युक्रेनको राजधानी किभनजिकै पुग्यो रुसी सेना

युक्रेनको राजधानी किभनजिकै पुग्यो रुसी सेना


हरेक ३० मिनेटमा गोलाबारी, मेयरको अपहरण

युक्रेन आक्रमण गरिरहेको रुसी फौज राजधानी किभनजिकै पुगेको छ । राजधानी किभ रुसी सेनाको घेराबन्दीमा परेको राष्ट्रपतिका सल्लाहकारले जनाएका एजेन्सीहरुले उल्लेख गरेका छन् ।

रुसी फौज दक्षिणी युक्रेनको मेलिटोपोल शहरतर्फ बढेको र त्यस शहरका मेयरलाई नियन्त्रणमा लिएको प्राप्त विवरणहरुमा जनाइएको छ । ‘दश जनाको समूहले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपहरण गरेको छ,’ युक्रेनको संसदले ट्विटरमा भनेको छ, ‘उनले दुश्मनलाई सहयोग गर्न अस्वीकार गरे ।’

दक्षिणी बन्दरगाह सहर मारिओपोलमा रुसी सेनाले भीषण हमला गरेका छन् । रुसी फौजले घेरा गरेको सो सहरमा निरन्तर गोलाबारी र बम हमला भएका छन् ।

मारिओपोलमा हरेक ३० मिनेटमा गोलाबारी भइरहेको सो शहरका मेयरले बताएका छन् । सो शहरमा १२ सय जनाको मृत्यु भइसकेको बताइएको छ । खाद्यान्नको अभावमा मानिसहरु भोकभोकै बाँच्न बाध्य भएका छन् । शहरका सडकमा मानिसका शव यत्रतत्र छरिएका विवरणसमेत सार्वजनिक भएका छन् । मारिओपोलमा विगत ११ दिनदेखि पानी र बिजुली नभएको स्थानीयले जनाएका छन् ।

रुसी सेनाले तीन वटा क्षेप्यास्त्रद्वारा शुक्रबार मध्य शहर डिनिप्रोमा नागरिक भवनमा प्रहार गरेका थिए । हमलामा एउटा जुत्ता कारखाना ध्वस्त हुनुका साथै एक सुरक्षा गार्डको मृत्यु भएको थियो । रुसले २४ फेब्रुबरीमा युक्रेनमा आक्रमण गरेदेखि छिटपुट हमलामा परेको डिनिप्रोलाई यसअघि सुरक्षित आश्रय मानिएको थियो ।