सरकारी वकिलको कार्यालयमा पल शाहको जिकिर : ‘पीडित भनिएकीसँग न प्रेम सम्बन्ध थियो न त करणी नै गरियो’

सरकारी वकिलको कार्यालयमा पल शाहको जिकिर : ‘पीडित भनिएकीसँग न प्रेम सम्बन्ध थियो न त करणी नै गरियो’


अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बिहीबार बलात्कार मुद्दा दर्ता भएको छ । १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो ।

गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले पललाई पक्राउ गरी अनुसन्धान गरेको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।

शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीले जनाएका छन् । मुलुकी अपराध संहिताको उल्लेखित दफाअनुसार १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । त्यस्तै यौन हिंसा अध्यादेश २०७७ मा चार लाखसम्म जरिवाना हुन सक्ने उल्लेख छ । सोही अनुसार चार लाख रुपैयाँ क्षतिपूर्तिको समेत मागदाबी गरिएको बताइएको छ ।

बलात्कारकै मुद्दामा तनहुँमा पनि मुद्दा झेलिरहेका शाहलाई तनहुँबाट झिकाउने भन्ने अभियोगपत्रमा उल्लेख गरिएको छ । तनहुँबाट झिकाएपछि मात्र थुनछेक बयान सुरु हुने बताइएको छ ।

तर, नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा प्रतिवादी पल शाहले आफूले बलात्कार गरेको कुरालाई नै अस्वीकार गरेका छन् । २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरुको सुटिङ सकिएको दुई तीन महिनापछि पीडीतले आफूलाई फोन गरि बाहिर सम्बन्धलाई लिएर चर्चा भइरहेको बताएपछि आफूहरुबीच विवाद भएको पलको भनाइ छ ।

विवाद बढ्दै गएपछि आफूले ‘तिमी आफ्नो तरिकाले के गर्छौ गर’ भनेको र त्यसको केही समयपछि पीडितको तर्फबाट प्रहरीमा उजुरी परेको पलले आफ्नो बयानमा उल्लेख गरेका छन् । पीडित भनिएकी बालिकासँग आफ्नो प्रेम सम्बन्ध नरहेको उल्लेख गर्दै पलले रिसोर्टमा मादक पदार्थ सेवन गराइ जबर्जस्ती करणी गरेको भन्ने ब्यहोरा झुटो भएको आफ्नो बयानमा जिकिर गरेका छन् ।