शहीद स्मारक ए डिभिजन लिग फुटबलका असन्तुष्ट चार क्लबले फुटबल खेल र खेलाडीमा दुर्घटना हुन नदिन एन्फालाई चेतावनीका साथ आग्रह गरेका छन् । शीर्ष डिभिजनको संकटा क्लब, न्युरोड टिम एनआरटी, थ्री स्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएका हुन् । ‘एन्फाबाट भएको त्रुटीका कारण भविष्यमा फुटबल खेल र खेलाडीहरूमा कुनै दुर्घटना नहोस्’- उल्लिखित चार क्लबले एक विज्ञप्तिमार्फत् भनेका छन् । मनाङले कीर्तिमानी आठ पटक, एनआरटीले पाँच पटक अनि संकटा र थ्री स्टारले समान तीन-तीन पटक शीर्ष डिभिजन लिगको उपाधि जितिसकेको छ । लिग चलिरहेको अवस्थामै नेपाल सुपर लिग (एनएसएल) आयोजना हुने मिडियाबाटै थाहा भएको चार क्लबले जनाएका छन् ।
‘नेपालको फुटबल विकासमा गौरवमय इतिहास बोकेका क्लबहरू निरन्तर सक्रिय रहिरहेको अवस्थामा क्लब हरूको अस्तित्वलाई नै समाप्त पार्ने खालको षडयन्त्रसहित लागेको आभाषसहित ए डिभिजनका क्लबहरूले संयुक्त वक्तव्यमार्फत र अखिल नेपाल फुटबल संघलाई फिफा नियमानुसार आफूहरूसँग खेलाडीहरूको अनुबन्धन बाँकी रहेको अवस्थामा खेलाडी बोलकबोल नगर्न र कसैलाई गर्न नदिनु भन्ने आशयले अनुरोध र चेतावनीसहितको पत्र सामाजिक संजालमार्फत र एन्फा कार्यालयमा दिई सचेत गराएको थियो । एन्फाको क्यालेण्डरमा नसमेटिएको प्रतियोगिताबाट गरेको गैरकानुनी कार्यलाई एन्फाको आकस्मिक बैठकबाट रोक्नु भन्ने निर्णय गरी एन्फाका महासचिवको हस्ताक्षरबाट गरेको आधिकारिक आदेशलाई नै अटेरी गर्ने आयोजकको रवैयाले समग्र फुटबल क्लबहरू अहिले त्रसित बनेको अवस्था छ’- विज्ञप्तिमा भनिएको छ ।
‘अखिल नेपाल फुटबल संघको इतिहास नै हेर्ने हो भने पनि क्लबहरू पटक-पटक एन्फा नेतृत्वबाट ठगिएका र पिल्सिएका छौँ । वर्तमान अवस्था नेपालको फुटबल र खेलाडी हितमा नरहेको पटक-पटक एन्फा नेतृत्वलाई बुझाउँदा एन्फा पदाधिकारीहरूले आफ्नो गल्ती क्लबहरूसँगको बैठकमा स्वीकार गरेको थियो । आफ्नो गल्ती स्विकार गरेको अवस्था रहे पनि यसप्रति कुनै पहल नगर्नु र बोलकबोल रोक्न भनि एन्फाले पठाएको पत्रलाई आधिकारिक पत्र नमान्ने केन्द्रिय सदस्यलाई समेत कुनै कारवाही नगर्नु, एन्फा अध्यक्षको एकल हस्ताक्षर र विनामितिको सम्झौतापत्र र यसमा एन्फाका अन्य पदाधिकारीहरूबाट अनभिज्ञता प्रकट गर्नु हामी सबैको लागि घोर आश्चर्यको विषय थियो । यति धेरै वर्ष सम्म उक्त सम्झौता सबैबाट लुकाएर राख्नु, एन्फा क्यालेण्डरमा रहेको राष्ट्रिय लीग गर्न नचाहनु, अहिले भइरहेको मोफसल प्रतियोगिताहरूलाई वेवास्ता गर्नु र एएफसी कपलाई समेत प्रभावित पार्ने खालका गतिविधि जस्ता धेरै कारणहरूबाट एन्फा नेतृत्वले चालेको कदमप्रति खेद प्रकट गर्दै नेपालको फूटबलको भविष्य प्रति हामी अत्यन्त चिन्तित छौ ।’
यस्तै क्लबले एन्फाबाट भएको त्रुटिका कारण भबिष्यमा फूटबल खेल र खेलाडी हरूमा कुनै दुर्घटना नहोस् भन्ने कामना साथ खेल, खेलाडी र राष्ट्रप्रति सदा बफादार रहि आफ्नो जिम्मेवारी र कर्तव्य पालनामा कायम रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया