रुसलाई सहयोग गरे चीनलाई अमेरिकाले आर्थिक दण्ड दिने

रुसलाई सहयोग गरे चीनलाई अमेरिकाले आर्थिक दण्ड दिने


अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका एक उच्च कूटनीतिज्ञलाई भेट गर्दैछन् । सुलिभानले चिनियाँ कूटनीतिज्ञ याङ जियिचीलाई आज सोमबार इटालीको राजधानी रोममा भेट गर्न लागेका हुन् ।

भेटका अवसरमा दुई नेताबीच युक्रेन युद्धबारे छलफल हुने जनाइएको छ । सुलिभानले युक्रेन युद्धमा रुसलाई सहयोग गरेमा बेइजिङलाई आर्थिक दण्डको चेतावनी दिन सक्ने रोयटर्सले जनाएको छ ।

चीनले रुसलाई निरन्तर सहयोग गरेमा उसलाई विश्वव्यापी रुपमा एक्ल्याउने सुलिभानले चेतावनी दिने एक अमेरिकी अधिकारीलाई हवला दिँदै सो समाचार संस्थाले जनाएको हो ।

अमेरिका र अन्य देशका अधिकारीहरूले पछिल्ला सातामा चीनलाई स्पष्ट पार्न खोजेका छन् कि रुसको पक्षमा रहँदा उसले व्यापार प्रवाह र नयाँ प्रविधिको विकासमा मूल्य चुकाउनुपर्नेछ ।

यसअघि अमेरिकी वाणिज्यमन्त्री जीना रेमन्डोले रसिया निर्यातमा अमेरिकी प्रतिबन्धको उल्लंघन गर्ने चिनियाँ कम्पनीहरूले आफ्ना उत्पादनहरू बनाउन आवश्यक पर्ने अमेरिकी उपकरण र सफ्टवेयरबाट काट्न सक्ने चेतावनी दिएकी थिइन् ।

यसअघि रुसले युक्रेनमा लडाइँ गर्न चीनको सैन्य सहयोग मागेको एक अमेरिकी अधिकारीले दाबी गरेका समाचार सार्वजनिक भएको थियो । ती अधिकारीलाई उदृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार पश्चिमा देशहरुले प्रतिबन्ध लगाएको पृष्ठभूमिमा रुसी प्रशासन केन्द्र क्रेमलिनले चीनलसमक्ष सैन्य सहयोगका लागि अनुरोध गरेको होे । ती अधिकारीले चीनसँग मागेको हतियारबारे भने केही खुलासा नगरेको बताइन्छ ।

भिसा र मास्टरकार्डले रुसमा सञ्चालन बन्द गरेपछि चिनियाँ सरकारी स्वामित्वको युनियनपे र रुसको मिर जस्ता भुक्तानी प्रणालीहरूद्वारा सञ्चालित ‘को व्याज्ड’ कार्डहरू जारी गर्ने सम्भावनाबारे रूसी बैंकहरूले चिनियाँ समकक्षीहरूसँग सम्झौता गरका रिपोर्टहरु यसअघि नै आइसकेका छन् ।

मस्कोले चीनसँग हतियार मागेको भन्ने रिपोर्टलाई चीनले अस्वीकार गर्दै आएको छ । अमेरिकास्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेनग्वायुले भनेका छन्, ‘त्यसबारे मैले केही सुनेको छैन ।’

‘अहिलेको मुख्य प्राथमिकता तनावपूर्ण अवस्थालाई नियन्त्रण बाहिर जानबाट रोक्नु हो । चीनले अत्यधिक संयम अपनाउन र ठूलो मानवीय संकटलाई रोक्न आह्वान गरेको छ’ दूतावासको विज्ञप्तिलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।