छिरल्लिएका उच्छवासहरू !

छिरल्लिएका उच्छवासहरू !


पहिलेका मान्छेहरू मिसावटरहित ताजा खान्की खान्थे, चौतारामा भेला भएर दिल खोलेर हाँस्थे, भूमिकारहित बाँच्थे शतायु कुनै कष्ट बिना । अचेलको मनुष्य पुँजीवादी असन्तोषले भुटभुटिएको छ, तनावयुक्त जिन्दगी जिउँदो छ । दिल खोलेर हाँस्न सक्दैन अनि अल्पायुमा मर्दो छ ।
  • बलराम सिलवाल

मीठा-घमीठा कामना सुरेली खेल्दै अघिल्तिर बढ्दा कतिपय उहापोहहरूले जिस्क्याउँछन् । ढुङ्गाको मन भएका अचेलका मान्छेहरू हाप्सिलो कराए झैँ चिया पसलमा गर्जिन्छन् । नैतिकता कुन चराको नाउँ हो थाहा छैन, अनैतिक द्वारबाट धन कमाउँछ । उखेलेको मूला जस्तो विरसिलो मान्छे भूमिका कसेर गफ चुट्छ । बिचरो मनस्तापी ।

नेताको लब्स्तर्याइँले राजनीति शौचालय झैँ डुङ्डुङ्ती गन्हाएको छ । आशाको झिल्को कतै देखिन्न । सरकारी संयन्त्र नोकरशाहीले चलाउँदो छ, बबुरा अक्षम मन्त्रीहरू । नकरात्मकताजीवीको खण्डहरमा ब्युँझने गरेका सपना । नेता त चाना पखालेको जस्तो कुरो गर्छ, अरूको त के कुरो भो र ! भाषिक गरिब्याइँ । धान कुटेर आएको जस्तो अनुहार देख्न पाइएन । चिप्लेकिराको र्यालमाथि हिड्नेको जित भइरहेछ । गुराँस र सुनगाभा फुल्ने देशमा चन्द्रमा छुने जस्तो उच्च प्रण गर्ने कोही छैन ।

महँगी, विकृतिले जिन्दगी खोलो सुसाए जस्तो भइसक्यो । दलको फलाकोमा जनता काँडाका झ्याङमा अलमल्लिएका चरा झैँ रङमङिएका छन् । नेताले हामीलाई लोरीको सुरमा निदाएको नानी बनाएका छन् । राष्ट्रियताको मामिलामा नुन खाएको कुखुरो जस्तो भएपछि छिमेकी साँढे जस्तो मिचाहा भईरहन्छ । रगतबाट निस्केका अभिव्यक्तिहरू सम्राटको पहिरनको छट्टूहरूले फोसा बनाई सके । सेतीको गडुवा झैँ गडेको पीर छ, मुलुकको अधोगति देखेर । उड, भगवान, महावीर, जगदीश महोदयादिहरू हिमाल जस्तो छाती भएका मान्छेहरू । झण्डै असी प्रतिशत बेसी गोडातनुवाहरूको वर्चस्व भएकोले उहाँहरूको सत्प्रयास हुटिट्याउँले सगर थामे झैँ बन्दो छ । सरकारले जीवित छँदैमा यस्ता व्यक्तित्वहरूको कदर गर्दैन, मरेसि गोहीको आँसु चुहाउँछ ।

समाज सकारात्मकभन्दा नकारात्मक झुसी हुन्छ । देवकोटालाई पागल तुल्याइयो, मानमर्दन र अवहेलना गरियो । पारिजातले अभावमा मर्नुपऱ्यो । शेक्सपियरका मुलुकमा जन्मेका भए यी साहित्यकारहरूले भोगचलन गरेका सामग्रीहरू यिनकै नामको सँग्रहालयमा सजिन्थ्यो । उफ, कस्तो विडम्बना ! सक्कलीहरू लोप हुने उपक्रममा छन्, नक्कलीहरू प्रभावकारी हुँदैछन् । स्यालको हुइँयाले केही हुनेवाला छैन । अतीत सुन्तलाकेस्रे सम्झना बनेर पटलमा टाँसिएको छ ।

पहिलेका मान्छेहरू मिसावटरहित ताजा खान्की खान्थे, चौतारामा भेला भएर दिल खोलेर हाँस्थे, भूमिकारहित बाँच्थे शतायु कुनै कष्ट बिना । अचेलको मनुष्य पुँजीवादी असन्तोषले भुटभुटिएको छ, तनावयुक्त जिन्दगी जिउँदो छ । दिल खोलेर हाँस्न सक्दैन अनि अल्पायुमा मर्दो छ । खानु के छ ? मिलावटयुक्त खाना । हाँसोको जामा पहिरिएर बाँच्न खोज्ने करुणा निरर्थक छ । मेरो देश बेहुली अन्माएको घर जस्तो भइसक्यो । साउनमा आँखा फुटेको डिंगोले झैँ सधैं हरियो देखे झैँ नेताले सत्तालाई बपौती ठानेको छ । रिकापीमा रिट्ठो उम्रिन नसके झैँ नेपाली भूगोलभित्रका मनुवाहरूको हृदय परिवर्तन गर्न कठिन छ । लाटीको म्वाइँ खाएको जस्तो भएको छ – आशा । सगरमाथा जस्तो उच्च हदय भएको व्यक्ति कहिले पो जन्मेका ? बिरालो जस्तो लोभी नेता भएसि नेपाली कसरी उँभो लाग्छ र ?

हामीलाई मण्डेला जस्तो अगुवा चाहिएको छ, बाटोहगुवा हैन । प्रतिभाहरू मकैको फूल झैँ उछिट्टिएका छन् । रहस्यका देशबाट आएका बैशाखका पाहुनाहरूको अनुदान बाटामा भेटिएकी पुतलीको फिरफिरे माया जस्तो भएको छ । नौनी जस्तो नरम बोली र पम्फाको फूल जस्तो कोमल हृदय भएको मान्छे पाउन छाडिसक्यो । सम्पूर्णता पींध नभएको ओम्खरा जस्तो छ । चराको जस्तो चर्को स्वर उराल्दैमा केही भइहाल्ने होइन । बिषादका प्रत्येक आँखामा फूल फुल्नुपऱ्यो । मरेको बिरालो काखी च्यापेर हिडे जस्तो चाल छ । अनि नयाँ नेपाल कसरी बन्न सक्छ र ?

आस्था पुसको घामसरि पहारिलो हुनु पर्नेमा कोशीको भेलले चाटेको जस्तो भएको छ । गुराँसै गुराँस फुलेका आँखाहरू मात्र कहाँ मिल्छ र ? उघ्रेको झ्याल जस्तो हुनुपर्ने जीवन अन्यथा भएको छ । अँधेरो रातपछि बिहानको आशामा हिडेको बाटो अचेल चूक घोप्ट्याए जस्तो अँधेरो बनेको छ । आमा जस्ती गुनिली कोही छैन । डाँडाको बताससरि उड्दो छ – मन । विकासे काम झरीको भतेर जस्तो भएको छ । भँगालाले खाएको मेरो मन छोप्राकीले फूलपाती हेरे झैँ अझै बाटो हेर्दो छ । कतै हाम्रो गोडा बाटामा परिहाल्छ कि ?! अस्तु ।