत हुन् ।

देश शब्दको अर्थ नबुझ्नेले देश सिङ्गापुर जस्तै बनाउन सक्दैन, भीख मागेर त्यहाँको जस्तो सडक बन्ला, तर त्यो सडकमा थुक्नेलाई त्यहाँ जस्तै कारबाही गर्न सक्दैन । अर्थात्, मागेर हामीले आफूकहाँ सुन्दरता र सुविधा बटुल्न सकौँला; तर मगन्ते संस्कारको दुष्चक्रबाट उम्कन सक्दैनौँ । माग्नेको हात संधै तलै हुने हुँदा हामी संधै संसारका गरिव देशमध्ये एक नै रहिरहने छौँ । हाम्रै समाजमा भीख मागेर हामीभन्दा बढी छाती तन्काएर हिँडेका कोही भेटिँदैनन् । व्यक्तिगत होस् वा सामाजिक, विकास गर्नु भनेको कसैको कृपाले सुविधाहरू उपभोग गर्नु होइन; ती सुविधाहरू उत्पादन गर्न सक्ने क्षमताको विकास गर्नु हो । यसको लागि आफ्ना स्रोत-साधनहरूको सदुपयोग गर्ने दूरदृष्टि र मिहिनेत आवश्यक हुन्छ । झोले चरित्रका वा अशिक्षित नागरिकलाई आफ्नो वशमा राख्न देशलाई स्विटजरल्याण्ड बनाउने, मेलम्चीको पानीले शहरका सडकहरू धुनेजस्ता भ्रमात्मक दूरदृष्टि नेतृत्वले खल्तीमा बोकेर हिँडिरहेका हुन्छन् । युवाशक्तिलाई विदेशीको सेवामा सुम्पेर भत्ता पचाउन र नेपथ्यको स्थानीय प्रतिनिधिको रूपमा सत्ताबाट आफूलाई जायज-नाजायज फाइदा लिनमा व्यस्त नेतृत्वले नागरिकका एकल मिहिनेतलाई समेटेर देश बनाउने जमर्को गर्न आवश्यकै ठान्दैन । यो संस्कार तबसम्म निरन्तर रहन्छ, जबसम्म कुनै पुस्ताले पीडा सहनुपर्ने अवस्था सृजना हुँदैन । युरोप, जापान, भियतनाम आदिको विकास हुनुमा त्यहाँका कुनै न कुनै पुस्ताले पीडा सहेका छन् । उप्रान्त मिहिनेत गरेका हुन्; मागेर उक्सेका हैनन् ।

यही फागुन १५ गते संसद्बाट एमसीसी अनुमोदन हुँदाको घटनाले समाजलाई एउटा दोबाटोमा पुऱ्याएको छ । यो एमसीसी परियोजना दानमा प्राप्त भएको हैन, नेपाल ग्रोथ डायगोनिष्टिक (विकासको चिरफार) अनुसार निवेदन हालेर भीखमा ल्याएको हो भन्ने तर्क त यसका समर्थकहरूले आफ्नो पक्षमा नै राख्दै आएका छन् । प्रष्ट छ, दान स्वेच्छाले विनास्वार्थ दिइने प्रक्रिया हो भने माग्नु कुनै सुविधा प्राप्त गर्न स्वेच्छाले आफ्नो स्वाभिमान समर्पण गर्ने प्रक्रिया हो । जुन नेतृत्वले राज्य सञ्चालन संयन्त्रमा भ्रष्टाचार व्याप्त छ भन्दै त्यसको वैकल्पिक संयन्त्रको रूपमा दाताका शर्तहरू स्वीकारेर भीख माग्छ, त्यो नेतृत्वले आफ्नो भ्रष्ट संयन्त्र कहिले पनि सुधार्न चाहँदैन, सक्दैन । त्यो नै सुधारे त भीख माग्ने आधार नै रहन्न ! मुख्य कुरा, राज्यले संधै भीखमा यस्ता आयोजनाहरू मागिरहने हो वा त्यो संस्कार त्यागेर नयाँ बाटो लाग्ने भन्ने हो ।

आफ्नै दलका पहिलो पुस्ताका नेताहरूको धारणाविरूद्ध एमसीसी जस्ताको तस्तै संसद्बाट अनुमोदन हुनुहुँदैन भन्ने युवा नेतामार्फत नै ‘मागेर देश चलाउनु’ आफ्नो दलको संस्कृति रहेको प्रष्ट पार्दै अनुमोदन हुन नेपाली काङ्ग्रेसले राखेको प्रस्तावअनुसार एमसीसी संसद्बाट अनुमोदन भयो । यिनै युवा नेता त्यो दलका भोलिका पहिलो पुस्ताका मूख्य नेताहरूमध्ये एक हुने कुरामा, र यिनहरूको नेतृत्वमा स्वतन्त्र स्वावलम्बी नभएर आफ्ना भक्तहरूकै उत्पादन हुने कुरामा कुनै दुविधा छैन । व्याख्यात्मक टिप्पणीसहितको प्रस्तावमा चुप्पी साधेर एमसीसी अनुमोदन हुन सहयोग गर्ने नेकपा एमालेको नियत पनि सो दलले अवलम्बन गरेको मगन्ते संस्कृतिको ढुकुवा रूप मात्र हो; जसरी एउटा बगरेको पसलबाहिर कुनै जनावर ढुकिरहेको हुन्छ । युवाहरूले सडकबाट एमसीसीको विरोध गर्ने र पाकाहरूले सदनबाट त्यसलाई अनुमोदन गर्ने दलहरूको रणनीति मगन्ते संस्कृतिको ढोँगी रूप मात्र हो; जसरी एउटा भ्रष्ट अधिकारीले सार्वजनिक नीतिहरू कार्यान्वयन गर्छ र पर्दा पछाडि तिनै नीतिविरूद्ध नैतिकता बेच्छ ।

हाम्रो समाजमा स्वावलम्बी र मगन्ते संस्कृतिबीचको द्वन्द्व यो एमसीसी घटनाले मात्र सृजना गरेको होइन । महाकविको प्रकाशोन्मुख अङ्ग्रेजी निबन्ध सङ्ग्रह Beggars Everywhere (जताततै माग्नेहरू) को एक अंश ‘एक राष्ट्रको रूपमा हामीसँग न दूरदृष्टि छ, न आत्मनिर्भर हुने कुनै प्रयास छ । हामी अर्काको खुट्टालाई आफ्नो बैसाखीको रूपमा प्रयोग गर्न चाहन्छौँ । परनिर्भरताको यही साश्वत भावना नै हाम्रो मगन्तेपनाको प्राण हो’ले नै यो द्वन्द्वको आयु कमसेकम नेपालको लोकतन्त्रको इतिहास जति नै लामो छ भन्ने प्रमाणित गर्दछ । साथै, ‘अमेरिकाबाट यति भीख पायौँ, भारत र चीनबाट अझ बढी मागौँ’ भन्ने मनशायसहितको एमसीसी अनुमोदन घटनालाई पनि इतिहासमा समेट्दा यसले मगन्ते संस्कृतिको पुस्तान्तरणलाई स्वीकार्दै ‘देशलाई स्वीटजरल्याण्ड बनाउन’ युवा पुस्तामा राज्यसत्ता हस्तान्तरण हुनुपर्छ भन्ने धारणा राख्नेहरूको मुखमा बुझो पनि लगाइदिएको छ ।

अपवाद बाहेक मानिसको सोच युवावस्था र प्रौढावस्थामा फरक हुँदैन, सज्जन सज्जनै र दुर्जन दुर्जनै रहन्छ । मगन्ते विकास रणनीतिलाई त्याग्दै स्वावलम्बी विकास संस्कृति अँगाल्न नीति-निर्माताहरूलाई सचेत गराउनु प्रत्येक नागरिकको कर्तव्य हो; अटेर गरी विकृत राजनीतिका आडमा सत्तामा रम्नेहरूलाई सत्ताच्यूत गर्नु आगामी पिँढीप्रतिको हाम्रो उत्तरदायित्व हो । निर्णय हाम्रै हातमा छ ।