यस्तो छ युवा तताउने ‘चिसो एस्ट्रे’

यस्तो छ युवा तताउने ‘चिसो एस्ट्रे’


  • राजन घिमिरे

कुनै पनि चलचित्रले निश्चित गन्तब्य समात्न सक्नुपर्छ । कथाको मर्मलाई मर्न नदिएर कथाले बोकेको उद्देश्य वा अभीष्टलाई अन्तिमसम्म बगाउन सक्नु नै त्यो चलचित्र निर्देशकको खुबी वा दक्षता मानिन्छ । यस सवालमा चलचित्र ‘चिसो एस्ट्रे ‘का निर्देशक दिन्स पाल्पाली सफल देखिएका छन् ।

ठूलो सपना, लक्ष्य वा उद्देश्य बोकेर राजधानी काठमाडौं छिरेको युवालाई संगत अनि परिवेशले कहांसम्म पुऱ्याउँछ र कस्तोसम्म बनाउँछ भन्ने यस चलचित्रले स्पष्ट देखाएको छ । चलचित्र चिसो एस्ट्रे हेर्दा काठमाडौं छिरेर सपना देख्ने धेरै युवाहरूलाई आफ्नै कथा हेरेजस्तो लाग्न सक्छ ।

भनिन्छ नि बिन्दास लाइफ ! यस्तै बिन्दास कथा र प्रस्तुतिमा अगाडि बढेको यस चलचित्रमा यूयुवाको पीडा, ब्यथा अनि आत्मसम्मानका पाटाहरूलाई पनि निकै बेजोड तरिकाले उठाइएको छ ।

साहित्यकार भूपी शेरचनको कविताको मर्मलाई कथामा उतार्नु कम जोखिम थिएन । आफ्नो चलचित्र निर्देशनको पहिलो खुड्किलोमा नै यस्तो ‘रिक्स’ उठाएका निर्देशक दिन्स पाल्पालीको कामलाई चलचित्र हेरेर कवि स्वर्गीय भूपी शेरचनकी धर्मपत्नीले स्याबासी दिएपछि निर्देशकको कामको झनै खुलेर तारिफ गरिन थालिएको छ । चैत्र ४ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको यो चलचित्रमा लागानी गरेर निर्माता महेशबाबु तिमल्सिनाले युवाहरूको साथ पाएका मात्र छैनन् कि नेपाली कलाकारिता क्षेत्रमा केही नयाँ गरौं भनेर आएका युवाहरूको जोश र जाँगरमा ज्यान पनि भरिदिएका छन् ।

‘हामीमाथि यसरी आँखा चिम्लिएर विश्वास गर्नुहुने महेशबाबु तिमल्सिनालगायतका निर्माताहरूप्रति हामी नतमस्तक छौँ’, निर्देशक पाल्पालीले भने । उनले अगाडि थपे- ‘सस्ता र मसालेदार चलचित्र निर्माणमा लगानी बढीरहेको आजको अवस्थामा युवाको कथा, रोदन र पीडामाथिको यस कथामाथि लगानी गरेर निर्माताले हाम्रो मनोबल बढाइदिनु भएको छ ।’

चलचित्र हेरेपछि हात परेको सकारात्मक प्रतिक्रियाबाट निर्माता महेशबाबु पनि निकै उत्साहित देखिए । उनि भन्दै थिए- ‘साहित्यको अशंलाई पनि चलचित्रको रूप दिन सकिन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गर्न सकिएकोमा निकै गौरव लागेको छ । चलचित्रले ब्यवसाय कस्तो गर्ला, त्यो पछिको कुरा हो । तर युवाहरूको सपनामा मडारिएको पीडा र ब्यथाको कथालाई युवाहरूसँगै हातेमालो गर्दै चलचित्र बनाउन पाएकोमा भने सन्तोष मिलेको छ ।’

चलचित्रको पर्दामा उपस्थिति जनाएका कलाकारहरूको प्रस्तुति एकसेएक भइदिँदा दर्शकहरूलाई यो चलचित्रले हलमा बाँधिरहन सक्छ भन्ने कुरामा दुई मत नरहला । चलचित्रको महत्वपूर्ण पक्ष दृश्यपिच्छे कौतुहलता जगाउन सक्नु र सबै पात्रको भूमिकामाथि निर्देशकले न्याय गरेको अनुभूति हुनु रहेको छ । पर्दामा गतिलो उपस्थिति जनाएका सृष्टि श्रेष्ठ, दिव्यदेव, निकुन श्रेष्ठ, र नवीन लम्साललगायतका कलाकारहरूले आफूलाई सुम्पेको भूमिकामा गरेको अभिनय साँच्चै सह्राहनीय रहेको छ ।

फर्मूला बोकेको र त्यस्तै तानाबानामा अगाडि बढाइएको कथामाथि बनेका चलचित्रहरूको भिडमा फरक प्रस्तुति, उपस्थिति र उद्देश्य बोकेर दर्शकहरूमाझ आएको चलचित्र चिसो एस्ट्रेले यतिबेलाका युवाहरूको वास्तबिकतालाई चित्रण गरेको छ । युवाहरूलाई सस्तो रूपमा मात्र प्रस्तुत गरेको छैन चलचित्रले, त्यो उमेरमा देखिने जोश र जाँगरलाई सम्हाल्न नसक्दा त्यसले ल्याउने गलत परिणामको बारेमा गहिराइसम्म पुगेर चलचित्रले ब्याख्या गर्न सकेको छ । यस अर्थमा आजको सही विषय र परिस्थितिको प्रतिनिधित्व गरेको यो चलचित्र हेर्न कन्जुस्याइँ गर्नु पर्दैन । यो ठोकुवा गरेरै भन्न सकिन्छ ।