यसरी गुड्यो नेपालमा रेल

यसरी गुड्यो नेपालमा रेल


(इतिहास)

  • सुनिल उलक

राणा प्रधानमन्त्री श्री ३ चन्द्रशम्शेरको समयमा वि.सं. १९८३ फागुन ५ गते सन् १९२७ को फेब्रुअरीमा नेपालमा रेल गुड्न थाल्यो । यसले नेपालमा पहिलो पटक सार्वजनिक यातायातको सुविधाजनक उपस्थिति बन्यो । यसले मानिसको आवतजावतमा मात्र होइन अन्य सामग्री ढुवानीमा समेत सहजता प्रदान गऱ्यो ।

हामी सहजतापूर्वक रेल भित्रिएको अनुमान गर्दछौँ, तर यसको लागि निकै लामो गृहकार्य भएको थियो । नेपालले आफ्नो खर्चमा भारतीय रेलसेवालाई नेपालमा पनि भित्र्याउने अभिप्राय ब्यक्त भएपछि भारतीय पक्षबाट यसको लागि सर्वेक्षण गरेको थियो । सम्भाव्यता अध्ययन तथा खर्चको हिसाबकिताब गरेको थियो ।

मेरो हात लागेको ४९ पृष्ठ लामो यस प्रस्ताविक रेलसेवाको विवरण तत्कालिन भारतीय रेलसेवाका चिफ इञ्जिनियर लेफ्टिनेन्ट कर्णेल एलई हप्किन्सले गरेका थिए । यस योजनामा रक्सौलदेखि भिक्षाखोरी (अमलेखगञ्ज) सम्म रेलसेवा तथा ढोरसिंगबाट किसिपिडीसम्म रोपवे सेवा बनाउने कार्ययोजना एकसाथ गरिएको थियो । यसको साथै किसिपिडीबाट काठमाडौंसम्मको सडक पनि यही योजनाअन्तर्गत रहेको थियो ।

त्यसअगाडि नै भिक्षाखोरीबाट ढोरसिंगसम्म बनेको सडकमा बलिया पुलहरू बनिसकेको थियो । जसको क्षमता १० टन सम्मको थियो । तर पनि भिक्षाखोरीबाट ढोरसिंगसम्म पनि रेलेवे सेवा बिस्तार गर्न सकिने सम्भाव्यता अध्ययन गरिसकेको थियो । हप्किन्सले भिक्षाखोरीबाट ढोरसिंगको रेलसेवा महँगो हुने हुँदा नबनाउन सुझाव पनि दिएका थिए ।

त्यस योजनामा सडक यातायातमा लाग्ने सक्ने खर्च र रेलसेवामा लाग्न सक्ने खर्चको पनि तुलनात्मक अध्ययन गरिएको थियो । त्यसबेला हप्किन्सको साथ अर्का इञ्जिनियर इयान ग्रान्ट पनि थिए । यि दुई इञ्जिनियरले तस्बिर पनि धेरै खिचेका लेखिएको भए पनि तस्बिरहरू चाहिँ भेटिएनन् ।

यो एउटा इतिहासको दस्तावेज पनि हो । यसमा तस्बिरको विवरण लेखिएको छ, जसमा खालि ठाउँ छोडिएको छ । यसअनुसार ३० वटा तस्विब पनि राखिएको स्पष्ट हुन्छ । रेलसेवाको लागि भारतीय क्षेत्र रक्सौलमा भारत सरकारसँग नेपालले करिव २६ एकड जमिन सय वर्षको लागि भाडामा पनि लिएको थियो । सो जमिन अझै केही वर्ष नेपाल सरकारको अधीनमा नै हुनुपर्दथ्यो, तर विगत ५० वर्षदेखि भारत सरकारले आफ्नै स्वामित्वमा भोगचलन गर्दै आइरहेको छ ।