ललितपुरमा दोस्रो मेयर कप फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

ललितपुरमा दोस्रो मेयर कप फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न



नेपाल बालकुमारी क्योकुशिन कराते संघले ‘दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०७८’ सम्पन्न गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनद्वारा उद्घाटन गरिएको प्रतियोगिता यही फागुन २७ र २८ गते आयोजना भएको हो ।

नेपालका विभिन्न जिल्लाबाट दुई सय खेलाडीको उपस्थिति रहेको प्रतियोगितालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मेयर महर्जनले आगामी वर्ष आयोजना हुने तेस्रो मेयर कप संस्करणको लागि आवश्यक बजेट ललितपुर महानगरपालिकाबाट आगामी वर्षको बजेट विनियोजन गर्दा रातो किताबमा नै उल्लेख गराउने प्रतिबद्धता व्यक्त गरे ।

ललितपुरको मंगलबजारस्थित हखामा आयोजना गरिएको प्रतियोगितामा पुरुष खुल्ला तौल समूहमा रुपक नेपाली प्रथम भए भने सनी सिंहलाई द्वित्तिय स्थान हासिल भयो ।

यस्तै, पुरुष ५५ केजी तौल समूहमा ओम तामाङ प्रथम र रोशन गोतामे दोस्रा भए । पुरुष ६० केजी तौल समूहमा हितेश रानामगर प्रथम र संजय कुमार गुप्ता देस्रा भए ।

यसैगरी, महिला ५० केजी तौल समुहमा शान्ति थापामगरलाई पहिलो स्थान हासिल भयो भने एकता कुमाल दोस्रो भइन् ।

महिला ५५ केजी तौल समुहमा रोहिणी कस्ती प्रथम र वन्दना तामाङ दोस्रो भइन् भने महिला खुल्ला तौल समुहको प्रथम स्थान मन्जु विक र दोस्रो स्थान सुष्मिता सुनुवारले हात पारिन् ।

प्रथम हुने हरेक खेलाडीलाई सिल्ड र प्रमाणपत्रका साथ नगद रू. १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो स्थानमा रहेकालाई पाँच हजार नगदबाट पुरस्कृत गरिएको थियो ।

दोस्रो दिनको प्रतियोगिता समापनपछि पुरस्कार वितरण गर्ने क्रममा ५० हजार नगद रहेको ‘स्वर्गीय रामजी प्रसाद बज्राचार्य स्मृति पुरस्कार’ प्रथम हुने महिला तथा पुरुष ६ जनामध्येबाट गोलाप्रथामार्फत छनोट गर्दा नेपाल आर्मीकी शान्ति थापामगरलाई हासिल भएको थियो । उक्त पुरस्कार पहिलो पटक वितरण गरिएको आयोजक पक्षले जनाएको छ ।