धनगढीमा चैत ६ गते देखि राष्ट्रिय यू-१९ महिला क्रिकेट हुने, प्रथम पुरस्कार ५ लाख

धनगढीमा चैत ६ गते देखि राष्ट्रिय यू-१९ महिला क्रिकेट हुने, प्रथम पुरस्कार ५ लाख


धनगढीमा चैत ६ गतेदेखि राष्ट्रिय स्तरको यू-१९ मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

प्रतियोगिता सञ्चालन नेपाल क्रिकेट संघ (क्यान) सुदूरपश्चिम प्रदेश समितिले सञ्चालन गर्ने छ । प्रतियोगिता बारेमा जानकारी दिँदै क्यानका प्रदेश अध्यक्ष हरि रेग्मीले महिला क्रिकेटमा तल्लो स्तरका खेडालीको पहिचान र क्षमता अभिवृद्धि गर्न यू-१९ प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको बताए ।

‘सिनियर क्रिकेट प्रतियोगिता जताततै भइरहेका छन्, ‘उनले भने, ‘तर यू-१९ स्तरका महिला खेल खासै सञ्चालन हुन सकेका छैन, तर क्रिकेटको आधार यू-१९ नै भएका कारण त्यसलाई बलियो बनाउन खोजेका हौँ।’

प्रतियोगितामा ७ वटै प्रदेशबाट यू-१९ समुहको टोली सहभागि हुने उनले बताए । प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५ लाख तथा उप विजेता टोलीलाई ३ लाख प्रदान गरिने उनले बताए ।

क्रिकेटको राष्ट्रिय टोलीलाई बलियो बनाउन यू-१९ स्तरका घरेलु प्रतियोगिता हुन आवश्यक रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपकबहादुर सिंहले बताए । जबसम्म तल्लो स्तरबाटै स्तरिय खेडालीको पहिचान गर्न सकिंदैन तबसम्म राष्ट्रिय टोलीलाई बलियो बनाउन सकिंदैन,’ सिंहले भने, ‘प्रदेश सरकारले त्यही उद्देश्य अनुरुप यू-१९ महिला क्रिकेट सञ्चालन गर्न थालेको हो ।’ धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिता चैत ११ गते समापन हुने छ ।